calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

तुलसीपुरमा सिसिटिभी जडानमा सहकार्य

शरद रेग्मी
तुलसीपुर, ८ माघ । ‘सुन्दर तुलसीपुर सुरक्षित तुलसीपुर अभियान’ अन्तर्गत तुलसीपुरका बैंकर्स र बित्तीय संघसंस्थाका प्रमुखहरूसँग तुलसीपुर उद्योग वाणिज्य संघले छलफल गरेको छ । छलफलमा बैंकका प्रमुखहरूले सिएसआर अन्तर्गतको बजेट सिसी–क्यामेरा र सुरक्षाको शीर्षकमा लगाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

छलफलमा राष्ट्रिय वाणिज्य बैक तुलसीपुरका प्रबन्धक विनोद पाण्डेले सामाजिक उत्तरदायित्वको बजेट सुरक्षामा लगाउँदा आफ्नो सुरक्षा हुने र जनताको सुरक्षामा पनि सहयोग पुग्ने बताए । उनले पहिलो पटक उद्योग वाणिज्य संघले सबैसँग परिचय हुने र सुरक्षा जस्तो संवेदनशील काममा हातेमालो गर्ने अवसरको खोजी गरेकोमा धन्यवाद ज्ञापन गरे । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम र निजी क्षेत्रको सहकार्यबाट सबै नाकामा स्तरीय सिसीटिभी क्यामरा जडान गर्न यो अभियान अघि सारेको बताए ।

इलाका प्रशासन, प्रहरी कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालयसँगको सहकार्यमा सम्भावित क्षेत्रहरूको छनोट भइरहेको भन्दै अध्यक्ष केसीले क्यामेरा जडान गर्न पहिलो चरणमा बैंकर्सहरूसँग छलफल गरेको बताए । अध्यक्ष केसीले लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको पनि सिसी–क्यमरा जडान र थप हाइमास्ट लाइट जडानका लागि ध्याणाकर्षण गराई सकिएको बताए ।

कार्यक्रममा बैंकर्स क्लब अफ तुलसीपुरका अध्यक्ष रञ्जन कोइरालाले २०७१÷०७२ मा पनि उद्योग वाणिज्य संघको समन्वयमा तुलसीपुरमा पहिलो पटक बजारमा सिसी–टिभी जडान गरेको स्मरण गराउदै यस वर्ष पनि आफूहरू सकारात्मक भएको बताए । यसैगरी नबिल बैक तुलसीपुरका प्रमुख सुधीर भण्डारीले निजी क्षेत्रसँग सहकार्य गरेरै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘सुरक्षा सबैका लागि महत्वपूर्ण विषय हो, यसमा बैंकहरू सकारात्मक भएर सहकार्य गर्दा राम्रो हुन्छ ।’

कार्यक्रममा एनआइसी एसियाका प्रबन्धक राजीव वलीले प्रशासन र उद्योग वाणिज्य संघको आग्रहमा आफूले बैंकको बाहिरी भागमा दुईवटा सिसी क्यामेरा जडान गरिसकेको जानकारी दिए । अहिले सो क्षेत्रमा भएका दुर्घटनाहरू नियमन गर्न ट्राफिक प्रहरीलाई समेत सहज भएको वलीले बताए । सो अवसरमा सरोज लामिछानेले मुख्य व्यापारिक केन्द्रमा सिसी–टिभी जडान गर्नुको फाइदा बैंकलाई नै हुन जाने बताए । ‘हामीले बैंक भित्रको मात्रै सुरक्षा गरेर नहुने रहेछ, बाहिरको पनि सुरक्षा गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ’, उनले भने ।