लुम्बिनी प्रज्ञा प्रतिष्ठान विधेयकमा सैद्धान्तिक सहमति
गोरक्ष समाचारदाता
दाङ, ८ माघ । लुम्बिनी प्रदेश सभामा सोमवार पेस भएको लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई मन्त्रिपरिषद् बैठकमा सैद्धान्तिक भएको छ । लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले लुम्बिनीमा प्रतिष्ठान स्थापना गर्ने तयारी गरेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा देउखुरीमा बसेको बैठकले लुम्बिनी प्रदेश समसामयिक कर, राजस्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणापत्रलाई स्वीकृति प्रदान गर्ने र लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई जग्गाको व्यवस्थापनका लागि प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरेर पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले बताए ।
बैठकले प्रदेशका केही सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय पनि गरेको छ । साथै डा. ओम अर्याललाई प्युठान अस्पताल र त्यहाँ कार्यरत रहेका ११औँ तहका डा विनोद सिंहलाई रोल्पा अस्पतालमा खटाउने समेत बैठकले निर्णय गरेको छ । गत वर्षको दायित्व भुक्तानी दिनेबारे पनि बैठकले निर्णय गरेको छ । ‘गत वर्ष काम सम्पन्न भएको तर भुक्तानी दिन बाँकी रहेकाको हकमा बैठकले निर्णय गरेर निकास दिएको छ’, प्रवक्ता तथा मन्त्री पन्थीले भने, ‘काम सम्पन्न भएर पनि भुक्तानी नपाएकाले अब भुक्तानी पाउने गरी निर्णय भएको छ ।’
