Goraksha

National Daily

सुशासन कायम राख्न सरकारलाई ध्यानाकर्षण

गोरक्ष समाचारदाता
दाङ, ८ माघ । नागरिक समाजले दाङले प्रतिनिधि सभाको हिउँदे अधिवेशन नबसाली सरकारले अध्यादेशमार्फत् काम गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । समाजका सचिव नारायणप्रसाद श्रेष्ठको अध्यक्षतामा सोमवार घोराहीमा बसेको नियमित बैठकले प्रतिनिधिमूलक शासन व्यवस्थामा संसद् बैठक समेत नबसी अध्यादेश जारी गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

नागरिकको आवाज उठाउने र कानून बनाउने थलो.सुचारु नगरेर लामो समयदेखि संसदीय अभ्यास शून्यको अवस्थामा रहेको भन्दै कानूनी शासनको अभ्यास गर्न अपिल गरेको छ । यसैगरी पछिल्ला दिनमा राजनीतिक दलमा प्रतिशोधको वातावरण देखापर्दै जानु देश र जनताका लागि हित नहुने नागरिक समाजले ठहर गरेको छ । हालै सम्मानित अदालतभित्र कानून व्यवसायीमाथि भएको हातपातको घटनाले असुरक्षा बढाएको, सामाजिक सञ्जालको दुरुपयोग गरेर समाजमा विभिन्न खालका उछृङ्खल र आपराधिक गतिविधि बढाउने जमात सक्रिय रहेको हुँदा यसले समाजमा दण्डहीनता बढ्दै गएको भन्दै नागरिक समाजले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
नेपालको संविधान, विद्यमान ऐन कानूनले निर्देशन गरेअनुसार काम कारबाही प्रभावकारी बनाउन र नागरिकमा भरपर्दो सेवा प्रवाह प्रदान गर्दै सुशासनको अनुभूति दिलाउन नागरिक समाजले अपिल गरेको छ ।