Goraksha

National Daily

जेसीजको भूमिका युवा स्वरोजगार केन्द्रित : मन्त्री न्यौपाने

निरला अर्याल
तुलसीपुर, ६ पुस । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले युवा नेतृत्व विकासका लागि अग्रणि भूमिका खेल्दै आएको जेसीजको अभियान युवा स्वरोजगार केन्द्रित बन्नुपर्ने बताएका छन् ।

तुलसीपुर नगर जेसीजको १३औँ पद हस्तान्तरण समारोहलाई शनिवार सम्बोधन गर्दै मन्त्री न्यौपानेले नेतृत्व विकाससँगै युवाहरूलाई स्वरोजगार बनाउन जेसीजले अहम भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताए । युवालाई नेतृत्व तहसम्म पु¥याउन क्षमता विकास गर्नु महत्वपूर्ण कार्य भए पनि त्यो क्षमता प्रयोग गर्ने माध्यमको खोजी आवश्यक रहेको मन्त्री न्यौपानेको भनाइ छ ।

‘युवा नेतृत्व विकासका लागि जेसीजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ, यो निकै सराहनीय कार्य हो’, मन्त्री न्यौपानेले भने, ‘नेतृत्व विकास मात्र नभई युवालाई रोजगारको अवसर सिर्जना गरिदिने बाटो पहिल्याइदिन जेसीजले सक्नुपर्छ ।’ अहिलेको मुख्य चुनौती भनेको युवा विदेश पलायन रहेको भन्दै मन्त्री न्यौपानेले युवालाई स्जदेशमै रोकेर राख्नका लागि सामाजिक संघसंस्था र सरकारबिच समन्वय आवश्यक रहेको बताए । जेसीजले युवाहरूलाई विभिन्न उद्यमको बाटो लाग्न प्रेरित गर्नसक्ने भन्दै मन्त्री न्यौपानेले उद्यमको अवसर सरकारले सिर्जना गर्ने बताए ।

‘युवाहरूको क्षेत्रमा काम गर्दै आएको जेसीजले युवाहरूलाई विभिन्न उद्यममा संलग्न हुन प्रेरित गर्न सकोस्’, मन्त्री न्यौपानेले भने, ‘उद्यमको अवसर सरकारले सिर्जना गरिदिन्छ ।’ यसैगरी मन्त्री न्यौपानेले युवाहरूलाई उद्यममा जोड्नका लागि तीनै तहका सरकारबिच कसिलो सम्बन्ध कायम हुनुपर्ने बताए । स्थानीय तह, प्रदेश सरका र सङ्घीय सरकारबिच बलियो समन्वय स्थापित हुनसके मात्र युवालाई उद्यममा जोड्न सकिने भन्दै मन्त्री न्यौपानेले तीन तहका सरकारबिच समन्वय हुन नसके बढ्दो युवा विदेश पलायनलाई रोक्न नसकिने बताएका थिए ।

तुलसीपुर नगर जेसीज २०२४ का अध्यक्षमा पूर्णविक्रम डाँगीको अध्यक्षतामा भएको समारोहलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले जेसीजको आलोपालो नेतृत्व प्रणाली राजनीति दलका लागि ठुलो सिकाइ बन्नुपर्ने बताए । एक–एक वर्षमा नेतृत्व परिवर्तन हुने जेसीजको यो प्रणाली राजनीतिक दलले पनि लागु गर्न सके सबैलाई नेतृत्वको अवसर प्राप्त हुने मन्त्री न्यौपानेले बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले युवाहरूलाई नेतृत्वको विकाससँगै सामाजिक क्षेत्रमा जेसीजको महत्वपूर्ण भूमिका रहेको बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले युवाहरूको नेतृत्व विकाससँगै सामाजिक क्षेत्रमा तुलसीपुर नगर जेसीजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा तुलसीपुर नगर जेसीज २०२४ का अध्यक्षमा पूर्णविक्रम डाँगीले नवनिर्वाचित अध्यक्ष सन्दीप भुसाललाई पद हस्तान्तरण गरेका थिए । पद हस्तान्तरण कार्यक्रममा राप्ती बबई क्याम्पस प्रमुख गणेश पार्धे, त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, तुलसीपुर उपमहानगरपालिका–९ का वडाध्यक्ष घनश्याम ढकाल, त्रिभूवननगर जेसीजका अध्यक्ष अनन्त रावत, तुलसीपुर नगर जेसीजका पूर्वअध्यक्ष झरेन्द्र खरेल, शालिकराम वली, महिला अधिकारकर्मी शूष्मा गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक शैलेन्द्रकुमार वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव कमल शर्मा र बुद्धिराज सापकोटाले गरेका थिए । तुलसीपुर जेसीजको नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा भुसालसहित कार्यकारी उपाध्यक्ष रमेश रेग्मी, केशवराज न्यौपाने, उपाध्यक्ष धीरज बस्नेत, बसन्त योगी, विकासजंग मल्ल, सुरज केसी, महासचिव बुद्धिराज सापकोटा, सहसचिव सुदीप केसी, कानूनी सल्लाहकर सुरज भण्डारी, कोषाध्यक्ष शैलेन्द्रकुमार वली, जनसम्पर्क अधिकारी मेघराज पोख्रेल, अध्यक्ष सल्लाहकार मनिषजंग शाहलगायतका छन् ।