Goraksha

National Daily

लमही–७ को वडा कार्यालय उद्घाटन

टेकबहादुर पुन
देउखुरी, ६ माघ । लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय उद्घाटन गरिएको छ । कार्यालय यस अघि सञ्चालनमा रहे पनि शनिवार लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले कार्यालयको उद्घाटन गरेका हुन् ।

विसं. २०७४ को स्थानीय तह निर्वाचनपश्चात् वडामा मोहन गिरीको प्रतिनिधिमण्डल आइसकेपछि ०७५ सालमा स्थानीय व्यक्तिहरूले वडा कार्यालयलाई भनेर जग्गा दिएका थिए । बनघुस्री निवासी बुद्विराम चौधरी, स्व. जंगबहादुर चौधरीकी श्रीमती हानी चौधरी र हरि चौधरीले संयुक्त रूपमा करिब ६ कट्ठा जग्गा दान गरेका थिए । यसरी व्यक्तिका नामबाट मन्दिरको स्वामित्व रहने गरी दान गरिएको जग्गा पछि वडा कार्यालयका लागि भनेर हस्तान्तरण गरिएको थियो ।

तत्पश्चात लमही नगरपालिकाले वडा कार्यालयको भवन निर्माणका लागि ०७७ मा आन्तरिक बजेट एक करोडमा टेण्डर आह्वान गरेको थियो । केएमएस ड्रिलिङ कन्स्ट्रक्सनले टेन्डरमार्फत् वडाको भवन निर्माण सुरु गरे पनि विभिन्न कारणले ढिलो गरी निर्माण सम्पन्न भएको थियो । दुई तल्लाको सुविधा सम्पन्न भवन मा सेमिनार हलसहित आठवटा कोठा छन् ।

ढिलै भए पनि आफ्नै भवनमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गरेकोमा नगर प्रमुख चौधरीले खुसी व्यक्त गरे । उनले प्रक्रियागत रूपमा भवन उद्घाटन ढिला भए पनि यो कार्यले विकासोन्मुख वडाको रूपमा परिचित बनाएको बताए । वडा कार्यालय आफैँमा मन्दिर भएको र यहाँ आउने सेवाग्राहीलाई खुसीका साथ फर्काउनुपर्ने बताए । ‘वडा कार्यालय आफैँमा मन्दिर हो, जसरी भक्तालु मन्दिर गएर खुसीसाथ फर्किन्छन् त्यसरी वडामा आउने सेवाग्राही खुसी भएर फर्किनुपर्छ’, उनले भने ।

कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी योगीले ७ नं. वडाले विकासमा गति लिएको बताइन् । छोटो अवधिमा गति लिएकोमा खुसी व्यक्त गर्दै विकासका निम्ति आफू सधैँ लागिरहेको बताइन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई आत्मसात गर्दै समग्र पालिका विकासोन्मुख रहेको र थप विकास र सुशासनका निम्ति सबैको सहयोग खाँचो रहेको बताइन् । कार्यक्रममा लमही–७ का वडाध्यक्ष तथा नगर प्रवक्ता मोहन गिरीले आफ्नो वडाले विकाससँगै शिक्षामा बढी जोड दिइरहेको बताए ।

देउखुरी बहुमुखी क्याम्पसमा ब्याच्लर अध्ययनरत वडाका विद्यार्थी निःशुल्क पढिरहेको र एग्रिकल्चर, सव–ओभरसियर, कम्प्युटर, लोक सेवा, सिपमूलक तालिम सञ्चालन भइरहेको बताए । लमही नगरपालिका वडा नं. ७ की वडा सदस्य उर्मिला चौधरीको स्वागतबाट सुरु भएको कमर्यक्रममा वडा नं. ३ का वडाध्यक्ष मनोजकुमार चौधरी, ५ का ओमप्रसाद सुवेदी, ६ का श्यामनारायण चौधरी, ८ का उमेशकुमार खड्का, ९ का भेषबहादुर केसी, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य लीला शाह, फचकपुर टोलका अध्यक्ष प्रेमलाल चौधरी, स्थानीय किरणविक्रम शाहलगायतले भनाइ राखेका थिए । वडाध्यक्ष तथा नगर प्रवक्ता गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण वडासचिव शेरबहादुर चौधरीले गरेका थिए ।
दुई पत्रकार सम्मानित

वडा कार्यालय उद्घाटनको अवसरमा लमही–७ नं. वढा कार्यालयले दुई पत्रकारलाई सम्मान गरेको छ । वडा कार्यालयले पत्रकार द्वय लीला शाह र टेकबहादुर पुनलाई सम्मान गरेको हो । हालै सम्पन्न पत्रकार महासंघको निर्वाचनमा केन्द्रीय सदस्यमा निर्वाचित लीला शाहलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने पत्रकारिता क्षेत्रबाट वडालाई सफल बनाउन विशेष योगदान पु¥याएको र पत्रकार महासंघ दाङको सदस्यमा निर्वाचित पत्रकार टेकबहादुर पुनलाई सम्मान गरिएको थियो । पुन गोरक्ष राष्ट्रिय दैनिकमा कार्यरत छन् ।