Goraksha

National Daily

पानीको सङ्कट समाधानमा गम्भीर छौँ : मन्त्री चौधरी

गोरक्ष समाचारदाता
तुलसीपुर, ६ माघ । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले दाङमा देखिएको पानीको सङ्कटका विषयमा सरकार गम्भीर रहेको बताएकी छन् । अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको २१औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशनलाई तुलसीपुर–८ अश्वारामा सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री चौधरीले अहिले पनि एक गाग्री पानीका लागि घण्टौँ समय लाग्ने ठाउँ दाङमा रहेको भन्दै ती समस्याको समाधान गर्न आफू लागिपर्ने बताइन् ।

आफू धानाढ्य परिवारमा जन्मेको नभई किसान थारूको घरमा जन्मेकाले पानीको दुःख र पीडाबारे जानकार रहेको बताउँदै पानी र सिँचाइको चरम अभाव र समस्या भएको ठाउँको पहिचान गरेर समुचित बजेटको व्यवस्था गर्ने बताइन् । प्रदेश सरकारले अघि सारेको ‘एक घर एक धारा’ को नीति अनुसार स्वच्छ, सफा र सुरक्षित खानेपानीमा नागरिकको पहुँच वृद्धि गर्न सरकार लागिपरेको सिँचाइ मन्त्री चौधरीले बताएकी थिइन् ।

कार्यक्रमका विशिष्ट अतिथि साना सहकारी खानेपानी महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले सरकारले सामुदायिक खानेपानीमाथि कर थोपरेर नागरिकलाई खानेपानीबाट बञ्चित गर्न खोजेको आरोप बताए । संविधानमा व्यवस्था भएअनुसार सरकारले गर्नुपर्ने काम समुदायले गरिरहेको बताउँदै उनीहरूलाई प्रोत्साहन गर्नुको साटो कर थोपरेर ध्वस्त गर्न खोजेको आरोप लगाए ।

अधिवेशनको उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–८ का वडाध्यक्ष धर्मराज वली, वडा सदस्य हस्तबहादुर विक, तकियापुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष तिलक केसी, मावि अश्वाराका प्रधानाध्यापक शिवप्रसाद लामिछाने, अश्वारा सामुदायिक वनका अध्यक्ष यमप्रसाद सुवेदी, खानेपानीका पूर्व अध्यक्ष तिलकबहादुर बस्नेत, चेतना टोल विकास संस्थाका अध्यक्ष मंगलसिंह रोका, समितिका सहसचिव जया घर्तीलगायतले बोलेका थिए ।

खानेपानी समितिका सचिव ओपेन्द्र बस्नेतले आर्थिक वर्ष २०८१÷०८२ को योजनामा खेर गएको पानी सङ्कलन गरेर करेसाबारीमा तरकारी खेती गर्न विपन्न वर्गका उपभोक्तालाई तुलसीपुर उपमहानगरपालिका कृषि शाखासँग समन्वय गरेर बिउविजनको व्यवस्था गर्ने रहेको बताए । समितिका अध्यक्ष शिवहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीले दिनहुँ पानीको माग बढ्दै गएको भन्दै बर्सेनि खानेपानीका मुहान सुक्दै जान थालेकोमा चिन्ता व्यक्त गरेका थिए । साधारणसभामा कोषाध्यक्ष महेन्द्र चौधरीले आर्थिक प्रतिवेदन तथा सांगठनिक प्रतिवेदन सचिव ओपेन्द्र बस्नेतले प्रस्तुत गरेका थिए । त्यस अवसरमा विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको थियो ।