गुन्द्रीमा बसेर ढकियामा ढिक्री
खेमराज रिजाल
तुलसीपुर, ६ माघ । ‘पिठो त दामी मुछिएछ, राम्रा लोला बनिरहेका छन्’, आफ्नै समूहले एउटा त्रिपालमा बसेर ढिक्री बनाइरहँदाको खुसी व्यक्त गर्दै तुलसीपुर स्थित गोरखा मावि कक्षा १२ का विद्यार्थी शिशिर पुनले भने । शिशिर सहपाठीहरूसँगै ढिक्रीका लोला बनाइरहेका थिए, ढिक्री बनाउन सघाउने थारू समुदायकी महिला हरिकला चौधरीले विद्यार्थीले बनाएका ढिक्री ढकियामा चाङ लगाएर पकाउनका लागि चुलोतिर लग्दै थिइन् ।
छेउकै अर्को त्रिपालमा समिर आचार्यको समूहले सालको पात गाँसेर दुना बनाउँदै थिए । उनीहरूलाई दुना, बौता र टपरी गास्न सिकाउँदै थिइन्, चम्पी चौधरी । ‘फस्ट टाइम प्राक्टिस हो, प्लिज भिडियो नबनाइदिनुहोला’, दुना गाँस्दै गरेकी विद्यार्थी एलिसा कुवरले भनिन् । आफू सानै उमेरदेखि अध्ययनका क्रममा घर बाहिर नै रहेकाले यी सबै घरायसी काम सिक्न नपाएको उनले स्पष्ट पारिन् । ‘तर यो अभ्यासलाई अब मैले मेरो घरमा लगेर थप इफेक्टिभ बनाउने छु, मेला–पर्वमा आमा, दिदीलाई सघाउनेछु’, एलिसाले आत्मविश्वास व्यक्त गरिन् ।
अर्को कुनामा चार थान चुलोमा दाउरा बलिरहेका थिए । चुलोमाथि ढिक्री पकाउने ताउलो र ताउलोमाथि ढिक्रीलाई स्टिम गर्ने ढकिया राखिएका थिए । ढकियाको माथि दुनाभरि तेल राखिएको थियो । सायद त्यो तेलका कारण ढकियामा स्टिम गर्न राखिएका ढिक्री एकआपसमा नटाँसिऊन् भनेर । ढिक्री तयार गर्ने समूहलाई बुढागाउँ थारू बस्तीका अगुवा महिलाले नै सिकाइरहेका थिए ।
अलि पर छेउमा आलुको अचार र सिद्राको तरकारी तयार हुँदै थियो । अर्को कुनाको अगेनामा गन्जी र तरुल उसिन्नका लागि डोसिएको दृश्यले सिकाइ स्थल नै पिक्निक स्पटजस्तै अनुभूति हुन्थ्यो । ‘हाँसी–हाँसी सिकेको यो सिपलाई हामीले घरमा लगेर पनि उपयोग गर्नेछौँ’, क्रियाकलापमा सहभागी अर्की छात्रा सम्झना रेग्मीले गोरक्षलाई भनिन् । त्यसो त सुमिना डाँगीको पनि यस्तै अभिव्यक्ति थियो । दुई सय विद्यार्थीले थारू परिकार बनाउन मात्रै सिकेनन्, त्यहाँ उपस्थित थारू अगुवा .महटावाँहरूबाट माघी पर्वको उद्देश्य, औचित्य र सान्दर्भिकताका विषयमा भरपुर जानकारी लिएका थिए ।
गोरखाको यो अभ्यासले थारू संस्कृतिलाई व्यापक बनाउन अर्को सहयोग मिलेको थारू अगुवाहरूको अभिव्यक्ति थियो । बुढागाउँ थारू बस्तीका महटावाँ डल्लु चौधरी भन्छन्, ‘गोरखा स्कुलले कम्तिमा दुई सय विद्यार्थी यहाँ ल्याएर यो अभ्यास सिकिरहँदा हाम्रो संस्कृतिको पहिचान व्यापक भएको हामीले अनुभूति गरेका छौँ ।’ यसलाई संस्कृति आदानप्रदानको एउटा सुनौलो अवसरका रुपमा लिएको उनले बताए । यो एक दिन भए पनि थारू समुदायमा भएका सबै संस्कृति सम्भव भएसम्म र भ्याएसम्म विद्यार्थीलाई जानकारी गराउने डल्लुको प्रतिबद्धता थियो । साथै यसलाई आगामी वर्ष निरन्तरता दिन उनको अनुरोध थियो ।
विद्यालयको व्यवस्थापन सङ्काय अन्तर्गत कक्षा १२ मा अध्ययन गर्ने कम्तिमा दुई सय बढी विद्यार्थी थारू समुदायको महान पर्व माघीकै अवसर पारेर तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी बुढागाउँ बस्ती पुगेका हुन् । थारू बस्तीमा थारू अगुवाहरूकै सहभागितामा ती विद्यार्थीले थारू समुदायको धार्मिक संस्कार, प्रयोग गरिने अर्गानिक परिकार निर्माण, भान्सामा प्रयोग गरिने दुना, टपरी खुट्नेदेखि थारू समुदायका संस्कृति झल्कने विभिन्न सांस्कृतिक प्रस्तुति समेत अवलोकन गरेका छन् ।
सामाजिक अध्ययन एवम् जीवनोपयोगी शिक्षा कार्यक्रम अन्तर्गत आन्तरिक मूल्याङ्कन क्रियाकलापको काम गर्न ती विद्यार्थीलाई यहाँ ल्याइएको सो विद्यालयका व्यवस्थापन सङ्काय प्रमुख डम्बर डाँगीले बताएका छन् । जुन प्रयोगात्मक कक्षा २५ पूर्णाङ्कको हुने सङ्काय प्रमुख डाँगीले बताएका छन् । सो विषयको सांस्कृतिक पहिचान शीर्षक अन्तर्गत थारू समुदायको माघी पुनरावलोकन गर्न सो कक्षाका छात्रछात्रा गरी दुई सय छ जना विद्यार्थीको सहभागिता रहेको छ । बुढागाउँ बस्तीमा उनीहरूलाई स्थानीय थारू समुदायका महिलाहरूले ढिक्री बनाउन पिठो मुछ्नेदेखि ढिक्री बनाउने, गन्जी तरुलका परिकार तयार गर्ने, घोँघीका परिकार बनाउने, अचार बनाउने, सिद्राको अचार बनाउने तथा यी सबै खानका लागि प्रयोग गरिने पातका दुना, टपरी खुट्नेसम्मका अभ्यासमा सघाएका देखिन्थे ।
यसैबिच आन्तरिक मूल्याङ्कन क्रियाकलापकै अवसर पारेर त्यहाँ उपस्थित विद्यार्थी तथा गोरखा मावि परिवारले एक औपचारिक शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो । गोरखा मावि तुलसीपुरका एकाडेमिक कोअर्डिनेटर दुर्गा केसीको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका–७ का वडाध्यक्ष रामबहादुर जिसीले विविध जातीय संस्कृतिको आदानप्रदान एवम् संस्कृति र परम्पराको व्यावहारीरिक अभ्यास गराउन गोरखा माविले आफ्ना विद्यार्थीलाई थारू बस्तीसम्म ल्याएकोमा हार्दिक आभार व्यक्त गरे ।
साथै यो कार्यक्रमले विद्यार्थीलाई थारू समुदायको सम्पूर्ण संस्कृति बुझ्न भरपुर सहयोग गर्ने अपेक्षा गरेका छन् । साथै थारू समुदायमा विद्यमान रहेको अर्गानिक आहार–विहारले हरेक मानिसलाई स्वस्थ र निरोगी बनाउने भएकाले यसलाई अन्य समुदायले पनि अनुशरण गर्न सुझाव दिए ।
गोरखा माविका विज्ञान सङ्काय संयोजक विष्णु भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मावि कालाखोलाका प्रधानाध्यापक राजिव ओझा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरी, विद्यार्थीबाट कक्षा १२ मा अध्ययनरत छात्रा पुष्पा केसी, सोभित बस्नेत र सन्तोष खड्काले थारू समुदायको संस्कृतिका विषयमा जिज्ञासा एवम् जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण गोरखा माविका व्यवस्थापन सङ्काय प्रमुख डम्बर डाँगीले गरेका थिए ।
अघिल्लो वर्ष पनि गोरखा स्कुलले थारू समुदायको महान पर्व माघीकै अवसर पारेर तुलसीपुर उपमहानगरपालिका–१२ मा यस्तै क्रियाकलाप कार्यक्रमको आयोजना गरेको थियो । गोरखा माविमा यसै वर्षदेखि होटल म्यानेजमेन्टको अध्यापन सुरु भएकाले आगामी वर्ष गोरखा माविले फुड फेस्टिवलको आयोजना गर्ने गोरखा माविका एकाडेमिक कोअर्डिनेटर केसीले बताएका छन् ।
