घोराहीमा प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी सुरु
घोराही,५ माघ । दाङको घोराहीमा ‘प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८१’ सुरु भएको छ । मगर समुदायको मौलिक कला संस्कृतिको संरक्षणसँगै मगर सांस्कृतिक संग्रालयको भवन निर्माणका लागि श्रोत जुटाउने उद्देश्यले आयोजना गरिएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला शनिवारदेखि सुरु भएको हो ।
नेपाल मगर संघ, घोराही नगर कार्यसमितिको आयोजनामा घोराही उपमहानगरपालिका–१४ झिंगौरामा सुरु भएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्दै मगर समुदायको भाषा, कला, संस्कृति संरक्षणसँगै समुदायको पहिचान बचाउनका लागि ध्यान दिनुपर्ने बताएका छन् ।
नगर प्रमुख चौधरीले जनजातिको भाषा, कला, संस्कृति समुदायको मात्रै नभई राज्यको सम्पत्ति भएकोले यसको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकारले ध्यान दिने बताए । मगर समुदायको पहिचान स्थापित गर्न र व्यावसयिक बनाउन मेला, महोत्सवको अत्यन्त ठूलो महत्व रहने भन्दै नगर प्रमुख चौधरीले भने,‘माघे मेलाले मगर समुदायको कला, संस्कृति उजागर गर्दै संरक्षणका लागि टेवा पु¥याउने विश्वास छ ।’
मगर समुदाय भाषा, कला, संस्कृतिको धनी भएको भन्दै मेला महोत्सवका माध्यमबाट समुदायको पहिचान बाहिर ल्याउन र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । उनले जनजातिको कला संस्कृति भजाउन सके यसबाट ठूलो रोजगारी सिर्जना गर्न सकिने र आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै भने,‘थारुको आफ्नै भेषभूषा छ । मगरको पनि आफ्नै भेषभूषा छ । यसलाई संस्थागत गर्न थारु भाषाको किताब तयार पारेको छ । पाठ्यक्रम र पुस्तक तयार पारेर विद्यालयमा पठनपाठनका लागि लागु गरिएको छ । मगर खाम भाषाको विकासका लागि पनि घोराहीले पाठ्यपुस्तक तयार पार्दै छौ ।’
नगर प्रमुख चौधरीले अहिले मगर समुदायको खाम भाषा ओझेलमा परेको भन्दै यसमा समुदायसँगै सरोकार निकायले चासो दिनुपर्ने बताए । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दर्जीत रोकामगरले मगर समुदायको कला, संस्कार र संस्कृतिको संरक्षणसँगै सम्बद्र्धनका लागि सम्बन्धित निकायहरुले विशेष जोड दिनुपर्ने बताउनुभयो ।
माघ ५ गतेदेखि ११ गते सात दिनसम्म चल्ने मेलाको आम्दानीबाट घोराही नगर समितिले बहुउद्देश्यीय मगर संग्राहलय निर्माण गर्ने लक्ष्य राखिएको छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलामा मगर जातिसँग सम्वन्धित विभिन्न खानाका परिकारसँगै भेषभुषा, बाल उद्यान, पिङलगायत मनोरञ्जनका साधनहरु राखिएको छ ।
नेपाल मगर संघ घोराहीका अध्यक्ष देवबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, नेकपा (माओवादी केन्द्र) दाङका सचिव विश्वराज आचार्य, थारु कल्याणकारीणी सभाका अध्यक्ष अशोक चौधरी, घोराही उपमहानगरपालिका–६ का वडा अध्यक्ष विष्णु आचार्य, नेपाल पत्रकार महासंघ दाङका सचिव जेएन सागर, चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य टोपबहादुर घर्तीमगर, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी, ढाङढुङे रोल्पाली सेवा समाजका अध्यक्ष नारायणप्रसाद रोका लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष मित्रलाल बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका कार्यवाहक सचिव गणेशप्रताप पुनमगरले गरेका थिए ।
