Goraksha

National Daily

गढवामा १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

आलोक भावुक
गढवा, ५ माघ । दाङ देउखुरीको गढवा गाउँपालिकामा शुक्रवारदेखि १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ सुरु भएको छ । दाङ गढवा गाउँपालिकाको आयोजना तथा जनता माध्यमिक विद्यालय गढवाको व्यवस्थापनमा १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ सुरु भएको हो । प्रतियोगिता लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घर्तीले भविष्यका सफल निर्माता विद्यार्थी भाइबहिनीको सलामी गर्न पाउँदा गर्व महसुस गरेको बताए । विद्यार्थी जीवन पवित्र जीवन भएको बताउँदै सभामुख घर्तीले विद्यार्थीलाई विभिन्न माध्यमबाट ज्ञान सिप दिनुपर्ने बताए । विद्यार्थीलाई अक्षर मात्र सिकाउने नभई जीवनशैली, मूल्य, मान्यता, इतिहासका बिरासतबारे ज्ञान, झाँकीमा वीर गोर्खालीका नृत्य, राष्ट्रियतासँग सम्बन्धित गीतसङ्गीत, राष्ट्रियता झल्किने प्रस्तुति देख्दा शिक्षकले पिटी परेड सिकाएर अनुशासित र स्वास्थ्य जीवनको अभ्यास गराएको आभास भएको बताए । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भनेपछि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुभारम्भ भएको बताउँदै यो प्रतियोगिता राष्ट्रियताप्रतिकै ऐक्यबद्धता भएको बताए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता राख्नुको मुख्य उद्देश्य सिङ्गो राष्ट्रप्रति बफादार रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले खेलकुद खेल मात्र नभई चौतर्फी व्यक्तित्व विकास हुने माध्यम भएको बताए । व्यावसायिक रूपमा खेलकुद क्षेत्रमा अघि बढ्न चाहने विद्यार्थी भाइबहिनीका लागि यो कार्यक्रम महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ । गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा हुने अन्तरपालिका स्तरीय खेलकुद प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जस्ता खेलकुद प्रतियोगिताबाट गढवाले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गरेको बताए । खेलमा माध्यमबाट राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाउन सक्ने दक्ष जनशक्ति उत्पादन भएकाले यो खेल प्रतियोगिताको ठुलो महत्व रहेको उनले बताए ।
गढवा गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एवम् पालिकास्तरीय अन्तरविद्यालय खेलकुद प्रतियोगितालाई एउटा खेल मात्र नभई एउटा उत्सवको रूपमा मनाइरहेको अध्यक्ष पोख्रेलले बताए । विद्यार्थीलाई खेलप्रति जागरुक बनाउन आकर्षित बनाउन के गर्नुपर्छ भन्नेबारे पालिका निरन्तर लागेको समेत बताए । गढवा गाउँपालिकाले दक्ष खेलाडी उत्पादन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल र गाउँपालिकाको नाम चिनाउने दिशामा काम गरेको बताए । खेलाडी उत्पादन गर्ने मुख्य ठाउँ विद्यालय नै भएकाले खेल र विद्यालयलाई एकअर्कासँग गाँसेर अघि बढ्नेबारे पालिका अघि बढेको उनको भनाइ छ ।
माघ ६ गते आइतवारसम्म चल्ने १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल छात्र÷छात्रा र एथलेटिक्सतर्फ छात्र र छात्रा दुवैको सहभागी रहने गरी खेल खेलाइने छ । प्रतियोगितामा मावितर्फ भलिबल, कबड्डी, एथलेटिक्स खेल हुनेछन् भने आधारभूत र प्रावितर्फ एक सय, दुई सय र चार सय मिटर दौड, चम्चा दौड र हिसाब दौड खेल हुने सचिवालय संयोजक तथा जनता माध्यमिक विद्यालय गढवाका शिक्षक उपेन्द्र चालिसेले जानकारी दिए । कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, शिक्षा शाखा प्रमुख श्यामबहादुर विक, जनता माध्यमिक विद्यालय गढवाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार कुमाल, गढवामा सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, विभिन्न विद्यालयका शिक्षक, अभिभावक, नागरिक समाज, संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको थियो । जनता माध्यमिक विद्यालयमा गढवाका प्रधानाध्यापक रामसुरत यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सुदीप किरण आचार्य र रेश्मा योगीले गरेका थिए ।