Goraksha

National Daily

लमही खानेपानीमा सपथ ग्रहण

टेकबहादुर पुन
देउखुरी, ४ माघ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा नयाँ कार्यसमिति समितिले पद तथा गोपनीयताको शपथ लिएका छन् । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका निर्वाचन संयोजक मनिराम केसीले खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नव निर्वाचित पदाधिकारीलाई शपथ ग्रहण गराउँदै प्रमाणप्रत्र प्रदान गरेका हुन् ।

गत पुस २७ गते सम्पन्न लमही खानेपानीको निर्वाचनबाट कार्यसमितिको अध्यक्षमा सनमकुमार पौडेल, उपाध्यक्षमा शिवा चौधरी, सचिवमा बसन्त आचार्य, कोषाध्यक्षमा श्यामलाल भण्डारी, सदस्यमा कौशिला काफ्ले, वविता खत्री, गोपालप्रसाद खनाल, कमलनारायण चौधरी र दीनमणि खनाल निर्वाचित भएका थिए । कार्यक्रममा निर्वाचन संयोजक केसी, सदस्य भानु जोशी, भेषराज पोख्रेल, वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रकाश भुसाललाई निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा–पत्रले सम्मानित गरिएको थियो । कार्यक्रममा पूर्वअध्यक्ष जंगबहादुर चौधरीले नवनिर्वाचित कार्यसमितिलाई माइन्युटसहित पद हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पौडेलले पारदर्शिता तथा जवाफदेहिताको पालना गरेर खानेपानीलाई व्यवस्थित गर्ने बताएका थिए । उनले विधि र कानुनभन्दा बाहिर गएर कुनै कामकारबाही नगरिने भन्दै नागरिकले स्वच्छ पानी पिउन पाउने अधिकारको संरक्षण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । पौडेलले शपथ ग्रहण गर्दै सर्वसुलभ र स्वछ खानेपानी वितरण, संस्थाको सुशासन, आर्थिक पारदर्शितालाई विशेष ख्याल गर्दै सबैसँग समन्वय र सहकार्य गरेर आफ्नो कार्याकालमा नमुना संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । विगतका दिनमा भएका कमीकमजोरीलाई सुधार गर्दै स्वच्छ पानी वितरण गर्नमा आफू लाग्ने अध्यक्ष पौडेलले बताए । पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष जंगबहादुर चौधरीले लमही खानेपानी पानीको स्रोतमा बलियो रहेको बताए । गुणस्तरीय पानी वितरणमा संस्थाले काम गरेको बताउदैँ नयाँ कार्यसमितिलाई वर्तमानको चिन्ता नलिई भविष्यको योजना बनाउन सुझाव दिए ।

कार्यक्रममा बोल्दै निर्वाचन समितिका संयोजक केसीले खानेपानीको क्षेत्रमा दीर्घकालीन योजना बनाएर सबैलाई समेटेर अघि बढ्न सुझाव दिए । संस्थाको नेतृत्व गरिरहँदा राम्रो तथा नराम्रो दुवै काम भएको उल्लेख गर्दै नयाँ टिमले केही राम्रो काम गरेर अगाडि बढ्दै खानेपानी संस्थालाई मजवुत बनाउन अनुरोध गरे ।

कार्यक्रममा खानेपानीलाई नमुना संस्था बनाउन, दीर्घकालीन योजना बनाएर अगाडि बढ्न, खर्च कटौती गर्न, नीति, विधि र प्रविधि को प्रयोग गरेर अगाडि बढ्न, सुशासन कायम राख्न सुझाव दिइएको थियो । निर्वाचन समिति सदस्य भेषराज पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण निर्वाचन समितिका सदस्य भानु जोशीले गरेका थिए ।