‘भूकम्प प्रतिरोधी संरचनासँगै सचेतना’
गोरक्ष समाचारदाता
दाङ, ४ माघ । भूकम्पीय जोखिम कम गर्नका लागि भूकम्प प्रतिरोधी संरचना निर्माणसँगै नागरिकमा सचेतना आवश्यक रहेको कार्यक्रमका सहभागीले बताएका छन् । २७औँ भूकम्प दिवसका अवसरमा घोराहीमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताले भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि नागरिकमा सचेतनासँगै भवन निर्माण भए÷नभएको बुझ्न अनुगमन हुन आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले विज्ञका अनुसार पश्चिम नेपाल भूकम्पको जोखिममा रहेको सूचना आइरहने भएकाले विगतमा भएका भूकम्पबाट पाठ सिकेर घरलगायतका अन्य पूर्वाधार निर्माण गर्दा नागरिकले ध्यान दिनुपर्ने बताएका थिए । आवास सुरक्षित भए सवै कुरा सुरक्षित राख्न सकिने भन्दै प्रमुख जिल्ला अधिकारी लम्सालले भने, ‘नागरिकको पहिलो चासो सुरक्षित आवास निर्माण अर्थात् भूकम्प प्रतिरोधी घर निर्माण हुनुपर्छ ।’ घर निर्माणसँगै हरेक संरना निर्माण गर्दा सुरक्षित महसुस हुने गरी निर्माण गर्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी लम्सालले राष्ट्रिय भवन निर्माण आचारसंहिता पालना गरेर घर निर्माण गर्न नागरिकलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय दाङका प्रमुख प्रवीण शाहले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी आवश्यक रहेकाले र प्रत्येक नागरिकलगायत अन्य भौतिक संरचना बलियो बनाउनुपर्ने बताए । भूकम्पीय जोखिमबाट हुने क्षति न्यूनीकरण गर्न सकिने प्रयासबारेमा जानकारी गराउँदै प्रमुख शाहले प्रत्येक नागरिकले राष्ट्रिय भवन निर्माण आचारसंहिता पालना गरेर मात्र घरसँगै अन्य पूर्वाधार निर्माण गर्नुपर्ने बताए । उनले अहिले खर्च कम गर्ने बहानामा अहिले भूकम्प प्रतिरोधी घर नबनाउँदा पछि पछुताउनुपर्ने अवस्था आउने भएकाले समयमै भूकम्प प्रतिरोधी घर निर्माणका लागि नागरिकमा सचेतना आवश्यक रहेको बताए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका सहरी विकास, पूर्वाधार तथा मापदण्ड कार्यान्वयन महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलले घोराहीमा भवन निर्माण गर्दा राष्ट्रिय भवन निर्माण आचारसंहिता अनिवार्य गरिएको बताएका थिए । उनले घोराहीमा अहिले ५० हजार बढी घर भएको भन्दै आचारसंहिता पालना गर्दै १० हजार बढी भूकम्प प्रतिरोधी घर निर्माण भएको बताए । नागरिकमा भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्ने सचेतना बढ्दै जाँदा भूकम्प प्रतिरोधी घरहरू निर्माण हुँदै गएको बताएका थिए । भूकम्पको सम्भावित जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा व्यापक जनचेतना अभिवृद्धि गराउने, विगतमा भएका प्रयासका मूल्याङ्कन गर्दै कमीकमजोरीलाई सुधार गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्ने अन्य वक्ताले भूकम्पको सम्भावित जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा व्यापक जनचेतना अभिवृद्धिसँगै विगतमा भएका प्रयासको मुल्याङ्कन गर्दै कमिकमजोरीलाई सुधार गर्दै कडाइका साथ भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिनुपर्ने बताएका थिए । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ घोराहीमा प्रभातफेरीको आयोजना गरिएको थियो । प्रभातफेरी कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, कर्मचारीलगायत स्थानीयको सहभागिता रहेको थियो । प्रमुख जिल्ला अधिकारी लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाज दाङ हरिप्रसाद पाण्डेय, निवृत्त राष्ट्र सेवक कर्मचारी संघका चतुरबहादुर डाँगीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख प्रशासकीय अधिकृत विजय गौतमले गरेका थिए ।
