अनलाइनमार्फत भर्चुअल कक्षा…

इन्द्र डिसी

दाङ, १६ बैशाख । कोभिड–१९ (नोवल कोरोना भाइरस) महामारीविरुद्धको लकडाउनसँगै कतिपय विद्यालय तथा कलेजले अनलाइनबाटै कक्षा शुरु गरेका छन् । विद्यालयले भर्चुअलरुपमा अनलाइन कक्षा शुरु गरेसँगै कोर्ष र अन्य विषयमा शिक्षक र विद्यार्थीबीच संवाद हुने गरेको छ । स्कुल बन्द भएपछि ‘भर्चुअल’ कक्षाले विद्यार्थीको सिकाई नियमित बनाउन भूमिका खेलेको विद्यालयले दाबी गरेका छन् ।

दैनिक २ देखि ३ घण्टासम्म विद्यार्थीहरु अनलाइनमार्फत भर्चुअल कक्षामा सहभागी हुने गरेको विद्यालयले जनाएका छन् । प्याब्सन नेपालका केन्द्रीय सदस्य तथा लिटिल एञ्जलका प्रिन्सिपल यादव गिरीले दैनिक ११ बजेदेखि २ बजेसम्म कक्षा चल्ने गरेको बताए । ‘एसईई दिने विद्यार्थीका लागि दैनिक क्लास शुरु भएको छ’, गिरीले भने– ‘विद्यार्थीले प्रश्न गर्ने, छलफलमा भाग लिने र होमवर्क दिने काम भएको छ ।’ उनका अनुसार विद्यार्थीकोे होमवर्कको अर्को दिन क्लासमार्फत् विषयगत शिक्षकले सहजीकरण गर्ने गरेका छन् । विद्यार्थीले असाइनमेन्टस् इमेलमार्फत पठाउने गरेको समेत उनले बताए । ‘लकडाउनको समयमा यस्ता कक्षा महत्वपूर्ण मानिएको छ’, गिरीले भने– ‘यसले विद्यार्थीको सिकाई नरोकिने भएको छ ।’

जिल्लामा भिक्टोरिया कलेज, राप्ती बबई क्याम्पस, गोर्खा, हिमाल, माउन्टभ्यू, लिटिल एञ्जललगायतका स्कुललले भर्चुअल कक्षा सञ्चालन गरेका छन् । माउन्ट भ्यु विद्यालयका प्रिन्सिपल टेकनाथ अधिकारीले म्यासेन्जरमा ग्रुप निर्माण गरेर एसईईका विद्यार्थीसँगै कक्षा ११ र १२ का विद्यार्थीलाई कक्षा दिने गरेको बताए । चैत १५ गतेदेखि विद्यालयले यस्तो कक्षा शुरु गरको उनले बताए । ‘कक्षा सञ्चालनमा छ । विद्यार्थीहरुले नजानेको कुरा म्यासेन्जरमा राख्ने र विषयतगत शिक्षकले समाधान दिने गरेको छ’, प्रिन्सिपल अधिकारीले भने ।

यस्तो कक्षाको लागि इन्टरनेट आवश्यक पर्छ । इन्टरनेटविना अनलाइनमार्फतको भर्चुअल कक्षा चलाउन सकिँदैन । आफैमा यो कक्षा महंगो र हाम्रोजस्तो पूर्वाधार भै नसकेकोको समाजको लागि चुनौतीपूर्ण छ । तर भिक्टोरिया कलेजका कार्यक्रम संयोजक केबी चौधरी यो नयाँ सिकाई र विद्यार्थीको सिकाई निरन्तरतताको लागि उत्तम भएको बताए । ‘स्वास्थ्य सबैभन्दा महत्वपूर्ण कुरा हो, अहिलेको अवस्थामा विद्यालयहरु बन्द छन् । अहिलेको अवस्था हेर्दा विद्यालय सामान्यरुपमा सञ्चालन हुन अझै समय लाग्ने देखिन्छ’, कलेजका कार्यक्रम संयोजक चौधरीले भने– ‘हामीले यो अवस्थामा नयाँ तरिकाले सिक्न सक्नुपर्छ ।’

उनका अनुसार विद्यालय बन्द भएको अवस्थामा शिक्षकहरुलाई समेत व्यक्तिगतरुपमा विद्यार्थीसँग जोडिन यस्ता कक्षा सहयोगी भएका छन् । उनले यो वर्ष समय खेर जान नदिनलाई अनलाइनमार्फत नयाँ पठन तरिका बनाइएको र पढाउन लागिएको बताए । कलेजले बिबिएका तेस्रो, पाँचौ र सातौं ब्याजका विद्यार्थीको लागि कक्षा चलाएको छ । ‘दुई साता अघिदेखि शिक्षकहरुले अनलाइनबाट कक्षा सञ्चालन गरेका छन्’, उनले भने– ‘प्रविधिको युगमा डिस्ट्यान्स लर्निङ प्रभावकारी नै छ ।’ कक्षा सञ्चालनको लागि इन्टर अनिवार्य चाहिन्छ । इन्टरनेटको पहुँचमा नभएका विद्यार्थी भने यस्ता कक्षामा सहभागी हुन सक्दैनन् । प्रविधिको विकासले गर्दा अनलाइन कक्षा सम्भव भएकोले यसलाई राम्रोरुपमा लिनुपर्ने उनले बताए ।

कसरी हुन्छ अनलाइन कक्षा सञ्चालन ?
शिक्षकले अनलाइनमार्फत भर्चुअल कक्षा सञ्चालनका लागि जुम, गुगल प्रयोग गर्ने गरेका छन् । जुमको एप्स डाउनलोड गर्ने र त्यसको आइडी र पासवर्ड विद्यार्थीलाई दिने अनि जुममा सहभागी गराउने गरेको विद्यालयले जनाएका छन् । भेरिफाई एकाउन्ट भएमा निःशुल्करुपमा चलाउन सकिने तर त्यो नभएमा ४० मिनेटसम्म निःशुल्करुपमा लिने सकिने विद्यालयहरुले जनाएका छन् । अनलाइन लाइब्रेरी, जहाँ सुकैबाट ब्राउज गर्न सकिने प्रणाली, विद्यार्थीका लागि नेट आइडीजस्ता व्यवस्थामा सबै विद्यार्थीको पहुँच छैन । ‘अझै पनि धेरै प्रतिशत शिक्षक र विद्यार्थी प्रविधिमैत्री हुन सकेका छैनन् । अनलाइन कक्षाका लागि पूर्वाधार अझै विकास हुन सकेको छैन’, एक शिक्षकले भने– ‘तर लामो समय विद्यालय बन्द भएपछि परीक्षा दिने विद्यार्थीको सिकाई बचाइराख्न अनलाइन कक्षा बाध्यताजस्तै हो ।’ माउन्टभ्यु स्कुलका प्रिन्सिपल अधिकारीले अनलाइन कक्षामा धेरै चुनौती भएको बताए । सबै विद्यार्थी इन्टरनेटको पहुँचमा छैनन््’, उनले भने– ‘भएका विद्यार्थीले पनि डाटा खोलेर अध्ययन गर्दा महंगो छ ।’