अभ्यास राम्रो, उपलव्धिमा समस्या : शिक्षाविद देवकोटा

खेमराज रिजाल
दाङ, १६ बैशाख । अहिले लकडाउनको समय लम्बिँदै जाँदा केही विद्यालयहरुले अनलाइन लर्निङको सुरुआत गरिरहेका छन् । यसलाई शिक्षा मन्त्रालयका पूर्व सहसचिव तथा शिक्षाविद् विष्णुकुमार देवकोटाले राम्रो अभ्यास भनी टिप्पणी गरका छन् । तर उपलब्धिमा भने समस्या देखिने उनको अनुमान छ । लकडाउनमा परिरहेको अवस्थामा सूचना प्रविधिमा उच्च स्थान राख्ने मुलुकहरुमा यो अभ्यास फलदायी भए पनि नेपालको सन्दर्भमा परिणाममुखी हुन नसक्ने उनको धारणा छ । मुलुकका सबै स्थानमा सूचना प्रविधिको पहुँच नै स्थापित नभइसकेको अवस्थामा सीमित विद्यार्थि र हुनेखाने अभिभावकका छोराछोरीलाई मात्र यसले समेट्न सक्छ ।

‘भविष्यमा फेरि पनि यसरी नै विपत आएको अवस्थामा यसलाई परिणाममुखी बनाउन र सबै विद्यार्थीहरुलाई समेट्ने गरी सूचना प्रविधिको व्यवस्थापन गर्न आवश्यक भने हुन्छ’, उनी भन्छन्– ‘त्यसका लागि अहिलेको यो अभ्यासले राज्य संयन्त्रलाई भने नैतिक दबाव दिनेछ ।’

‘हामीकहाँ अनलाइन क्लास लिन सक्ने टिचरकै समस्या छ, किनकि अधिकांश टिचरहरु यसमा अभ्यस्त भैसकेका छैनन्’, देवकोटा भन्छन्– ‘यो अभ्यासले केही विद्यार्थी र केही शिक्षकमात्र समेटिन सक्छन् ।’

यो अभ्यासले एउटै कक्षाका विद्यार्थीहरुको सिकाइ अभ्यासमै पक्षपातको अवस्था ल्याउन सक्ने तर्फ उनको चिन्ता छ । ‘सबै विद्यार्थीहरुसँग अनलाइन बजेट पे गर्न सक्ने आर्थिक हैसियत नै छैन’, देवकोटा भन्छन्– ‘सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई त यो थप समस्या बन्न सक्छ । निजी स्कुलमा पनि समस्या छैन भन्न सकिन्न ।’ विद्यार्थीहरुलाई कक्षा कोठामा मोवाइल बोक्नै बन्देज लगाउने निजी स्कुलहरुले अनलाइन लर्निङमा विद्यार्थीहरुलाई कसरी तान्न सक्लान ? भन्ने प्रश्न गर्दै उनले भने– ‘सरकारले नै सूचना प्रविधिको पहुँचलाई देशका सबै कुनामा पु¥याउन नसकिरहेको अवस्थामा यसलाई तत्कालै व्यवहारमुखी अभ्यासका रुपमा लैजान सकिँदैन ।’

अहिले केही विद्यालयहरुले थालेको यो अभ्यासलाई नकारात्मक रुपमा लिन नहुने र त्यसलाई सह्रानीय प्रयास भन्नुपर्ने हुन्छ भन्दै देवकोटाले यो बिषयमा राज्य संयन्त्रसँग पनि निजी क्षेत्रको गम्भीर छलफल हुनु आवश्यक रहेको औंल्याउँछन् । ‘भविष्यमा फेरि पनि यसरी नै विपत आएको अवस्थामा यसलाई परिणाममुखी बनाउन र सबै विद्यार्थीहरुलाई समेट्ने गरी सूचना प्रविधिको व्यवस्थापन गर्न आवश्यक भने हुन्छ’, उनी भन्छन्– ‘त्यसका लागि अहिलेको यो अभ्यासले राज्य संयन्त्रलाई भने नैतिक दबाव दिनेछ ।’