अनुमान, अनुगमन प्रतिवेदनबारे अभिमुखीकरण
गोरक्ष समाचारदाता
दाङ, २९ पुस । ग्रामीण महिला उत्थान केन्द्र दाङ र द एसिया फाउन्डेसनसँगको साझेदारीमा लुम्बिनी प्रदेशको १४ वटा स्थानीय तहमा सञ्चालन भइरहेको ‘सहकार्य, सुशासन नमुना परियोजना’ अन्तर्गत दुईदिने लागत अनुमान तथा अनुगमन प्रतिवेदन अभिमुखीकरण÷तालिम सम्पन्न भएको छ ।
उपप्रमुख र उपाध्यक्षलाई योजना अनुगमन गर्दा लागत विषयमा जानकार बनाउने र योजना अनुगमनका विषयमा भोगेका मुद्दाका विषयमा छलफल गरी सावधानीका विषयमा जानकार गराउनु र योजनामा प्रयोग हुने प्राविधिक भाषाबारे जानकारी गराउने उद्देश्यले अनुमान तथा अनुगमन प्रतिवेदन अभिमुखीकरण÷तालिमको आयोजना गरिएको हो ।
ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीले महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तीकरणका लागि संस्थाले विगत ३० वर्षदेखि समुदायमा काम गर्दै आएको बताउँदै अहिले सञ्चालन भइरहेको यस परियोजनाले लुम्बिनी प्रदेशका १४ वटा स्थानीय तहका जनप्रतिनिधि महिलाहरूको क्षमता अभिवृद्धि र कामको प्रक्रियालाई सिस्टम बसाल्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्कीले महिला जनप्रतिनिधिले अनुमगन तथा मूल्याङ्कन क्षेत्रमा धेरै समस्या भोग्नुपरेको बताइन् ।
महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धि, योजना शाखा र प्राविधिकहरूलाई साथमा राखेर अभिमुखीकरण गर्दा सबैको बुझाइ साझा देखिएको उनले बताइन् । साथै यस्तो अभिमुखीकरण कार्यक्रमले सकारात्मक परिवर्तन आउने र सुशासनयुक्त समाजको सिर्जनामा सहयोग पुग्ने उनको भनाइ छ । लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले राज्यले दिएको महिला उपमेयर÷उपाध्यक्षहरूको हकअधिकार कसैले मास्न नपाउने बताइन् । त्यसका लागि संस्थाले महिला जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धिमा सहयोग गरी साथ दिनुपर्ने उनले बताइन् ।
कार्यक्रममा द एसिया फाउन्डेसनका महेन्द्र घिमिरेले महिला जनप्रतिनिधिले गर्दै आएको काममा सहयोग गरी उनीहरूको कामलाई सहज बनाउन भूमिका खेलेको बताइन् । कार्यक्रममा दाङ, बाँके र बर्दिया जिल्लाका १२ वटा स्थानीय तहका उपप्रमुख उपाध्यक्ष, योजना शाखाका प्रमुख र प्राविधिकहरू गरी ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको प्रशिक्षकमा घोराही उपमहानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेल रहेका थिए ।
