Goraksha

National Daily

श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुने

गोरक्ष समाचारदाता
दाङ, २९ पुस । सडक मानवका लागि सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा घोराहीमा महायज्ञ हुने भएको छ । सडक मानव तथा सार्वजनिक स्थलमा अलपत्र, बेवारिसे अवस्थामा रहेका खाना, नाना र छानाविहीन बेवारिसे सडक मानवहरूको सहयोगार्थ माघ १७ गतेदेखि घोराहीमा ‘श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१’ सञ्चालन हुने भएको हो ।

महायज्ञका लागि घोराहीमा भएको भेलाले माघ १७ देखि २४ गतेसम्म महायज्ञ आयोजना गर्ने निर्णय गरेको हो । साथै भेलाले चन्द्रराज पन्तको संयोजकत्वमा महायज्ञ आयोजक मूलसमिति गठन गरेको छ । महायज्ञमा हरेक दिन योगाभ्यास, पूजा तथा पाठपारायण, कथा वाचन, आरती, प्रसाद वितरण, सन्ध्याकालीन भजनकीर्तन, झाँकी प्रस्तुतिलगायतका कार्य हुनेछ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको मानव कल्याण समाज (सेवा घर) मा हाल चार महिना बच्चादेखि ९० वर्षको ५२ जना व्यक्ति रहेका छन् । सेवाघरमा रहेका धेरै व्यक्ति मनोरोगी (मनोसामाजिक समस्याले ग्रस्त), अपाङ्गता भएका र सुस्तमनस्थितिलगायत विभिन्न रोगले ग्रस्त रहेका छन् ।

उनीहरूको प्रभावकारी सेवाको लागि हालसम्म नेपालीले गरेको मुठीदानबाट मात्र सञ्चालन भइरहेको र सेवा घरको दिगो व्यवस्थापनको लागि आर्थिक स्रोत जुटाउन आवश्यक भएको हुँदा यस ज्ञान–विज्ञान महायज्ञको आयोजना गरिने सेवा घरका अध्यक्ष सुमित्रा चौलागाईले जानकारी दिइन् । यस श्रीमद्भागवत ज्ञान–विज्ञान महायज्ञमा आर्थिक सहयोगसँगै आफ्नो जन्मोत्सव, विवाह उत्सव, ब्रतबन्ध, चौरासी, गुन्युचोली, पितृहरूको सम्झना वा यस्तै विशेष पलहरूमा सेवा घरमा एक छाक भोजन वा कुनै विषयगत सेवा गरेर मानव कल्याण समाजलाई सहयोग गर्न सकिने उनले बताइन् ।

भेलामा सहभागीले मानव सेवा घरले दाङमा सेवा सुरु गरेपछि सडक मानव देखिन छोडेको र यस अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताएका थिए । उनीहरूले यस महायज्ञलाई ज्ञानविज्ञानसँग जोडेर अगाडि बढाउनुपर्ने बताएका थिए । महायज्ञको कथा वाचकमा मानव कल्याण समाजका संस्थापक अध्यक्ष देवी श्री सुमी मानव रहने भएका छन् ।