Goraksha

National Daily

लमही खानेपानीमा नयाँ नेतृत्व, अध्यक्षमा पौडेल

टेकबहादुर पुन
देउखुरी, २९ पुस । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा सनमकुमार पौडेल निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट प्रगतिशील प्यानलबाट अध्यक्षमा पौडेल विजयी भएका हुन् । अध्यक्षमा पौडेलले एक सय १९ को मतान्तरले प्रतिस्पर्धी विनोदकुमार पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् ।

पौडेलले ९ सय २३ मत प्राप्त गरे भने पाण्डेले आठ सय सय चार मत प्राप्त गरे । अध्यक्षमा जनपक्षीय संयुक्त प्यानका अध्यक्ष पदका उम्मेदवार श्यामलाल खनालले छ सय ९५ र स्वतन्त्रबाट बुद्धिमान् चौधरीले चार सय आठ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा लोकतान्त्रिक प्यानलबाट शिवा चौधरी नौ सय १२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वीहरू जनपक्षीय संयुक्त प्यानलकी हुमाकुमारी पाण्डे (सपना)ले सात सय ९५ र प्रगतिशील प्यालनको लक्ष्मी खड्काले सात सय ८५ मत प्राप्त गरिन् ।

सचिवमा लोकतान्त्रिक प्यानलका बसन्त आचार्यले आठ सय ३६ मत प्राप्त गरी विजयी भएका छन् भने उनको प्रतिद्वन्द्वी प्रगतिशील प्यानलका सुधीरकुमार रेग्मीले सात सय सय ७४, जनपक्षीय प्यानलका ऋषिराज रावत क्षेत्रीले छ सय ८४ र स्वतन्त्रको शशिराम नेपालीले तीन सय एक मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा जनपक्षीय प्यानलबाट श्यामलाल भण्डारीले आठ सय १७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वीहरू संयुक्त लोकतान्त्रिक प्यानलका हल्लुप्रसाद चौधरीले सात सय ९५, संयुक्त प्रगतिशील प्यानलका दिनेश आचार्यले सात सय ९३ र स्वतन्त्रबाट ज्योतिकुमार चौधरीले एक सय मत प्राप्त गरे ।

यसैगरी सदस्यमा संयुक्त लोकतान्त्रिक प्यालनबाट गोपालप्रसाद खनालले आठ सय ८०, प्रगतिशील प्यानलका कमलनारायण चौधरीले नौ सय ३२ र संयुक्त प्रगतिशील प्यानलबाट दीनमणि खनालले आठ सय ५४ मत प्राप्त गरी विजयी भए । यसैगरी विजयी सदस्यका प्रतिद्वन्द्वहरू संयुक्त लोकतान्त्रिक प्यानलबाट छन्दसिंह बस्नेत सात सय ८२, देविराम भण्डारीले आठ सय ३३, संयुक्त प्रगतिशील प्यानलबाट विद्यादेवी थापाले आठ सय ११, जनपक्षीय संयुक्त प्यानलबाट सुरेशकुमार गुप्ताले आठ सय ५३, सोही प्यानलका सुनिल चौधरी छ सय ७० र मदनसिंह वलीले छ सय नौ मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा संयुक्त लोकतान्त्रिक प्यानलबाट वविता खत्रीले नौ सय १० र संयुक्त प्रगतिशील प्यानलबाट कौशिला काफ्लेले आठ सय ७७ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरूको प्रतिद्वन्द्वहरू संयुक्त लोकतान्त्रिक प्यानलका चिन्तादेवी चौधरीले आठ सय ३०, संयुक्त प्रगतिशील प्यानलकी सीतादेवी शाहीले आठ सय ५७, जनपक्षीय संयुक्त प्यानलको अमृता चौधरीले छ सय ६९ र सोही प्यानलकी भागवती चौधरीले छ सय ५७ मत प्राप्त गरेका छन् । नवनिर्वाचित अध्यक्ष पौडेलले जुनसुकै प्यानलबाट निर्वाचित भए पनि आम नागरिकलाई पानी खुवाउने सवालमा राजनीति हुन नदिने बताएका छन् ।