तुलसीपुरमा पानी बहस : चुनौती बन्दै मौलिक हक
खेमराज रिजाल
तुलसीपुर, २८ पुस । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २०औँ साधारणसभा तथा १२औँ अधिवेशनमा व्यापक रूपमा पानी बहस भएको छ । खुल्ला पानी बहसमा निगमनकारी निकायहरू नै खानेपानीका सवालमा संविधानले स्थापित गरेको मौलिक हक चुनौती बन्दै आएको स्वीकार गरेका छन् ।
नेपालको संविधानको धारा ४ ले गुणस्तरीय स्वच्छ पानीलाई मौलिक हकका रूपमा स्थापित गरेको छ । संयुक्त राष्ट्रसंघले स्वच्छ खानेपानीलाई मौलिक अधिकारका रूपमा स्थापित गरेको छ तर नेपाली नागरिकले भने अझै पनि निःशुल्क र गुणस्तरीय खानेपानी पाउन सकेका छैनन् । सहलगानी आयोजना सञ्चालनका नाममा नेपाल सरकारले नै संविधानले स्थापित गरेको खानेपानीको मौलिक हकको धज्जी उडाएको छ । खानेपानीलाई मौलिक हकका रूपमा काजग र भाषणमा मात्र बताइने गरेको छ तर उपभोक्ताले व्याजे ऋण लिएर आयोजनाका नाममाा पैसा जम्मा गर्ने अभ्यास पछिल्लो पटक मौलाएको छ ।
यसैगरी आयोजनाहरू घोराही उपमहानगरपालिकाको घोराही खानेपानी संस्था, बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाहरूमा कार्यान्वयनमा आएका छन् । यसले संविधानले स्थापित गरेको मौलिक हकलाई धज्जी उडाएको स्वयम् खानेपानी नेतृत्व एवम् नेपाल सरकारका आधिकारिक निकायका पदाधिकारीले बताएका छन् ।
‘कागजी रूपमा वा सार्वजनिक समारोहमा बोल्दा जसरी खानेपानीलाई संविधानले दिएको मौलिक हकका रूपमा व्याख्या गरिन्छ तर यो क्षेत्रमा बजेट विनियोजन गर्न भने उच्च सरकारी संयन्त्र अहिलेसम्म उदार देखिएका छैनन्’, साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै खानेपानी विभाग सहलगानी खानेपानी आयोजना कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद आचार्यले भने ।
अहिले तुलसीपुरमा उपलब्ध स्रोतले यहाँका जनतालाई धान्न नसक्ने भएकाले स्रोतको संरक्षण र नयाँ स्रोतको खोजी गर्न उनले उपभोक्ता समितिलाई सुझाव दिए । आजसम्म आइपुग्दा आधारभूत खानेपानीको कभरेज ९० प्रतिशत पुगे पनि सुरक्षित खानेपानी कभरेज २७ प्रतिशत मात्रै छ । ‘संविधानले खानेपानीलाई मौलिक हकका रूपमा स्थापित गरेको छ, संयुक्त राष्ट्रसंघले मौलिक अधिकारका रूपमा राखेको छ तर सीमित स्रोतसाधनका कारण हामीले यसलाई कार्यन्वयनमा ल्याउन सकेका छैनौँ’, आयोजना प्रमुख आचार्यले भने ।
नेताहरूको भाषणमा मात्र खानेपानीलाई प्राथमिकतामा राखिने तर बजेट विनियोजन गर्दा यो क्षेत्रमा बजेट नबढाउन ठुलो चलखेल हुने गरेको उनको स्पष्टोक्ति थियो । यसले अबको पाँच वर्षमा सबैलाई स्वच्छ खानेपानी पुराउने राष्ट्रिय नीति पूरा हुने अवस्था पूरा हुनेछैन न त नेपाल सरकारको ‘एक घर एक धारा’को नीति नै कार्यान्वयनमा आउन सक्नेछ । दाङ जिल्लाका सहरी क्षेत्रमा औसत ३० हजार रुपैयाँ त नयाँ धारा जडानमै लाग्ने गरेको छ । त्यसबाहेकको नियमित रूपमा मासिक महसुल आम नागरिकका लागि शुलभ छैन । स्वच्छ पिउने पानी त उपभोक्ता संस्थाहरूको काबु बाहिर नै रहेको उपभोक्ता अधिकारकर्मीले बताउँदै आएका छन् ।
कार्यक्रममा बोल्दै साधारणसभाका विशिष्ट अतिथि तथा सङ्घीय खानेपानी तथा ढल निकाश आयोजना बाँकेका प्रमुख अतुलेश कर्णले पानीको स्रोत कमजोर बन्दै जाँदा उपभोक्ता भने बर्सेनि बढिरहेकाले सहज रूपमा पिउने पानी चुनौतीपूर्ण रहेको बताए । यसलाई सन्तुलनमा ल्याउन तल्लो तहका उपभोक्तादेखि राज्यका नीति निर्मातासम्म गम्भीर भएर पानीको स्रोत बढाउनेतर्फ लाग्नुपर्ने उनको सुझाव थियो । यसैगरी साना सहरी खानेपानी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले संविधानमा भएका कुरा जनताले पाउन नसकेको बताए ।
संविधानको धारा ४ मा खानेपानीलाई मौलिक हकका रूपमा स्थापित गरिए पनि सहलगानी आयोजनाका नाममा जनताले ऋण लिएर आयोजनामा पैसा लगाउनु पर्ने बाध्यता रहेको उनको अभिव्यक्ति थियो । राजनीतिक हस्तक्षेपकै कारण खानेपानीका सन्दर्भमा बन्ने असल कानुनलाई कार्यान्वयनमा ल्याउन समेत समस्या भएको उनले बताए । सो अवसरमा जिल्लाका विभिन्न क्षेत्रमा रहेका खानेपानी उपभोक्ता संस्थाका नेतृत्वले खानेपानीलाई मौलिक हकका रूपमा स्थापित गरिए पनि राज्यको यसमा लगानी न्यून हुँदा चुनौतीपूर्ण रहेको बताएका छन् ।
साधारणसभामा घोराही खानेपानीका अध्यक्ष देवीबहादुर डिसी, नारायणपुर खानेपानीका कुलप्रसाद रजौरे, बेलझुण्डी खानेपानीका प्रदीप गौतम, अमृतपुर खानेपानीका केशव सापकोटा, राष्ट्रिय साना सहरी खानेपानी महासंघका सल्लाहकार तथा पूर्व आयोजना प्रमुख चोकप्रसाद धिताल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति जगत खड्का, एमालेका श्याम डाँगीयातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले शुभकामना मन्तव्य दिएका थिए ।
यसैगरी साधारणसभामा तुलसीपुर उपमहानगरपालिका–५ का अध्यक्ष वीरेन्द्रकुमार शाह, वडा नं. ६ का अध्यक्ष दुजमान भण्डारी, ७ का अध्यक्ष खुशीराम चौधरी, घोराही खानेपानी तथा सरसफाइ डिभिजनका प्रमुख तिलक न्यौपाने, खानेपानी संस्थाका पूर्व अध्यक्ष टोपबहादुर शाह, सल्लाहकार जनक खराल, तुलसीपुर उवासंघका महासंघका महासचिव केशवराज केसी, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य सुशील बस्नेत, तुलसीपुर च्याम्बरका उपाध्यक्ष सन्तोषकुमार खड्का, तुलसीपुर खानेपानी संस्था सिस्टम नं ५ का जितबहादुर खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्याक्ष यमकान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव सेवकराम भण्डारीले र कोषाध्यक्षको प्रतिवेदन भोला थापाले प्रस्तुत गरेका थिए । बन्दसत्रमा यी दुवै प्रतिवेदनका विषयमा साँझ अबेरसम्म छलफल जारी रहेको र अधिवेशनको मिति अझै तय नभएको संस्थाका सचिव सेवकराम भण्डारीले बताएका छन् । सिताराम शर्माको स्वागतबाट सुरु भएको साधारणसभाको खुल्लासत्रको सहजीकरण सचिव सेवकराम भण्डारीले गरेका थिए ।
