Goraksha

National Daily

मानसिक तथा मनोसामाजिक स्वास्थ्यमा सुधार आवश्यक

किरण थापा

स्वास्थ्य नै मानव जीवनको महङ्खवपूर्ण पाटो हो । स्वास्थ्यका आयाममध्ये मानसिक स्वास्थ्यको गहन भूमिका हुन्छ । मानव जीवनलाई मानसिक स्वास्थ्यले सार्थक बनाउँछ । मानवको मानसिक स्थितिले नै व्यक्तिगत–सामूहिक क्षमता बलियो बनाउँछ । यो व्यक्ति, परिवार र समाज कल्याणको आधार हो ।

जहाँसुकै भए पनि सबैको मानसिक स्वास्थ्यको अन्तरनिहित अधिकार छ । मुलुकलाई सही नेतृत्व प्रदान गरी समुन्नति हासिल गर्न स्वस्थ र सक्षम नागरिक तयार गर्नुपर्ने हुन्छ । यसका लागि व्यक्तिको मानसिक स्वास्थ्य र उसको शिक्षा दीक्षाले निर्णायक महङ्खव राख्छ । व्यक्तिको सर्वाङ्गीण विकासका लागि विश्वले उच्च सतर्कता अपनाएर काम गरिरहेका छन् । मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।

विश्व स्वास्थ्य संगठन अनुसार स्वस्थ मानिस भन्नाले कुनै पनि रोग लाग्नु वा अशक्त नहुनु मात्र नभई पूर्णरुपमा शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक स्वस्थताको गतिशील अवस्था हो । मानसिक स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्नसक्ने, जीवनका सामान्य तनावलाई व्यवस्थापन गर्नसक्ने, उत्पादनशील ढङ्गले काम गरी आफ्नो समुदायमा योगदान दिन सक्षम रहने अवस्था भन्ने बुझिन्छ । सामान्यतया अरु रोग–विकारभन्दा मानसिक स्वास्थ्यको घनङ्खव बढी जटिल छ । यो एक कठोर निरन्तरतामा अवस्थित भएर रहन्छ ।

समस्या भएको र नभएको व्यक्तिबिच फरक रुपमा अनुभव हुन्छ । कठिनाइ र सङ्कटको फरक डिग्री तह हुन्छन् । धेरै स्वरुपका सामाजिक र क्लिनीकल परिणाम देखा पर्छन् । यसले मानिसलाई सम्भावित रुपमा सधैँ जोखिममा राख्छ । यसले बिरामीलाई मनोसामाजिक असक्षमताको दलदलमा राख्छ । मानसिक अवस्था राम्रो नहुँदा पूरै जीवन सङ्कटग्रस्त हुन्छ । मानसिक स्वास्थ्यको समस्या भएका व्यक्तिले, आफूलाई निम्न स्तरको वा कमजोर अनुभव गर्ने सम्भावना बढी हुन्छ र आत्माहत्या जस्ता घटना हाम्रो समाजमा देख्न सकिन्छ ।

कुनै न कुनै तङ्खव वा पक्ष मानसिक स्वास्थ्यको निर्धारक भएर रहन्छ । हाम्रो जीवनभरि वा जीवनको कुनै कालखण्डमा यस्ता निर्धारकले भूमिका खेल्नसक्छ । यहाँ हाम्रो मानसिक स्वास्थ्यलाई धेरै व्यक्तिगत, सामाजिक र संरचनात्मक निर्धारकले जोगाउन वा कमजोर बनाउन सक्छ । मानसिक स्वास्थ्यको निरन्तरतामा हाम्रो स्थिति परिवर्तनले गहिरो प्रभाव र कठोर संयोजन गर्नसक्छ अर्थात् सामाजिक पारिवारिक वातावरण, कुनै घटना, व्यक्तिगत मनोवैज्ञानिक र जैविक कारक मानसिक स्वास्थ्यका कारण हुन सक्छन् । अर्काेतर्फ भावनात्मक कुराहरु र नसालु पदार्थको प्रयोगले पनि मानसिक स्वास्थ्यमा समस्या ल्याउँछ । मानसिक स्वास्थ्य सवालमा आनुवंशिकी कारणले अर्थ राख्न सक्छ ।

नेपाल दक्षिण एसियामा विविध संस्कृति भएको देश हो । यहाँको समुदायमा धेरै जाति जनजाति छन् । यहाँका मानिस मन र शरीरलाई अलग–अलग ठान्छन् । यो उनीहरुको आत्मप्रतिको धारणा हो । यसले मानसिक रोगका बारेमा रहेको बुझाइमा समेत प्रभाव पारेको छ । नेपाली समाजमा सामान्यतया मानसिक रोगलाई आध्यात्मिक रोगको कारण ठानिन्छ । मानसिक स्वास्थ्य समस्या भएका मानिस पनि कलङ्क र भेदभावको निशानामा हुन्छन् । विश्व स्वास्थ्य सङ्गठनका (डब्लुएचओ) अनुसार नेपालमा हाल १० लाख बढी मानिसमा मानसिक स्वास्थ्य समस्या रहेको अनुमान गरिएको छ ।

मानसिक समस्या भएका व्यक्तिहरुलाई समाजले गर्ने व्यवहार सकारात्मक हुन नसक्दा उनीहरुको बास सडकमा हुने गरेको देखिन्छ । मानिस सामाजिक प्राणी हो, मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त भएपछि आफू समाजमा बस्न नसक्ने अनुभूति गरी आत्महत्या गर्न पुग्नुमा को जिम्मेवार छ ? घर, परिवार र समाज किन तिनका लागि बस्नयोग्य बन्न सकेनन् ? समाजको यस्तो वास्तविकताबारे छलफल गर्न ढिलो गर्नु हुन्न । यस्तो अवस्थाको अन्त्यका लागि परिवार, समाज तथा अधिकारमुखी संघसंस्थाहरु र समग्रमा राज्य जिम्मेवार छैन र ? मानसिक स्वास्थ्यमा समस्या भएका व्यक्तिहरुमाथि मात्र दोष थोपर्नु हुन्न । दोष व्यक्तिलाई होइन, उनीहरुका लागि उचित वातावरण बनाइदिन नसक्ने राज्यलाई लाग्छ ।

नेपालमा साच्चै मानसिक स्वास्थ्य उपचार खोज्नेको सङ्ख्या र आवश्यकता बढ्दो छ भन्ने कुरा नेपालको विभिन्न कालखण्डमा घटेका घटनाक्रमले बताउँछन् । माओवादी हिंसात्मक गृहयुद्धको सामना गरेको थियो । जसमा १७ हजार बढी मानिस मारिए र हजारौँ विस्थापित भए । देश र समाज अझै पनि त्यो हिंस्रक द्वन्द्वको चोटबाट पुनः बाहिर आउन सकेको छैन । यो अवस्थाले नेपाली समाजमा ठुलो सङ्ख्यामा डिप्रेसन, चिन्ता र मनोग्रसित–बाध्यता विकार (ओसिडी)लगायत सयौँ प्रकारका मानसिक रोगका बिराम भएको अनुभव हामी समक्ष छ ।

सन् २०१५ को अप्रिलमा गएको भूकम्पमा आठ हजारभन्दा बढीको मृत्यु भएको थियो भने २० हजार बढी घाइते भएका थिए । यसले धेरै मानिसलाई बेचैनी थपेर मानसिक स्वास्थ्यको उपचारतिर धकेलेको थियो । यस्ता प्रकृतिका विपत्ति र घटनाले व्यक्तिलाई आघात गर्छ । आपतकालीन अवस्थाले समाजमा लामो समयसम्म असर गर्ने गर्छ । यसैले मानसिक स्वास्थ्य समस्या कम गर्न मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक पर्छ । यसबारे ठोस काम गर्न नेपालको सरकार चुकेको पाइन्छ ।

यसै गरी कोभिड–१९ को कारण उत्पन्न व्याकुलताको मानसिक स्वास्थ्यमा डर, त्रास, भय बढ्दै गएपछि यसले चिन्ता, अनिद्रा, डिप्रेसन, आत्महत्याको विचारलगायत अरु कडा खालका मानसिक समस्या पनि निम्त्याएको अनुभव हामी समक्ष रहेको पाइन्छ । समयमै मानसिक स्वास्थ्य समस्याको रोकथाम, निदान, मनोवैज्ञानिक परामर्श र उपचारको व्यवस्था गर्न नसक्दा देशको आर्थिक र सामाजिक विकास तथा स्वास्थ्य क्षेत्रमा दीर्घकालीन नकरात्मक प्रभाव पर्न गएको पाइन्छ ।

नेपालको संविधानले स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र स्वास्थ्य सेवामा समान पहुँच हुने हकको व्यवस्था गरेको छ । त्यसका आधरमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३ को उपदफा ४
(ङ) मा मानसिक स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाको सूचीमा समावेश गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ को परिच्छेद –७ मा मनोसामाजिक अपाङ्ता भएका व्यक्तिहरुको लागि स्वास्थ्य, पुनःस्थापना, सामाजिक सुरक्षा तथा मनोरञ्जनको व्यवस्था गरिएको छ । उक्त ऐनको दफा ३५ र ३६ ले मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिका लागि थप सेवा सुविधाको समेत सुनिश्चितता गरेको छ । महङ्खवपूर्ण कुरा त के भने, सयुंक्त राष्ट्र संघको दिगो विकास लक्ष्य (२०१६–२०३०) मा पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्यको प्रवर्धन गर्ने, नसर्ने रोगबाट हुने मृत्यु एकतिहाइले कम गर्ने र लागूपदार्थ दुव्र्यसनीको रोकथाम, उपचार र पुनःस्थापना गर्ने लक्ष्य राखिएको छ ।

यस्तो अवस्था भइरहेको सन्दर्भमा हरेक मानवलाई जोगाउने, जीवन जिउने अवस्थाको वातावरण बनाउनु पनि राज्यको दायित्व हो । स्थानीय तहले मानसिक स्वास्थ्य र मनोसामाजिक सुस्वास्थ्यका निम्ति यथोचित कार्यक्रम बनाई मानसिक रोग र मनोवैज्ञानिक जटिलता उन्मुख नेपाली समाजलाई जोगाउनका निम्तिसमेत मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीति अहिलेको अपरिहार्य जस्तै बनेको छ ।

नेपालमा मानसिक स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०६४ र नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय कार्य योजना सन् २०१४–२०२० अन्तर्गत मानसिक स्वास्थ्य पनि समावेश भएपछि केही सकारात्मक प्रयास मानसिक स्वास्थ्यको क्षेत्रमा भएका छन् । यस विषयमा राज्य गम्भीर बनेर नै पुरानो मानसिक स्वास्थ्य नीतिलाई परिमार्जन गर्दै राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति र कार्ययोजना २०७७ नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी पनि गरिसकेको छ ।

गुणस्तरीय मानसिक स्वास्थ्य सेवा प्रवाह गर्नका निमित्त नीतिगत तथा कानुनी व्यवस्था गरिनुका साथै निर्देशिकाले निर्देश गरे तापनि यसको प्रभावकारी कार्यान्वयन र सङ्घीय व्यवस्था अनुसार व्यवस्थापनमा अझै पनि केही समस्या र चुनौतीहरु रहेका छन् । स्थानीय तहले सङ्घीय र प्रदेश सरकारभन्दा अग्रपङ्क्तिमा राज्यको प्रत्याभूत र अनुभूत गराउन सक्ने भएकोले आफ्नो मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीति निर्माण गरी पहिचान, सहयोग र प्रेषण प्रक्रियामा सचेत गराउनुपर्ने बेला भएको छ ।

स्वास्थ्यका हरेक कार्यक्रममा जबसम्म मानसिक स्वास्थ्यलाई प्राथमिकता दिइँदैन, आवश्यक बजेटको विनियोजन गराइँदैन मानसिक स्वास्थ्य र मनोसामाजिक सुस्वास्थ्यमा जनस्तरमा काँचुली फेर्ने अवस्था देखिँदैन । मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीति हरेक मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्ति, मनोसामाजिक समस्यामा परेका व्यक्तिलाई सम्बोधन गर्न एवम् थप रोगलाई थप जटिलतातर्फ जानबाट रोक्नका निम्ति पनि कोशेढुङ्गा सावित हुनसक्दछ ।

मानसिक स्वास्थ्य विश्वव्यापी मानवअधिकारको विषय हो । यसलाई हामी जति छिटो आत्मसात् गर्छाैँ, उति नै चाँडो हामी सामेली र समानतायुक्त समाजको विकास गर्छाैँ । एउटा समृद्ध समाज निर्माण गर्छाैँ, जुन समाजमा विभिन्न अवरोधमा रहेका व्यक्तिहरु सहजतापूर्वक जीवन बाँच्न सक्छन् । तसर्थ मानसिक स्वास्थ्य विश्वव्यापी मानव अधिकारको विषय हो भनेर मनन् गरौँ ।

(लेखक गैरसरकारी संस्था सामाजीक तथा आर्थीक रुपान्तरणका लागी युवा समुहका कार्यकारी निर्देशक हुन् ।¬)