हाम्रो संस्कृति र माघेसंक्रान्ति
केपी. सुवेदी
आफ्नोप्रति सबैलाई माया हुन्छ, अरुको भन्दा उत्कृष्ट बनाउने एक किसिमको हुटहुटी कुनै पनि मुलुकको स्वाभिमानी नागरिकमा हुनु अनौठो होइन । त्यसरी नै हाम्रो संस्कृति, हाम्रो भूगोल र हाम्रो ऐतिहासिक पहिचानप्रति हामीलाई गर्वको महसुस हुनु स्वभाविक हो । किनभने हाम्रो आफ्नोपनको अस्तित्व यसैमा निहित रहेको हुन्छ ।
हाम्रो भूगोलको विविधतासँगै जातजाति र संस्कृतिको पनि भूगोलसँगको अन्योन्याश्रित सम्बन्धले मुलुकलाई प्राकृतिक विविधतासँग जोडेको छ । त्यसैले हाम्रो भूगोल र सांस्कृतिक सम्पदाहरु विश्वमानव समुदायका लागि आकर्षणको केन्द्र बन्दै गएको आभास हुन्छ । उनीहरुको नेपाल हेर्ने रहरसँग जोडिने हाम्रो सम्पदाहरु विश्वसम्पदा सूचीमा सूचीकृत हुनु हाम्रो लागि गौरवको विषय हुनआयो र अरुका लागि त्यसलाई हेर्ने जिज्ञासा एवम् कौतुहलताले कुतकुत्याउने विषयहरु बने । जीवनमा एकपटक हेर्नैपर्ने सूचीमा रहेका यस्ता धरोहरहरु हाम्रा अमूल्य निधि हुन् । हाम्रो आयआर्जनका अविनाशी स्रोत हुन् । त्यसैले यिनीहरुलाई अनुकरणीय संस्कारको स्तरमा विकसित गर्दै लैजानुपर्ने आजको आवश्यकता हो ।
फरक भूगोलमा अवस्थित फरक जाति, भाषा, संस्कृति एउटै फूलबारीका विभिन्न जातिका फूलहरुको तरेला जस्तै कतै छ भने कतै निश्चित भूगोलमा केही जाति, भाषिक र सांस्कृतिक बाहुल्यतामा मिश्रित तरेलीहरु पनि कम छैनन् । बहुजातीय क्षेत्र मिश्रित संस्कृतिको अनौठो र अलौकीक सङ्गममा रमिरहेका बहुजातीय संस्कृति अन्तर्गत धेरै साझा र केही आफ्नो विशिष्ट पहिचानमा आधारित पर्वहरु छन् । हरितालिका तिज, विजयादशमी, दीपावली अर्थात् तिहारसम्म पनि धेरैको साझा पर्व मानिन्छन् ।
त्यसपछि सुरु हुने छठ, ल्होसार उधौली उभौली अनि माघी जस्तापर्वहरु खास भूगोलका खास जाति र समुदायका मानिसहरुको पहिचानसँग जोडिएका भए तापनि सबै हामी नेपाली सबै हाम्रो चिनारी भन्ने भावनाको विकास हुँदैछ । यसो हुनु सबैका लागि खुसीको कुरा हो । किनभने विविधतामा एकता नै हाम्रो विशिष्टता हो । त्यसैले हामी विश्व समुदायमा अरुभन्दा फरक पहिचान दिन सफल हुन सक्छौँ । माथि भनिएझैँ सबै पर्वहरुलाई राष्ट्रिय पर्वको रुप दिनसके मात्र अनेकतामा एकताको सन्देश दिन सकिन्छ । यो प्रयास भइरहेको पनि छ । यसै वर्षदेखि त्यसको छनक दिने गरी छठ पर्वलाई अन्य समुदायमा मनाउन सुरु गरिएको छ । यसैगरी अन्य चाडपर्वहरु मनाउन सुरु गर्नैपर्छ अनि मात्र सबै मनहरुलाई एक ठाउँमा जोड्न सकिन्छ ।
विशेष रुपले थारु समुदायले मनाउने भनेर प्रचारित माघीपर्व नजिकै आइरहेको छ । माघी पर्वमा थारु समुदायलाई जोड्नुमा आफ्नै सांस्कृतिक इतिहास छ । इतिहासको एउटा कालखण्डमा उनीहरुमाथि श्रमशोषणद्वारा प्रताडित गर्दै अमानवीय व्यवहार गरिँदा माघी एउटा बाध्यकारी बन्धनबाट मुक्तिबोध गर्ने पर्वका रुपमा मान्ने गरिएको कारण माघी थारु समुदायको पर्याय बन्नपुगेको मान्न सकिन्छ ।सधैँ दास सरह बन्धक बनेर काममा जोतिनु पर्ने निमुखा व्यक्ति एक दिन भए पनि स्वतन्त्र भएर आफूले आगामी वर्षको कार्यथलो यथासम्भव परिवर्तन गर्न पाउने भलै त्यो कटुभाषामा भन्दा विक्री भएर नयाँ दशा व्यहोर्न तयार हुने अवसर मात्र किन नहोस् ।
यसरी जोडिएको माघीको महङ्खव यतिमा मात्र सीमित छैन । माघी एउटा सांस्कृतिक तथा धार्मिक पर्वसमेत मानिन्छ । कुण्डहरु, जलाशयहरु र नदीमा नुहाउँदा मात्र पनि पुण्य प्राप्त हुने मान्यता सबैजात, वर्ण, धर्मका सम्प्रदायमा व्यापक छ । माघेसङ्क्रान्ति विभिन्न नेपाली परिकारहरु बनाएर देविदेवताको नाममा भोग, प्रसाद चढाएर ग्रहण गर्दा सोँचेको कुरा पूरा हुने विश्वास हाम्रो समाजमा रहेकोमा यसलाई अझै बढी तामझाम र तीर्थस्थलहरुमा दर्शन गर्ने र नुहाउने प्रचलन बढ्दो छ ।
माघेसङ्क्रान्ति नजिकिँदै गर्दा माघी महोत्सवहरु धमाधम मनाइँदै छन् । आजको माघीको रौनक हेर्दा सबैसबैको पर्व हो । माघी भनेर हिच्किचाउनु पर्दैन । जुन समुदायसँग जोडेर माघीको संस्कृतिले राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय चिनारी प्राप्त गरिसक्यो त्यो नै हाम्रो लागि गौरवको विषय हो तर धेरै अघिदेखि विभिन्न बहानामा जस्तै माघीमिलन, माघी महोत्सव माघी सम्बन्धित संस्कृतिक कार्यक्रमले यसको परम्परालाई डो¥याउनु पर्नेछ । किनभने छोटो समयमा सम्पन्नहुने पर्वले त्यसको आगमनको कौतुहलता जति उच्च होला त्यति लामो समय चल्नेले सिर्जना गर्न सक्तैन ।
खास दिनको महत्वलाई घटाउने गरी कुनै पनि पर्वहरु नमनाउँदा नै त्यसको सांस्कृतिक महङ्खव र गरिमायुक्त हुनसक्छ । आज हिजोको जस्तो कुनै प्रकारको बन्धनमा कोही छैन । कानुनले सबैलाई समान हक प्रदान गरेको छ । अपवाद बाहेक आधारभूत आवश्यकता सबैका पूरा गरेको छ, गर्ने क्रममा राज्यको नीति छ । प्रजातन्त्र पुनःस्थापित भएपछिका विभिन्न चरणमा परिवर्तनका उपलब्धिले सबैलाई सम्मानित नागरिक समृद्ध नेपालको सपना बुनेको छ । समानुपातिक प्रतिनिधित्व गराउँदै समावेशी राज्यको अवधारणाभित्र माघीमिलन वा माघी महोत्सवले सबैमा सद्भाव र बन्धुत्वको भावनामा बाँध्नेछ । माघेसङ्क्रान्तिको सबैमा हार्दिक शुभकामना ।
