Goraksha

National Daily

‘युवा विद्यार्थीलाई देशमै बस्ने वातावरण बनाउनुपर्छ’

गोरक्ष समाचारदाता
दाङ, २८ पुस । पुस । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले विद्यार्थीलाई स्वदेशमै बस्ने वातावरण तयार पार्न आग्रह गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी दाङको शनिवार घोराहीमा भवन उद्घाटन गर्दै महासचिव पोख्रेलले देशमा गणतन्त्र स्थापना गर्न शिक्षकको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।

विद्यार्थीलाई नेपालमै केही गरौँ भन्ने भावना विकास गर्न शिक्षक नै अग्रसर हुनुपर्ने भन्दै महासचिव पोख्रेलले विदेश जाने युवा जनशक्तिलाई स्वदेशमै रोक्नुपर्ने बताए । शिक्षक संगठन दाङका अध्यक्ष मीनराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव पोख्रेलले गरिब मुलुकले उत्पादन गरेको शैक्षिक जनशक्ति सम्पन्न मुलुकले प्रयोग गरेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका पोख्रेलले देश बनेन भन्ने गलत भाष्यलाई चिर्न समाजमा शिक्षकको भूमिका महत्वपूर्ण रहने भएकाले देशमा भएका सकारात्मक कुरा विद्यार्थीलाई पढाउनुपर्ने बताए । ‘अहिले देशमा केही भएन भन्दै विदेश जाने क्रम बढेको छ । यो राम्रो होइन, यसरी देश पनि बन्दैन’, महासचिव पोख्रेलले भने, ‘देश बनाउन युवा जनशक्ति स्वदेशमै बस्ने बातावरण बनाउनुपर्छ ।’

एमाले–कांग्रेस गठबन्धनको सरकार बनेपछि देशमा धेरै सकारात्मक काम भएको भन्दै उनले विगतमा भएका नराम्रा कुरालाई मात्र लिन नहुने बताएका हुन् । केही पार्टीका नेता राम्रा कुरा जनतालाई भन्नेभन्दा नराम्रा कुरा भन्ने र सरकारबारे भ्रम सिर्जना गर्ने काम गरेको भन्दै महासचिव पोख्रेलले जनतालाई भ्रममा नपर्न आग्रह गरेका थिए ।

संविधानले शिक्षालाई राज्यको दायित्वभित्र समावेश गर्दै विद्यालय शिक्षा निःशुल्क हुने व्यवस्था गर्नुपर्ने भन्ने प्रश्नको जवफा दिँदै महासचिव पोख्रेलले राज्य साधनस्रोतले सम्पन्न हुँदै गएमा मात्रै संविधानमा उल्लेख भएबमोजिम हुने भएकाले आजका दिनमा निजी विद्यालयको अस्तित्वलाई स्वीकार्दै समाजवादको दिशामा अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए ।

कार्यक्रममा संगठनका लुम्बिनी प्रदेश अध्यक्ष एवम् दाङ जिल्ला इञ्चार्ज भागवत पौडेलले प्रस्तावित शिक्षा विधेयकमा समेटिनुपर्ने शिक्षकका सरोकारका विषयमा तयार पारिएको प्रतिवेदन पेस गरेका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका उपाध्यक्ष जितबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव धनिराम केसीले गरेका थिए ।