गोरक्ष समाचारदाता
तुलसीपुर, २७ पुस । नेपाल नेत्रज्योति संघले लमही आँखा अस्पताललाई नेत्रज्योति सम्मान पुरस्कारबाट सम्मान गरेको छ । नेपाल नेत्रज्योति संघको २९औँ अधिवेशनमा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित अस्पतालले नेपालको अन्धोपन निवारण गर्ने अभियानमा लमही आँखा अस्पतालले पु¥याएको महत्वपूर्ण योगदानको उच्च मूल्याङ्कन गर्दै नेत्रज्योति सम्मान पुरस्कारबाट सम्मानित गरिएको हो ।
नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित लमही आँखा अस्पतालमा नाक, कान, घाँटीको विशेषज्ञ सेवा प्रदान गर्ने पहिलो अस्पताल भएको भन्दै सो अवसरमा अस्पतालाई सम्मान गरिएको संघका महासचिव भरत चन्दले बताएका थिए । नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तको सभापतित्व एवम् उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता एवम् स्वास्थ्य तथा जनसङ्ख्य मन्त्री प्रदीप पौडेलको विशिष्ट आतिथ्यतामा भएको अधिवेशनमा प्रमुख अतिथि सिंह र विशिष्ट अतिथि पौडेलले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीलाई दोसल्लासहित अस्पताल व्यवस्थापन समिति, प्रशासक र नेत्रविशेषज्ञसहितको उपस्थितिमा पुरस्कार प्रदान गरेका थिए ।
यसैगरी राप्ती आँखा अस्पतालमा कार्यरत मेसु डा. सन्तोष सुवेदी नेत्रज्योति निकोल ग्रासेट पुरस्कारबाट पुरस्कृत तथा समानित भएका छन् । उनलाई स्वास्थ्य तथा जनसङ्ख्य मन्त्री प्रदीप पौडेले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । नेत्रज्योति संघले अन्धोपन न्यूनीकरणमा स्थानीय सरकारबाट महत्वपूर्ण सहयोग र भूमिका खेलेको भन्दै लमही नगरपालिका, गढवा गाउँपालिका गुर्भाकोट नगरपालिका सुर्खेतलाई सम्मान गरेको छ । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेल, उपाध्यक्ष शारदा चौधरी र गुर्भाकोट नगरपालिका सुर्खेतका नगर प्रमुख हस्त पुनलाई मन्त्री द्वयले सम्मानपत्र प्रदान गरेका थिए । लमही नगरपालिका, गढवा गाउँपालिकाले लमही आँखा अस्पताललाई विभिन्न समयमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया, साझेदारी कार्यक्रम र विभिन्न भौतिक निर्माणमा सहयोग गर्दै अन्धोपन न्यूनीकरणमा अहम भूमिका खेलेको भन्दै सम्मान गरेको प्रमुख प्रशासक डा. सम्शेर थापाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल नेत्रज्योति संघले अन्धोपन न्यूनीकरणमा पुण्य कार्य गरेको भन्दै सरकार तथा आफूहरूको मन्त्रालयबाट हुने सबै सहयोग गर्ने बताए । उनले नेपालमा दृष्टिविहीनता न्यूनीकरण गर्न संघ अन्तर्गत सञ्चालित अस्पतालले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । उनले यसमा काम गर्ने समाजसेवीलाई पुण्य कार्यमा लागेको भन्दै धन्यवाद समेत दिए । स्वास्थ्य तथा जनसङ्ख्य मन्त्री प्रदीप पौडेलले संघद्वारा सञ्चालित अस्पतालले दिएको सेवा गुणस्तरीय प्रभावकारी भएको भन्दै प्रशंसा गरे । उनले चस्मा तथा उपकरण खरिदका लागि सरकारले दिने र सरकारबाट हुनसक्ने सहुलियतका लागि दुवै पक्षबिच आपसी सम्झौता अनुसार छुट दिने व्यवस्था मिलाउने बताए । उनले सरकारको तर्फबाट नेत्रविशेषज्ञ डाक्टर उपलब्ध गराउन छिटै पहल गर्ने बताए । ‘आज दुवै पक्षबिच सम्झौता गर्ने कायक्रम थियो तर त्यो हुन सकेन, हाम्रो तयारी पूरा भएन अब छिटै त्यसले पूर्णता पाउनेछ’, स्वस्थ्य मन्त्री पौडेलले भने ।
कार्यक्रममा बोल्दै लमही नगरपालिका प्रमुख जोगराज चौधरीले दाङमा नेत्रज्योति संघ अन्तर्गत सञ्चालित अस्पतालको गुणस्तरीय सेवा दिएको भन्दै आगामी दिनमा पनि आफूहरूबाट हुने सवै सहयोग हुने बताए । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेले सरकारले गर्नुपर्ने काम संघका अस्पतालले गरेको भन्दै आफूहरूले त्यसमा सहयोग गरेको बताए । उनले आगामी दिनमा आँखा स्वास्थ्य सेवा र भौतिक विकास सबैमा सहयोग गर्ने बताए । उनले सरकारले अस्पतालहरूको विकास र विस्तारमा सहयोग गर्नुपर्ने बताए ।
यसैगरी गुर्भाकोट नगरपालिका सुर्खेतका नगर प्रमुख हस्त पुनले स्थानीय पालिकाले आँखा स्वस्थ्य सेवाका लागि विभिन्न सहयोग गरिरहेको भन्दै सहयोगलाई निरन्तरता दिँदै त्यहाँ रहेको आँखा सर्जिकल सेन्टरलाई अस्पतालका रूपमा विकास गर्न सहयोग गर्ने बताए । गुर्भाकोट नगरपालिका सुर्खेतको महेलकुटामा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको प्राविधिक सहयोगमा हाल गुर्भाकोट आँखा उपचार तथा सर्जिकल सेन्टरमा विभिन्न समयमा आँखाको शल्यक्रिया हुँदै आएको छ भने त्यसको प्राविधिक व्यवस्थापन राप्ती आँखा अस्पतालले गर्दै आएको छ । नेपाल नेत्रज्योति संघको २९औँ अधिवेशनमा एनएबीपी नर्वेलगायत विभिन्न दातृ निकाय व्यक्ति कर्मचारी, संघसंस्था र प्रदेश सरकारलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।