भरत विश्वकर्मा
रोल्पा,२६ पुस । रोल्पाको त्रिवेणी गाउँपालिका–४ सिमपानीमा पिकअप जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर चालकको मृत्यु भएको छ भने गाडीमा सवार अन्य तीन जनाको अवस्था गम्भीर घाइते भएका छन् ।
रोल्पाको जुंगारदेखि दाङ आउँदै गरेको पिकअप गाडी माडी गाउँपालिका–१ पाटीखोलादेखि सुन्तला लोड गरी नेपालगंजतर्फ जाँदै गरेको लु १ च ८६८७ नम्बरको पिकअप जीप अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरीका अनुसार गाडी सडकबाट करिव २०÷२५ मिटर तल खोलामा खसेको छ ।
दुर्घटनामा परेर सवारी चालक माडी गाउँपालिका–१ भित्ताबाङ बस्ने २० वर्षीय हुकुम घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक शाहीका अनुसार घाइते हुनेहरूमा गाडीमा सवार त्रिवेणी गाउँपालिका–४ चर्की बस्नेत, १४ बर्षीया दिलमाया घर्ती मगर, १२ बर्षीया सरिता घर्तीमगर र नुवागाउँ निवासी ११ बर्षीया करुणा बाठामगरको अवस्था गम्भीर रहेको छ । रोल्पामा सामान्य उपचार गरि थप उपचारका लागि घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।