गोरक्ष समाचारदाता
सिसहनिया, २६ पुस । राप्ती गाउँपालिका–५ कालापानी सिसहनियामा विहीवारदेखि दोस्रो औद्योगिक तथा कृषि व्यापार महोत्सव २०८१ को सुरु भएको छ । सिसहनिया उद्योग वाणिज्य संघको आयोजनामा राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित राप्ती आधारभूत अस्पतालको पूर्वी भागमा महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले गरेका हुन् ।
महोत्सव उद्घाटन गर्दै मन्त्री न्यौपाने बढ्दो बिदेसिने युवालाई रोक्न तीन तहकै सरकारले तालिमको व्यवस्था गरी रोजगार सिर्जना गर्न आवश्यक रहेको बताए । मन्त्री न्यौपानेले यस क्षेत्रको कृषि, पर्यटन तथा संस्कृति संरक्षणमा महोत्सवले थप टेवा पुग्ने बताए । संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा दाङ जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, राप्ती गाउँपालिका उपाध्यक्ष कमलापती चौधरी, राप्ती गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष गेमे खड्का, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष बालकृष्ण सुवेदी, राप्ती उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा उद्योगपति जगतप्रसाद, सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोदकुमार गुप्तालगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संघका उपाध्यक्ष युवराज सेन ठकुरीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण संघका बरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले गरेका थिए । यसैबिच महोत्सवमा माघ ३ देखि ५ गते राप्ती गाउँपालिका वडा नं. ९ देवीकोट वा वडा नं. ५ करङ्गेकोटबाट प्याराग्लाइडिङ उडाएर महोत्सव स्थलसम्म ल्यान्डिङ गराउने गरी तयारी भएको संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकीले बताए । प्याराग्लाइडिङले दर्शकलाई थप आकर्षित गर्ने र पर्यटकीय क्षेत्रको अवलोकन तथा मनोरञ्जनमा थप टेवा पुग्ने अपेक्षा लगिएको छ । महोत्सवबाट दुई करोड बराबरको कारोवार गर्ने र दुई लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको छ । १२ दिनसम्म चल्ने महोत्सवमा आर्थिक, सामाजिक, सांस्कृतिक, कृषि, उर्जा एवम् पर्यटनलगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ ।
यसैगरी प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै सम्भावना बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध सांस्कृतिक तथा धार्मिक धरोहरको प्रवर्धन र प्रचारप्रसार गर्ने, थारू तथा मगर समुदायको खाना प्रदर्शनीमा राखिने बताइएको छ । महोत्सवमा हस्तकलाका प्रदर्शनी, कृषि प्रदर्शनी, नेपालको दोस्रो लामो पुल, खौराह ताल, भद्राक्षीदेवी मन्दिर अवलोकनलगायत अन्य थुप्रै महोत्सवका मुख्य आकर्षणका केन्द्र रहनेछन् । महोत्सव अवधिभर ख्यातिप्राप्त केन्द्रीय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारको प्रस्तुति रहने उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अधिकारीले जानकारी दिए ।
महोत्सवमा एक सय ५० बढी स्टल रहेका छन् । तीमध्ये १२ वटा स्टल कृषि तथा हस्तकलाका स्टल रहेका छन् भने स्थानीय व्यापारीलाई ५० प्रतिशत छुट दिने बताइएको छ । महोत्सव अवधिभर सर्वसाधारणका लागि टिकट दर १०० र विद्यार्थीको हकमा परिचयपत्रका आधारमा ८०, भिआइपी कार्ड बनाउन चाहेमा पाँच सय तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको मेला व्यवस्थापक हिरा हमालले जानकारी दिए ।