अमरराज आचार्य
दाङ, २६ पुस । जिल्लामा सिमेन्ट उद्योगले सिन्डिकेट लागु गर्दा करिब एक महिनामा प्रतिबोरा दुई सय रुपैयाँभन्दा बढी बृद्धि भएको छ । सिमेन्टको मूल्य वृद्धिसँगै बजारमा सिमेन्ट नपाउने समस्या भएको छ । ‘सिमेन्टको मूल्य केही दिन यता दैनिक वृद्धि भएको छ’, घोराहीमा घर निर्माण गर्दै आएका उपभोक्ता तेजमान घर्तीले भने, ‘मूल्य वृद्धिसँगै चाहिएको बेला सिमेन्ट नपाउने समस्या छ तर यता राज्यको नजर गएको छैन ।’ उनका अनुसार मङ्सिरको पहिला साता प्रतिबोरा चार सय २५ रुपैयाँमा पाइने सिमेन्ट अहिले छ सय ६० रुपैयाँ पुगिसकेको बताए । महिनामै दुई सय बढीले वृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् ।
‘मूल्य वृद्धिसँगै भनेको समयमा सिमेन्ट नपाउँदा काममा ढिलाइ भइरहेको छ’, उनले भने, ‘जिल्लामा यति धेरै सिमेन्ट उद्योग छन् तर भनेको बेला सिमेन्ट नपाउन सकेका छैनौँ ।’ घरको काम गर्न थालिएको र सिमेन्ट नपाउँदा कामा ढिलाइ भएको उनले बताए । सिमेन्ट उद्योगले उत्पादन घटाएका कारण सिमेन्टको उपलब्धतामा समस्या भएको घोराही हार्डवेयर व्यवसायी समितिका अध्यक्ष दामोदर केसी बताउँछन् । ‘उद्योगहरूले विभिन्न बहाना बनाएर उत्पादन घटाएका छन् भने मूल्य वृद्धि गरेका छन्’, उनले भने, ‘यसबारे सरकारी निकाय भने मौन देखिन्छन् ।’
उद्योगले मूल्य वृद्धि गरेको र समयमा सिमेन्ट नदिएको भनेर सम्बन्धित निकायमा जानकारी गराउँदा कुनै सुनुवाइ नभएको उनले बताए । ‘हामीले पटकपटक जानकारी गराउँदा पनि राज्यको निकायबाट कुनै सुनुवाइ हुनसकेको छैन’, उनले भने, ‘राज्यले ध्यान नदिँदा यसको मारमा नागरिकमा परेका छन् ।’ अहिले व्यवसायीले माग गरेको समयमा उद्योगले सिमेन्ट नदिने गरेको उनको भनाइ छ । ‘हामीले माग गरेको समयमा सिमेन्ट उद्योगबाट पाउँदैनौँ’, उनले भने, ‘पैसा बुझाएको करिब एक हप्ता दिनपछि मात्र सिमेन्ट पाउने गरेका छौँ ।’
पछिल्लो केही दिनयता जिल्लामा सिमेन्ट सहज रूपमा पाउन नसक्दा विकास निर्माणका काममा प्रभाव परेको दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रवीण भण्डारी बताउँछन् । सिमेन्ट नपाउँदा काममा समस्या भएको भन्दै उनले भने, ‘समेन्ट उद्योगले सिन्डिकेट गराउँदा समस्या भएको छ ।’ विभिन्न समस्या भोग्दै आएका निर्माण व्यवसायीलाई सिमेन्ट सहज रूपमा नपाउने र मूल्य वृद्धिले थप समस्या भएको छ । ‘सिमेन्टको मूल्य वृद्धि हुँदा काम गर्न नसक्ने अवस्था भएको छ, करिब एक महिना अघि चार सय २५ रुपैयाँमा पाइने सिमेन्ट अहिले छ सय ६० रुपैयाँ तिर्नुपरेको छ, कसरी काम गर्न सकिन्छ’, अध्यक्ष भण्डारीले भने, ‘तर राज्यले मूल्य वृद्धि र सिमेन्टको सहज उपलब्धतामा ध्यान दिनसकेको छैन ।’
अहिले बजारमा सिमेन्टको अभाव सिर्जनाजस्तै भएको उनले बताए । सिमेन्ट मात्र नभई सबै स्थानमा सहज रूपमा विकास निर्माणमा आवश्यक पर्ने सामग्री नदीजन्य पदार्थको ठेक्का सम्झौता हुन नसकेकाले समस्या भएको उनी बताउँछन् । काम गर्ने स्थान नजिकै सामग्री पाउँदा सहज हुने अध्यक्ष भण्डारीले बताए । ‘टाढाबाट ल्याउँदा मूल्य पनि बढी पर्ने र ल्याउँदा धेरै समस्या भोग्नुर्ने हुन्छ’, उनले भने । उनका अनुसार नदीजन्य वस्तु पाउन नसक्दा अहिले साना ठुला आयोजना प्रभावित भएका छन् ।
सिमेन्ट उद्योगले मूल्य वृद्धि गरेको र उत्पादन घटाएको विषयमा सिमेन्ट उद्योगका प्रतिनिधि भने बोल्न मान्दैनन् । जिल्ला प्रशासन कार्यालय दाङले सिमेन्टको मूल्य वृद्धिको गुनासो प्राप्त भएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सिमेन्टको मूल्य वृद्धिबारे गुनासो आएको बताए । ‘नागरिकबाट गुनासो आएको छ, गुनासो बुझ्ने तयारीमा छौँ’, प्रमुख जिल्ला अधिकारी लम्सालले भने, ‘यस प्रकारको समस्या देशभरि नै छ वा स्थानीय स्तरको मात्र हो त्यो पहिचान गरेर कानुनविपरीत भए कारबाही गर्ने छौँ ।’ सिमेन्ट उद्योगका उद्योगी, व्यवसायी, अधिकारकर्मी, सरोकारवाला सबैसँग यसबारे छलफल गरेर समस्याको समाधान गरिने उनले बताए । छलफलका लागि सरोकारवालाहरूलाई आगामी आइतबार बोलाएको भन्दै प्रमुख जिल्ला अधिकारी लम्सालले भने, ‘आइतवार सरोकारवालासँगको छलफलपछि समस्याको समाधानको बाटो पहिल्याउने छौँ ।’