गोरक्ष समाचारदाता
दाङ, २५ पुस । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले समय सापेक्ष शिक्षा आवश्यक रहेको बताएका छन् । प्याब्सन दाङको ३४औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रम उद्घाटन गर्दै उनले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षा विद्यार्थीलाई दिनुपर्ने बताएका हुन् ।
‘पछिल्लो समयको प्रविधिको प्रयोग गर्दै विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता हो’, मन्त्री न्यौपानेले भने । शिक्षामा सुधार ल्याउन निजी तथा सामुदायिक विद्यालयलाइ सँगसँगै अगाडि बढाउनुपर्ने उनले बताए । ‘सामुदायिक र संस्थागत विद्यालयबिच रहेको विभेद चिरेर एक आपसमा सहकार्य गर्दै शिक्षामा सुधार ल्याउनुपर्छ’, मन्त्री न्यौपानेले भने । निजी क्षेत्रमा भएका राम्रा काम सामुदायिक विद्यालयलाई सिकाए सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा सुधारमा सहयोग पुग्ने उनले बताए ।
‘सामुदायिक विद्यालय सुधार गर्न सके विद्यार्थी सङ्ख्या बढाउन सकिनेछ’, उनले भने, ‘अहिले सामुदायिक विद्यालय मर्ज गर्नुपर्ने अवस्थामा पुगेका छन्, यसलाई रोक्न शैक्षिक सुधारमा लाग्नुपर्छ ।’ उनले राज्यले निजी विद्यालयलाई पनि हर तरहले सहयोग गरेर शैक्षिक कार्यक्रम चलाउनुपर्ने बताए । निजी विद्यालयमा अध्यापन गर्ने शिक्षकहरूलाई पनि तालिम तथा राज्यले अन्य सेवा दिनुपर्ने उनले बताए ।
देश विकास र समृद्धिका लागि समय सुहाउँदो व्यावहारिक शिक्षा प्रणाली आवश्यक रहेको बताउँदै न्यौपानेले अध्ययन गरिसकेपछि विद्यार्थीलाई बेरोजगार बस्न नपर्ने शिक्षाको आवश्यक रहेको बताए । अहिलेको शिक्षा नीतिलाई परिवर्तन गर्न आवश्यक रहेको भन्दै मन्त्री न्यौपानेले भने, ‘पुरानो शिक्षा प्रणालीबाट देश विकास र समृद्धि हुन सक्दैन । समय सुहाउँदो, अध्ययन गरेपछि आफ्नै देशमा स्वरोजगार बन्ने शिक्षा प्रणाली आवश्यक छ ।’ देश सङ्घीय संरचनामा गएसँगै कक्षा १० कक्षासम्मको शिक्षालाई हेर्ने अधिकार स्थानीय तहलाई प्राप्त भएको भन्दै मन्त्री न्यौपानेले शिक्षाको सुधारका लागि स्थानीय तहसँगै प्रदेश र सङ्घीय सरकारले पहल थाल्नुपर्ने बताए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताले शिक्षामा महत्वपूर्ण योगदान दिएका निजी विद्यालयलाई हेर्ने दृष्ट्रिकोणमा परिवर्तन ल्याउन नसकेको बताएका थिए । कार्यक्रममा प्याब्सनका केन्द्रीय सचिव यादव गिरी, प्याब्सनका पूर्वअध्यक्ष नारायण अधिकारी, बरिष्ठ सल्लाहकार मधुसूदन केसीलगायतले भनाइ राखेका थिए । कार्यक्रम प्याब्सनका जिल्ला अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षतामा भएको थियो । बरिष्ठ उपाध्यक्ष वीरेन्द्र चन्दको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए । कार्यक्रममा नारायण अधिकारी, भीष्मबहादुर केसी, रेशम बुढालाई सम्मान गरिएको थियो । स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगिताका विजेतालाइ सम्मान गरिएको थियो ।
रक्षा बनिन् मेघाबी छात्रा
मेघाबी छात्रा २०८१ को उपाधि घोराही स्थित माउन्ट भ्यु इङ्लिश बोर्डिङ स्कुलकी छात्रा रक्षा शर्माले चुमेकी छिन् । पुस १३ गते सम्पन्न मेधावी छात्रा प्रतियोगिताको अन्तिम नतिजा बुधवार सार्वजनिक गरिएको थियो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजना, एपेक्स कम्प्युटर्स घोराहीको प्रायोजन तथा गोरक्ष राष्ट्रिय दैनिकको मिडिया पार्टनरसिपमा विगत १९ वर्षदेखि मेधावी छात्रा प्रतियोगितामा रक्षा शर्माले १९ओँँ मेधावी छात्रा उपाधि जितेकी हुन् ।
प्याब्सन दाङको ३४ओैँ स्थापना दिवसको अवसरमा मेधावी छात्राहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । यसैगरी उत्कृष्ट दोस्रोमा निरूता खनाल (जनज्योति विद्यामन्दिर, घोराही) र सलिना पौडेल (माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुल, घोराही), उत्कृष्ट तेस्रोमा प्रनिशा बोहरा (गोरखा मावि तुलसीपुर), उत्कृष्ट चौथोमा नियती चन्द (तुलसी बोर्डिङ स्कुल, तुलसीपुर), पाँचौँ स्थानमा सोनिया पौडेल (दीपशिखा आवासीय मावि, घोराही), उत्कृष्ट छैठौँ स्थानमा एञ्जुला बस्नेत (तुलसी बोर्डिङ स्कुल, तुलसीपुर), उत्कृष्ट सातौँमा प्रज्ञा डाँगी (गोरखा मावि तुलसीपुर), उत्कृष्ट आठौँमा हेल्दिता चौधरी (सिद्धार्थ एकेडेमी घोराही) र जेसिका शर्मा (सनलाइट मोडर्न इङलिस स्कुल, लमही) रहेका छन् ।