गोरक्ष समाचारदाता
दाङ, २५ पुस । प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आज (विहीवार)देखि देउखुरीको लमहीमा हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा पुस २५ देखि २९ गतेसम्म दाङको लमही स्थित देउखुरी क्रिकेट रङ्गशालामा लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागितामा टी–२० छनोट प्रतियोगिता हुन लागेको हो ।
दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताको उद्घाटन खेलमा पुस २५ गते बिहान दाङ र पाल्पाबिच प्रतिस्पर्धा हुने लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव एवम् छनोट प्रतियोगिता संयोजक कैलाश रोका मगरले जानकारी दिएका छन् । उनका अनुसार उक्त दिन दिउँसो नवलपरासी र बर्दियाबिच खेल हुनेछ । पुस २६ गते बाँके र पाल्पाबिच खेल हुने छ भने दिउँसो नवलपरासी र रुपन्देहीबिच खेल तय भएको आयोजकले जनाएको छ ।
यसैगरी पुस २७ गते दाङ र बाँकेबिच बिहान खेल हुँदा दिउँसो रुपन्देही र बर्दियाबिच खेल हुने सचिव रोका मगरले बताए । उनका अनुसार पुस २८ गते समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताबिच बिहान पहिलो सेमिफाइनल खेल हुनेछ भने दिउँसो समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेताबिच दोस्रो सेमिफाइनल खेल हुनेछ ।
छनोट प्रतियोगिताको फाइनल खेल पुस २९ गते हुने भएको छ । महिला क्रिकेट छनोट प्रतियोगितामा समूह ‘ए’ मा रुपन्देही, नवलपरासी र बर्दिया रहेका छन् भने समूह ‘बी’ मा दाङ, बाँके र पाल्पा रहेका छन् । प्रतियोगिताको मिति र तालिका सार्वजनिक भएसँगै क्रिकेट रङ्गशालामा तयारी तीव्र पारिएको छ । क्रिकेट मैदानको पिच मर्मतदेखि आवश्यक तयारी तीव्र पारिएको छ ।
क्यानको क्यालेन्डर अनुसार प्रदेश क्रिकेट संघले आयोजना गर्न लागेको छनोट प्रतियोगितामा प्राविधिक सहयोग दाङ क्रिकेट संघले गर्नेछ । छनोट प्रतियोगिताका लागि दाङ क्रिकेट संघले केही दिन अघि सरस्वती जिएमको कप्तानीमा जिल्लाको टिम घोषणा गरेको छ । लमहीमा हुने छनोट प्रतियोगिताबाट लुम्बिनी प्रदेशको टिम घोषणा हुनेछ ।