आत्महत्याका घटना बढ्दै गएपछि प्युठानका सरोकारवाला चिन्तित

मधुसूदन भण्डारी
प्युठान, २५ पुस । जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेहरू बढ्दै जान थालेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । प्युठानका नौवटै स्थानीय तहका प्रमुख तथा सरोकारवालासहितको छलफलले जिल्लामा बढ्दो आत्महत्या दरलाई न्यूनीकरणका लागि मनोरोगका कारण पहिचान, रोगीहरूको निदान र उपचारमा समयमै ध्यान दिनुपर्ने निष्कर्ष निकालेका छन् ।

चालु आर्थिक वर्षको सुरुवातदेखि पुस २३ सम्म जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार जिल्लामा विभिन्न तवरबाट २९ जनाले आत्महत्या गरेका छन् । गत आर्थिक वर्षमा ७९ जनाले आत्महत्या गरेको प्रहरीसँग तथ्याङ्क छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केशव केसीले यो समस्या सामाजिक विकृतिको रूपमा देखिएको बताए । आत्महत्या न्यूनीकरणका सन्दर्भमा प्युठान नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा सरोकारवालाबिच अन्तरक्रिया भएको थियो ।

जिल्ला प्रहरी कार्यालयले जिल्लामा आत्महत्याको अवस्थाबारे जानकारी गराएको थियो । काठमाडौं विश्वविद्यालयका चिकित्सकहरूले मनोरोगको कारण, लक्षण र उपचारबारे उठेका प्रश्नका जवाफ दिएका थिए । नगरपालिका नगर प्रमुख विष्णुबहादुर योगीले आत्महत्या न्यूनीकरण गर्न सरोकारवाला तथा अन्य सबै पक्ष सक्रिय हुनुपर्ने बताए । समुदायस्तरदेखि नीति निर्माणको तहसम्म साझा प्रयासले मात्र आत्महत्या न्यूनीकरणमा सफल भइने उनले बताए ।

आत्महत्या दर बढ्ने विकराल समस्या न्यूनीकरणका लागि समाज रूपान्तरण गर्न क्रियाशील सबै क्षेत्रले समाजको नकारात्मक पक्षलाई न्यूनीकरण गर्दै अगाडि बढ्नुपर्ने नगर प्रमुख योगीले बताएका थिए । यसैगरी माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले सबैको साझा प्रयासले हात्महत्या न्यूनीकरण गर्न सकिने बताएका थिए ।

यसैगरी प्रमुख जिल्ला अधिकारी रमा आचार्यले समुदाय स्तरबाटै प्रयास गरे आत्महत्या न्यूनीकरण प्रभावकारी हुने बताएकी थिइन् । नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्रीराम भण्डारीले स्थानीय तहका कार्यक्रममा सरोकारवाला सबैसँग सहकार्य बढाए त्यसको प्रभावकारिता बढ्ने बताए ।

नेपाल सरकार गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालय मानसिक स्वास्थ्य केन्द्रको समझदारी बमोजिम यो कार्यक्रमको आयोजना गरिएको प्युठान नगरपालिका उपप्रमु देवेन्द्र बर्माले बताए । कार्यक्रममा स्वास्थ्य केन्द्रका चिकित्सक डा. रीका रिजाल र डा.जया शिल्पकारले मानसिक रोगका कारण, निदान र उपचारबारे अवधारणा राखेका थिए । नगर प्रमुख योगीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख धरमबहादुरी जिसी रहेका थिए ।