गोरक्ष समाचारदाता
दंगीशरण, २५ पुस । सामाजिक उद्यमी महिला सहकारी संस्था लिले आफ्नो प्रथम साधारणसभा दंगीशरण–३ को हेकुलीमा सम्पन्न गरेको छ । सहकारी संस्थाका अध्यक्ष नमुना लामिछानेको अध्यक्षता दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको विशिष्ट आतिथ्यतामा भएको हो ।
प्रथम साधारणसभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गिरीले दंगीशरण गाउँपालिका कृषि र उद्यमको लागि सम्भावना बोकेको गाउँपालिका रहेकाले दंगीशरण सामाजिक उद्यमी महिला सहकारी स्थापना गरेको बताए । दंगीशरण गाउँपालिकाले महिलाको सिप विकासका लागि विभिन्न किसिमका तालिम समेत प्रदान गर्दै आएको बताए । स्थानीय स्तरमा उत्पादित वस्तुबाट समूह तथा महिलाको आयआर्जनमा समेत टेवा पु¥याउने कार्यक्रम अगाडि बढाएको बताए । अध्यक्ष गिरीले कृषिमा आधारित गाउँपालिका रहेकाले अब छिटै ५३ लाख बराबरको कृषि यन्त्रिकीकरणका सामग्री वितरण गर्ने तयारीमा रहेको जानकारी दिए ।
गाउँपालिका उपाध्यक्ष खड्काले महिला बेरोजगार भएर बस्न नहुने बताइन् । उनले महिला उद्यमी बन्नुपर्ने र आर्थिक उपार्जनमा बलियो हुनुपर्ने उबताइन् । गाउँपालिकाले महिलाको सिप विकाससँगै हरेक क्षेत्रमा महिलालाई प्राथमिकतामा राखी अगाडि बढेको बताइन् । छरिएर रहेका महिला दिदीबहिनीलाइ समूहमा समेटेर अगाडि बढ्दा महिलाको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने उनको भनाइ छ ।
सहकारी संस्थाले शेयर रकम छ लाख ४७ हजार पाँच सय रुपैयाँ, बचत सङ्कलन पाच लाख ७८ हजार चार सय २१ रुपैयाँ, जम्मा ऋण लगानी आठ लाख ४० हजार रुपैयाँ, लगानीमा रहिरहेको सात लाख ९५ हजार रुपैयाँ रहेको संस्थाका कोषाध्यक्ष भारती योगीले जानकारी दिइन् । सहकारीले तरकारी खेतीतर्फ एक लाख, बाख्रा पालनतर्फ पाँच लाख २५ हजार, भैँसी पालनतर्फ ५० हजार र लोकल कुखुरा पालनतर्फ एक लाख २० हजार रुपैयाँ लगानी गरेको उनले बताइन् । आर्थिक वर्ष २०८१÷०८२ मा शेयर सदस्य छ सय थप गरी १२ सय पु¥याउने, शेयर रकम आठ लाख ५३ हजार पाँच सय रुपैयाँ वृद्धि गरी १५ लाख पु¥याउने संस्थाको लक्ष्य रहेको छ ।
साधारणसभामा वडा नम्बर १ का वडाध्यक्ष रमेश भण्डारी, २ का वडाध्यक्ष डम्बर खत्री, ४ का वडाध्यक्ष कमल थारू, ७ का वडाध्यक्ष रेशम वली, महिला सामुदायिक सेवा केन्द्रका प्रतिनिधि नवराज अधिकारी, राष्ट्रिय सहकारी बैंक तुलसीपुरका प्रमुख पुष्पा क्षत्री, नेपाल कृषि सहकारी केन्द्रीय संघका लेखा समिति सदस्य चीरञ्जीवी केसी, दंगीशरण गाउँपालिका कृषि शाखा प्रमुख सरु भुसाल, सामाजिक उद्यमी महिला सञ्जाल नेपालका लुम्बिनी प्रदेश समिति सदस्य देविमाया थापा, कार्यपालिका सदस्य सितरा नेपाली, हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत शरद पोख्रेललगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
संस्थाको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष नमुना लामिछानेले प्रस्तुत गरेकी थिइन् । संस्थाकी सचिव रामकली चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण हेफर प्रोजेक्ट नेपालकी गाउँपालिका संयोजक गोमा भट्टराईले गरेकी थिइन् ।