calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

समाज रूपान्तरणको अभियानमा लाग्न पाउँदा …

करिब दुई दर्शक अघिदेखि उनी पत्रकारितामा क्रियाशील छन् । तुलसीपुर–८ अश्वारामा जन्मिएका ओपेन्द्र बस्नेतले अहिले सिंगो रेडियो प्रकृति एफएफ लगायत अनलाईन मिडिया र पत्रकार महासंघ दाङको उपाध्यक्ष पदमा समेत जिम्मेवारी समालेका छन् । ‘कर्म गर अर्काे आस नगर’ भन्ने जस्तै उनी सधै कर्ममा तलिन हुन्छन् । बिहान ६ बजेदेखि साँझसम्म उनी आवाज हिनको आवाज बनेर लाग्ने गरेका छन् । बस्नेतले जीवनको उकाली ओरालीहरूमा दुःखसँगै खुसीका पल पनि धेरै रहेको बताए ।

कुनै बेला सुशासन पारदर्शितामूलक, जनसहभागितामूलक, उत्तरदायी, वैधानिक, भ्रष्टाचार सहित शासन व्यवस्था बनाउका लागि गाउँ–गाउँमा असल शासन कल्वको अभियानमा लागेका बस्नेतले आफ्नो पहिलो खुसी जनभावना असल शासन क्लबको अध्यक्ष हुँदा लागको सुनाए । ‘सानैदेखि समाजमा केही गराँै भन्ने अग्रमणकारी सोच मनमा आइरहन्थ्यो तर म जस्ता भूँइ मान्छेले बोलेको कुरा कसले सुन्ने कसले पत्याउने ? तर समूदायमा रहेका विद्यालय, खानेपानी, सामुदायिक वन, सिँचाइ कुला, विकास निर्माणलगायतका हरेक क्षेत्रमा वेथिति थिए । त्ययसका विरुद्धमा म ठिङ्ग उभिन्न चाहन्थे’ उनले भने ।

तर एक्लै सम्भव थिएन । सम्पन्न परिवारका मान्छेहरूको मन समाजको चिन्ताभन्दा पनि धन पैसा कसरी आर्जन गर्न सकिन्छ भन्नेतर्फ हुन्थ्यो ।’ बस्नेतले एकखाले सभ्रान्त परिवारको बस उठ, फरक हुने गरेको र प्रायजसो समाजका अलि हुनेखाने वर्गका भनिने टाठाँबाँठा कुनै न कुनै नेतृत्व तहमा हुँदा आफ्नो मनभित्र भित्रै कुठित हुने गरेको भन्दै अहिले आफू पनि विभिन्न नेतृत्व तहमा पुग्दा खुसी लागेको सुनाए ।

‘संयोगले म पवन नगर खानेपानीको विषयमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा पुगे, त्यो कार्यक्रम शान्तिनगरको पातेटाकुरामा तारा सिंह विकले गठन गरेको प्रगतिशील असल शासन स्रोता क्लबले आयोजना गरेको रहेछ । त्यो कार्यक्रमबाट म अत्यन्तै प्रभावित भए । त्यसपछि त्यसका विषयमा गहिरो गरेर बुझे । ‘अनि मैले पनि क्लब गठन गरेर समाजमा भएका भ्रष्टाचार, ढिला, सुस्ती अनियमिता विरुद्धको अभियानमा लाग्ने प्रण गरे’ बस्नेतले भने ।

२०६१ साल असार ५ गते अश्वाराका युवाहरू मिलेर जनभावना असल शासन क्लब गठन गरेको र त्यसपछि कामले तिब्रता पाउन थालेको बताए । क्लबले पहिलो एजेण्ड २०४३ सालमा विस्तार गरिएको तर अस्तव्यस्त रहेको खानेपानी आयोजनालाई बनाएको उनले सम्झिए । लगत्तै क्लबको अगुवाईमा स्थानीय नरेसबहादुर सिंह (सेन) को नेतृत्वमा अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको तदर्थ समिति गठन गरेर काम अघि बढेको र उक्त समितिले विधान दर्ता गर्नेदेखि लिएर खानेपानीलाई व्यवस्थित गर्दै अघि बढेको बताए ।

आज खानेपानीका उपभोक्ताको सङ्ख्या झण्डै साढे छ सय पुगेको र कोषमा करिब २० लाख बचत रहेको बताए । ‘आज मेरो खुसी स्तम्भ खुसी साट्दै गर्दा त्यसको सचिव भएर काम गरिरहेको छु म यसैमा खुसी छु’ बस्नेतले भने । युवाहरूको सक्रियतामा गाउँमा एकखालको जागरण नै ल्याउन सफल भएको बताए । सामुदायिक वन, खानेपानी, विद्यालय र सिँचाइ कुला, विभिन्न विकास निर्माणका उपभोक्ता समितिभित्र भइरहेका भ्रष्टचार, ढिलासुस्ती, अनियमितताका विरुद्धमा सार्वजनिक सुनुवाईमार्फत् खबरदारी गर्दै अघि बढ्र्दै जाँदा त्यसले समाजमा क्लब प्रतिको आकर्षण बढ्दै गएको उनले विगतलाई सम्झिए ।

सुरुवाती चरणमा गाउँघरमा भ्रष्टाचारको शब्द नसुनेकाका गाउँबासीको जनजीब्रोमा भ्रष्टाचार भन्ने शब्द झुण्डिन थाल्यो । ‘गाउँमा निःशुल्क आँखा शिविर, ४ निःशुल्क स्वास्थ्य शिविर, विभिन्न भ्रष्टाचार विरोधी सचेतनामूलक तालिम, भ्रष्टाचार विरोधी खबरदारी सभा, ¥यालीलगायतका हरेक काममा अघि बढदै गयो’ उनले भने ।

क्लबको गतिविधिका कारण समाजको हरेक विकासका लागि आवश्यक पर्ने उपभोक्ता समिति गठन हुँदा र गर्दा त्यहाँ बस्ने व्यक्तिले एकपटक राम्रोसँग सोचेर मात्रै काम गर्ने अवस्थाको विकास हुन थालेको भन्दै खुुसी व्यक्त गरे । यसअघि प्रशासकको रूपमा प्रस्तुत हुने सार्वजनिक पद धारण गरेका व्यक्तिहरू नागरिकप्रति जवाफदेही हुन थालेको भन्दै जनताले पनि चित्त नबुझेको कुरामा प्रश्न सोध्ने विकासको थालनी भएकोमा खुसी व्यक्त गरे । जसले समाजमा सकारात्मक परिवर्तन ल्याएको उनी बताउँछन् ।

क्लबको नेतृत्वमै रहदा पत्रकारिता क्षेत्रमा प्रवेश गरेका बस्नेत सामुदायिक वन, खानेपानी, सिँचाइ लगायतका विभिन्न दर्जनौँ सामुदायिक सङ्गठनको सफल नेतृत्व गरेको भन्दै खुसी व्यक्त गरे । स्कुले जीवनमा पनि कक्षा ८ मा पढ्दै गर्दा अनेरास्वीयुको प्रारम्भिक कमिटीको अध्यक्ष भएर विद्यार्थी हकहितमा काम गरेको भन्दै खुसी व्यक्त गरे ।

एसएलसीको परीक्षा दिने वित्तिकै खाली सिप विकास तालिमा केन्द्रमा ६ महिना इलोक्ट्रोनिक्स तालिम सिकेर गाउँमै रेडियो, टेप, वाकमेन, टिभी बनाउनतिर लागेको भन्दै गाउँ समाजमा हुने गरेका वेथिति कसरी सुधार्ने होला भन्नेतर्फ गएसँगै पत्रकारितामा आफू तलिन भएको भन्दै उनले खुसी व्यक्त गरे । समाजमा हुने सामाजिक काम होस् वा दुःखमा परेकाहरूलाई आफूले समाजमा सक्दो सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । त्यस्तै बस्नेतले दाङको घोराहीमा रहेको रेडियो मध्यपश्चिम एफएमबाट पत्रकारिता क्षेत्रको आरम्भ गरेको भन्दै तुलसीपुर उपमहानगरपालिका पूर्व मेयर घनश्याम पाण्डेको प्रेस सल्लाहकारदेखि रेडियो नेपाल, नेपाल एफएम, राजधानी दैनिक, नयाँ युगबोध, रातोपार्टी समेत काम गरेको अनुभव रहेको भन्दै खुसी व्यक्त गरे ।

२०६७ सालदेखि रेडियो प्रकृति एफएममा सहसम्पादको भूमिका प्रवेश गरेको सम्झँदै सम्पादक हुँदै अहिले रेडियोको स्टेशन म्यानेजरका रूपमा कार्यरत हुँदा खुसी लागेको सुनाए । पत्रकारिताको सङ्गठनका दृष्टिकोणले हाल नेपाल पत्रकार महासंघ दाङको उपाध्यक्ष र प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको कोषाध्यक्ष जस्तो जिम्मेवारी पाउँदा समेत खुसी लागेको सुनाए । बस्नेतले तत्कालिन समयमा नयाँ युगबोध राष्ट्रिय दैनिकका तुलसीपुर प्रमुख प्रबल रेग्मीले पत्रकारिता पेसामा जोडिएको भन्दै खुुसी व्यक्त गरे ।

त्यस्तै बस्नेतले नेपालमा मात्र होइन विदेशमा समेत पुगेर आफूले त्यहाँको विकासलाई प्रत्यक्ष नियाल्न पाउँदा पनि खुसी लागेको सुनाए । सानैदेखि समाज रूपान्तरणमा लागेको बस्नेतले आफूसँगका साथीहरूले धेरै धन कमाए पनि उनले धनभन्दा पनि आफ्नो ठाउँमा बसेर कर्म गर्न पाउँदा निकै खुसी लागेको बताए ।

प्रस्तुति : बालाराम खड्का