calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

हरेक बचतकर्तालाई उत्पादनमा जोड्न चाहन्छौ : गन्यारी सहकारी अध्यक्ष चौधरी [अन्तर्वार्ता]

जमिन्दारको घरमा बालापनदेखि नै करिब ६ वर्ष कमलरी बसेर मुक्त भएकी तुलसीपुर उपमहानगरपालिका–१६ लक्ष्मी चौधरी अहिले गन्यारी कृषि सहकारी संस्था लि.मि अध्यक्ष हुन् । २०६४ सालमा कमलरी मुक्त भएपछि तीन महिना प्रौढ शिक्षा पढिन् र एकै पटक मानपुरस्थित दिपेन्द्र माविमा कक्षा ५ मा भर्ना भइन् । सोही विद्यालयबाट दश कक्षा पढ्दा पढ्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त दोलखाको जिरीस्थित जिरी प्राविधिक शिक्षालयबाट अनमि उत्तीर्ण गरिन् ।

प्राविधिक शिक्षा पढाइसकेपछि ६ महिनाको ओजेटि गर्न मानपुरको स्वास्थ्यचौकि आइन् । यद्धपि विभिन्न प्राविधिक कारणले उनको यो क्षेत्रमा जागिर खाने धोको पूरा भएन । त्यसपछि उनी मुक्त कमलरीलाई एकतृत गरेर गन्यारी कृषि सहकारीमा जोडिइन् । तुलसीपुर उपमहानगरपालिका १९ वटै वडाका बचतकर्ता रहेको यो सहकारीले कृषि उद्धमीलाई सहयोग गर्दै आएको छ । सहकारीमा हालसम्म कम्तिमा ४ सय ८४ छन् ।

२०६६ साल फागुनमा तुलसीपुर उपमहानगरपालिका बिजौरीमा स्थापना भएको गन्यारी कृषि संस्थाको वर्तमान अवस्था, भावि कार्ययोजना तथा सहकारीले महिला उद्धमिमा गरेको योगदानका विषयमा केन्द्रित रहेर संस्थाका अध्यक्ष लक्ष्मी चौधरीसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सारसंक्षेप ।

 स्वागत छ, तपाईलाई गोरक्ष सातावार्तामा ।

 धन्यवाद, तपाई अनि तपाईको लोकप्रिय गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई ।

 गन्यारी कृषि सहकारी संस्थाका विषयमा केही जानकारी गराइदिनुस् न ?

 २०६२÷२०६३ सालमा कमलरी मुक्ति अभियान चल्दै गर्दा मुक्त कमलरीको जीविकोपार्जन र उनीहरूलाई आयआर्जनमा लगाएर स–सानो रकम जम्मा गरेर उद्यमशिल बनाउन नेपाल युथ फाउण्डेशनको सहयोगमा यो संस्था दर्ता भएको हो । सुरुवातीका क्रममा फाउण्डेशनले सहकारी सञ्चालन प्रक्रियाका विषयमा सम्पूर्ण कुरा सिकाएपछि हामीले यो सहकारी स्थापना ग¥यौँ । दर्ता गर्नेबेला हामी जम्मा २५ जना मुक्त कमलरी थियौँ । त्यतिबेला हाम्रो उमेर बढिमा २० वर्षभन्दा कम उमेरका थियौँ । अर्थात हाम्रो त्योबेला सामान्य तया स्कुल जाने उमेर मात्रै थियो ।

हामीलाई त्योबेला सहकारी के हो भन्ने जानकारी समेत थिएन । पछि सिक्दै गएर यो सहकारीलाई यहाँसम्म ल्याएका छौँ । जुन संस्थाले हामीलाई सहकारीमा आवद्ध हुन उत्प्रेरित गरेको थियो । त्यसले मुक्त कमलरीलाई जेटिए, सिएमए, अनमी लगायतका प्राविधिक शिक्षामा जोड्न समेत सहयोग गरेको थियो । अहिले मुक्त कमलरी विकास मन्चमार्फत् घुम्ति कोष स्थापना गरेर तरकारी खेती, नास्ता तालिम, तरकारी खेती तालिम, किराना पसल सञ्चालन, सिलाई कटाइ, विभिन्न नेतृत्व विकासका तालिम, पत्रकारिता तालिम लगायतका विषयमा सहयोग गर्दै आएको छ ।

 तपाई कसरी यो सहकारीमा जोडिनुभो ?

 जब मुलुकभर मुक्त कमलरी अभियान चलिरहेको थियो, त्यही अभियानमा हामीहरू पनि कमलरीबाट मुक्त भयौँ । जब हामी मुक्त भयौँ, फेरि हामीलाई जमिनदारको घरमा कमलरी बस्न नपरोस् भनेर मुक्त कमलरीलाई आयआर्जनमा जोड्नु नितान्त आवश्यक थियो । त्यसको सहज माध्यम भनेकै सहकारिताको माध्यमबाट उद्यमशिलता थियो । यही कारण हामी आयआर्जन र जीविकोपार्जनका लागि यो सहकारीमा जोडिन पुग्यौँ । सहकारीमा जोडिएपछि मुक्त कमलरी पनि आयआर्जनमा लाग्न सक्छन् । सानो पूँजीबाट पनि उद्यमशिलताको विकास गर्न सकिन्छ भनेर हामीलाई सुरुमा नेपाल युथ फाउण्डेशनले पनि निकै हौसलाका साथ उत्प्रेरित गरेको थियो । आज सहकारीको माध्यमबाट हामीलाई यो स्थानमा ल्याउन युथ फाउण्डेशनको प्रमुख भूमिका रह्यो भन्न चाहन्छु ।

 अहिले यस सहकारीको माध्यमबाट बचतकर्ताले के कस्ता उद्यम गर्न सफल भएका छन् ?

 सुरुमा त यसमा आवद्ध मुक्त कमलरी हुनुहुन्छ, र त्यसपछि मुक्त कमलरीका परिवार पनि हुनुहुन्छ । अहिले उहाँहरूले यही सहकारीबाट ऋण लिएर कुखुरापालन, बंगुर पालन, व्यवसायिक तरकारी खेती, ग्रिल उद्योग, किराना पसल सञ्चालन लगायतका लघु उद्यम सञ्चालन गर्नुभएको छ । हामीले सहकारीमा आवद्ध बचतकर्तालाई बिना धितो एक लाख रुपैयाँसम्म वार्षिक साढे १४ प्रतिशत व्याजदरमा ऋण दिने गरेका छौँ । बचतका आधारमा ऋण दिने भएकाले अहिलेसम्म कुनै धिताको आवश्यकता पनि परेको छैन ।

जतिले संस्थाबाट ऋण लिनुभएको छ, सबैले आफ्नो दैनिक जीवनलाई सहज बनाउनु भएको हामीले पाएका छौँ । पछिल्लो समयमा हामीले सामूहिक रूपमा लोपोन्मुख अर्गानिक तिल्कि धान खेती, अर्गानिक तोरी उत्पादन गरिरहेका छौँ । यसमा विभिन्न निकायले आर्थिक एवम् प्राविधिक सहयोग पनि हामीलाई मिलिरहेको छ । स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिका—१८ तथा पर्यावरणिय दिगो विकास एवम् अनुसन्धान केन्द्र हेमन्तपुरले पनि हामीलाई सहयोग गर्दै आएको छ । यो संस्थाले व्यवसायिक कुखुरापालनका लागि पनि सहयोग गर्दै आएको छ ।

 महिलाले सहकारी चलाइरहँदा के कस्ता समस्या भोग्नुभो ?

 सुरुमा त हामीलाई निकै गाह्रो थियो, जुनबेला हामीले सहकारीमा आवद्ध भयौँ, त्योबेला हामी मुस्किलले अक्षर चिन्ने भएका थियौँ । चार खाता पोष्टिङ गर्ने बेला हामी क ख नै लेख्न नजान्ने थियौँ । त्यो बेला मुक्त कमलरी विकास मन्चको माध्यमबाट नेपाल युथ फाउण्डेशनका सर आएर हामीलाई खातापाता राख्न सिकाउनु भयो । अनि अर्को समस्या भनेको हामीलाई समूहमा बोल्न समेत सक्दैनथ्यौँ ।

समाउदा हात काप्ने अवस्था थियो । मन्चमा पुग्दा निर्धक्क बोल्न पनि सकिन्नथ्यो । जानेको र बोल्न चाहेको कुरा पनि प्रष्ट रूपमा भन्न सकिने अवस्था थिएन तर जब सबै जिम्मेवारी हामीले लिँदै गयौँ र सबैबाट यो विषयमा साथ र सहयोग एवम् हौसला पनि प्रदान भयो, त्यसपछि हामी सहजरूपमा सहकारीको अभ्यास गर्न सक्यौँ । अहिले हामीलाई कार्यत्रलम चलाउने महिला बाहिरबाट खोज्नु पर्दैन, लेखा राख्न सक्ने पनि हामी आफै भएका छौँ । ऋणको व्याज लेखाजोखा गर्नेदेखि सबै आर्थिक कारोबार आफै सम्हाल्न सक्ने भएका छौँ ।

 मुलुकभर सहकारीको बचत रकम अपचलन भइरहेका बेला तपाईहरूको सहकारीको अवस्था के छ ?

 हामीले सञ्चालन गरेको यो सहकारीमा यस्तो अवस्था आएको पनि छैन र आउन दिने पनि छैनौँ । हामीले जहाँ–जहाँ लगानी गरेका छौँ, त्यो लगानी खराब ऋण हुनै सक्दैन । किनकि हामीले गैरउद्यमका लागि लगानीनै गरेका छैनौँ । जहाँ लगानी गरेका छौँ, त्यहाँबाट ऋण लिने सदस्यले अपेक्षा अनुसारको प्रतिफल पाइरहेको अवस्था छ । समयमा किस्ता तिर्नुहुन्छ, समयमा व्याज तिर्नु भएको छ ।

अहिलेसम्म लगानी डुब्ने कुनै जोखिम पनि हाम्रो सहकारीमा छैन । हाम्रो सहकारीमा अहिलेसम्म जम्मा पूँजी एक करोड, पाँच लाख ६६ हजार ९९ रुपैयाँ रहेको छ । यस मध्ये हामीले करिब–करिब ९० लाख रुपैयाँ लगानी गरेका छौँ । कतिपय बचतकर्तालाई बचत फिर्ता दिनुप¥यो भने हामीले अहिले जगेडामा करिब पन्ध्रलाख रुपैयाँ बैंक खातामा राखेका छौँ । अरू भनेको ऋण लगानी गर्ने र असुली गर्ने काम भने निरन्तर भइरहेको छ । हामीले गैर उत्पादन क्षेत्रमा लगानी नगरेकै कारण हामी अहिलेसम्म बचतकर्ताको बचत अपचलन हुने अवस्थामा छैनौँ ।

 अन्तमा यो सहकारीका विषयमा केही भन्न चाहनुहुन्छ ?

 यो सहकारीमा जति मुक्त कमलरी आवद्ध हुनुहुन्छ उहाँहरूले थप क्रियाशिलता बढाउन अनुरोध गर्दछु । जो जोडिनु भएको छैन, उहाँहरूलाई पनि यो सहकारीमा जोडिएर उद्यमशिलतामा लाग्न पनि हार्दिक अनुरोध गर्दछु । हामीले धेरै ठुलो सपना देखेका छैनौँ र धेरै ठुलो सपना बाडेका पनि छैनौँ । खाली काम गरेपछि सबैले भोकोपेट बस्न नपरोस् भन्ने मात्रै हाम्रो चाहना हो । सबैले लघु उद्यमशिलतामा लागेर आयआर्जनमा जोडिन सकेमा यसले स्थानीय स्तरमै उत्पादन बढाउने र स्वरोजगार पनि बनाउने भएकाले सानो पुँजीबाट पनि उद्यमशिलतामा जोडिनका लागि सबैलाई आग्रह पनि गर्दछु ।

हाम्रो अभियान आत्मनिर्भरतासँगै विशेष गरी कृषि उद्यमीलाई प्रवद्र्धनका लागि भएकाले यसमा सबै क्षेत्र, स्थानीय सरकार, गैरसरकारी संस्था, नागरिक समाज तथा आम सञ्चार क्षेत्रबाट पनि निरन्तर साथ र सहयोगको अपेक्षा पनि गर्दछु । साथै मुक्त कमलरीले सञ्चालन गरेको सहकारीका विषयमा केही कुरा आम पाठकमाफ राख्ने अवसर दिनुभएकोमा गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।