डिपिआर सच्याएर तटबन्धनको काम गर्न स्थानीयको माग

गोरक्ष समाचारदाता
दाङ, २४ पुस । राप्ती नदी अन्तर्गत लमही नगरपालिका–२ रनियापुरमा तटबन्धन गर्दा डिपिआर सच्याउनुपर्ने स्थानीयले माग गरेका छन् । डिपिआर अनुसार राप्ती नदी अन्तर्गत रनियापुरमा तटबन्धनको काम गर्दा स्थानीय व्यक्तिको नाममा रहेको जमिन नदीमा पर्ने भएकाले डिपिआर सच्याएर तटबन्धनको काम गर्न माग गरेका हुन् ।

स्थानीयले राप्ती नदी हिड्ने पहिलेकै स्थानलाई आधार मानेर तटबन्धनको काम हुनुपर्ने भन्दै त्योभन्दा दायाँबायाँ गर्न नहुने बताएका छन् । साविकको नदी बग्ने स्थानलाई आधार मानेर डिपिआर बनाउँदा स्थानीय व्यक्तिको जमिनमा क्षति नहुने र नदी हिड्ने ऐलानी जग्गामा पर्ने भएकाले डिपिआरलाई सच्याएर काम गर्नुपर्ने बताएका छन् । अहिलेको डिपिआर अनुसार तटबन्धनको काम गर्दा रनियापुर स्थित २५÷३० घर स्थानीय नागरिकको निजी करिब दुई सय ४० बिघा जमिन नदीमा पर्ने भएकाले डिपिआर सच्याएर मात्र तटबन्धनको काम गर्न स्थानीयले माग गरेको स्थानीय नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार स्थानीयले डिपिआर सच्याएर राप्ती नदी पहिले बग्ने स्थानबाट तटबन्धन गर्नुपर्ने र त्यसो नभए कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन् । राप्ती नदीले गर्ने क्षति रोकथामसँगै जमिन संरक्षणका लागि हुन थालेको तटबन्धनको कामप्रति खुसी भए पनि निजी जमिन नै नदीमा पर्ने गरी तटबन्धन गर्न नहुने माग गरिएको छ ।

यसैबिच राप्ती नदी अन्तर्गत लमही नगरपालिका–२ रनियापुर स्थित तटबन्धनका क्रममा देखिएको विवाद समाधानका लागि पुसको २८ गते छलफल हुने भएको छ । दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीको अग्रसरतामा प्रमुख जिल्ला अधिकारी, लमही नगरपालिका, गढवा गाउँपालिका, जनताको तटबन्धन कार्यालयका प्रमुखसहित स्थानीयको सहभागितामा समस्या समाधानका लागि छलफल हुन थालेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।