साझा औषधि पसल सञ्चालन गरः स्वास्थ्य मन्त्रालय

गोरक्ष समाचारदाता
दाङ १६ बैशाख । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको साझा औषधि पसल हाललाई संचालनमा राख्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिव स्तरीय निर्णय गरेको छ । मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले मंगबार जिल्ला प्रशासन कार्यालयका नाममा पत्र पठाउदै सचिव स्तरको यो निर्णयका बारेमा जानकारी गराएको हो ।

सहकारी मन्त्रालयलाई समेत बोधार्थ पठाइएको सो पत्रमा ‘बिश्वभर कहामारीको रुपमा फैलिएको कोभिड १९ को बेला औषधि पसल बन्द रहेकोमा पछि भएको सम्झौता अनुसार हुने गरी हाललाई साझा स्वास्थ्यवाट सञ्चालित औषधि पसल सञ्चालन हुने व्यबस्था गर्न’ भनिएको छ ।

साझा औषधि पसल र स्वास्थ्य बिज्ञान प्रतिष्ठानबीचको संझौताको अबधी गत असारमा सकिएको थियो । त्यसपछि पनि सञ्चालनमा रहेको साझा पसल हाल प्रतिष्ठानले आफ्नो गेटमा सेनिटाइजर टनेल बनाएपछि अबरुद्ध भएको थियो । यही बहानामा साझा पसल बन्द हुने आशंका भैरहदाँ मन्त्रालयले पसलको निरन्तरताका लागि सचिव स्तरीय निर्णयका आधारमा आग्रह गरेको हो ।