calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

लमही आँखा अस्पतालमा इएनटी इन्डोस्कोपी सेवा

बालाराम खड्का
लमही, २३ पुस । लमही आँखा अस्पतालमा नाक, कान, घाँटीको इन्डोस्कोपी र ब्रोन्कोस्कोपी सेवा सुरु भएको छ । दैनिक इएनटी विशेषज्ञ सेवा दिइरहेको लमही आँखा अस्पतालले अब इन्डोस्कोपी र ब्रोन्कोस्कोपी सेवा सुरु गरेको हो ।

योसँगै लमही क्षेत्रका बिरामीलाई सेवा लिन सहज हुने भएको छ । इएनटी इन्डोस्कोपी सेवासँगै अब नाकको समस्या वा साइनस, गलाको समस्या, खानेकुरा निल्न समस्या भए, नाकमा मासु पलाएको, घाँटीमा अड्किएको गिर्खा, स्वरयन्त्रमा समस्या भएको, क्यान्सर, घाँटीमा अड्किएको हड्डी, स्वरयन्त्रमा टिभी रोग, नाक, कान, घाँटीसम्बन्धी समस्या भएका बिरामीले सेवा लिनसक्ने विशेषज्ञ डा. बसन्त पन्तले जानकारी दिए । उनका अनुसार ब्रोन्कोस्कोपी सेवा अन्तर्गत शङ्कास्पद क्षयरोग, फोक्सोको क्यान्सर, फोक्सो सुकेको, खकारमा रगत देखिने, फोक्सोमा केही चिज अड्केको, मुखबाट रगत बग्ने, दीर्घ खोकीलगायतको समयमै उपचार गरिनेछ ।

डा. पन्तले नाक, कान र घाँटीको समस्या लिएर आउने बिरामीको सङ्ख्या धेरै भएसँगै सेवा सुरु गरेको बताए । ‘यदि नाक, घाँटीको भित्री अङ्गमा केही समस्या छ भने अब सहजै पत्ता लगाई थप उपचारमा सहयोग पुग्नेछ’, डा. पन्तले भने । इन्डोस्कोपीमा कुनै रिपोर्ट कुर्नु नपर्ने र समस्या के हो त्यो प्रत्यक्ष स्क्रिनमा देख्न सकिने उनको भनाइ छ । अस्पतालमा कानको श्रवण शक्तिसम्बन्धी उपचार, अडियो मेटिर टिम्प्नोमिटर सेवा पनि अस्पतालले दिइरहेको छ । लमही आँखा अस्पतालमा दैनिक ५० भन्दा बढी नाक, कान, घाँटीको समस्या भएका विरामी आउने गरेको अस्पतालले जनाएको छ ।

नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालिन लमही आँखा अस्पतालले यस अघि प्राथमिक कान उपचार सेवा दिँदै आएको थियो । पछिल्लो केही वर्षदेखि आँखा अस्पतालले नाक, कान, घाँटीसम्बन्धी दैनिक विशेषज्ञ सेवा दिइरहेको जनाएको छ । अस्पतालले बिहान ९ देखि बेलुकी ४ बजेसम्म नाक, कान, घाँटी रोग विशेषज्ञ डा बसन्त पन्तद्वारा उपचार तथा परामर्श सेवा दिइरहेको छ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पताल र उपचार केन्द्रसहित लमही आँखा अस्पतालले करिब ९ वर्ष पहिलेदेखि प्राथमिक कान सेवा सुरु गरेको थियो ।

एक वर्ष अघिदेखि नाक, कान, घाँटीसम्बन्धी विशेषज्ञ डाक्टरबाट यो सेवा दिन सुरु गरिएको प्रमुख प्रशासक डा. सम्शेर थापाले जानकारी दिए । आँखासँगै नाक, कान, घाँटीको सेवा प्रवाह नाक, कान, घाँटीको विशेषज्ञ सेवा सुचारु गरेको अस्पतालले लमही नगरपालिका–५ रातोडाँडा स्थित नगर विकास समितिले उपलब्ध गराएको पाँच कट्ठामा भवन निर्माण गरेर नाक, कान, घाँटी अस्पताल सञ्चालन गर्ने योजना अगाडि सारेको प्रमुख डा. थापाले बताए । लमही आँखा अस्पतालको रणनीतिक कार्ययोजना समेत निर्माण गरेर आँखासँगै नाक, कान, घाँटीको पनि छुट्टै अस्पताल निर्माण गर्ने योजना रहेको छ ।

‘नेपाल नेत्रज्योति संघले आँखासँगै नाक, कान, घाँटीको प्राथमिक सेवाका साथै अस्पताल सञ्चालन गर्ने विधानमा समेत उल्लेख गरेकाले लमही आँखा अस्पतालमा नाक, कान, घाँटीको अस्पताल सञ्चालन गर्ने तयारी गरेको नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य कृष्णकुमार गिरीले जानकारी दिए । ‘हामीले प्राथमिक उपचार सेवा अस्पताल र उपचार केन्द्रबाट दिएका छौँ, अब लमहीबाट विशेषज्ञ सेवा दिइरहेका छौँ, निकट भविषयमै अस्पतालको रूपमा विकास गर्ने योजना छ’, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गिरीले भने । नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, छन्द कालेबाबु नारायणी आँखा अस्पताल र उपचार केन्द्रबाट प्राथमिक कान उपचार सेवा दिइसकेको छ । लमहीमा मात्र एक वर्षमा करिब १३ हजार बढीलाई इएनटी सेवा दिएको छ ।