Goraksha

National Daily

यातायात सेवा बढाउँदै लुम्बिनी सरकार

देवेन्द्र बस्नेत
दाङ, २३ पुस । यातायात क्षेत्रको सुधारका लागि गठित कार्यदलको सुझावका आधारमा लुम्बिनी प्रदेशमा प्रदेश सरकारले यातायातसम्बन्धी सेवा विस्तार गर्न थालेको छ । यातायातसम्बन्धी सेवालाई सहज र सबैको पहुँचमा बनाउन लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायातसम्बन्धी सेवालाई विस्तार गर्ने निर्णयमा पुगेको हो ।

यातायात क्षेत्रको सुधारका लागि मन्त्रालयले केही समय अघि कार्यदल बनाएको थियो । मन्त्रालयले गठन गरेको कार्यदललाई सेवाग्राहीले यातायात सेवालाई विस्तार गरिनुपर्ने र सबैको पहुँचमा यातायातसम्बन्धी सेवा पु¥याइनुपर्ने सुझाव दिएका थिए । यो सुझावका आधारमा मन्त्रालयले यातायात क्षेत्रको सुधारको पहिलो योजना बनाउँदै यातायात सेवा कार्यालय विस्तारको कामलाई अघि बढाएको हो ।

मन्त्रालयले यसै योजनाअन्तर्गत पहिलो चरणमा बाँकेको कोहलपुरमा यातायात कार्यालयको शाखा विस्तार गरेको छ । मन्त्रालयले बाँकेको कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्नुपर्ने भन्दै मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । केही दिन अघि बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले बाँकेको कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्बाट भएको निर्णयबमोजिम कोहलपुरमा सेवा विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।

यस अघि बाँकेको नेपालगन्जमा यातायात कार्यालय रहेको र कोहलपुर आसपासका नागरिकलाई सेवा लिन कठिनाइ बन्दै आएको सुझाव सेवाग्राहीले दिँदै आएका थिए । ‘यातायात क्षेत्रको सुधारका लागि मन्त्रालयले एउटा कार्यदल बनाएर अध्ययन गरेको थियो, कार्यदलको अध्ययनका क्रममा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गरिनुपर्ने देखियो’, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने, ‘यो अध्ययन अनुसार हामीले यातायात कार्यालयको सेवा विस्तार गर्ने योजना बनाएर अघि बढेका हौँ र पहिलो चरणमा बाँकेको कोहलपुरमा सेवा विस्तार गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको छ, अब चाँडै सेवा सुरु हुनेछ ।’ मन्त्रालयले थप आर्थिक भार नपर्ने गरी यातायात कार्यालयको सेवा विस्तार गर्नेछ ।

शाखा कार्यालयका रूपमा सेवा विस्तार गर्न थालेको मन्त्रालयले शाखा कार्यालयमा कर्मचारीको व्यवस्थापन यातायात कार्यालयबाटै व्यवस्थापन हुने भएका छन् । शाखा कार्यालयका लागि नयाँ कर्मचारी नथप्ने निर्णय मन्त्रालयको छ । ‘यातायात शाखा कार्यालयका रूपमा सेवा विस्तार गर्ने हाम्रो योजना हो’, मन्त्री न्यौपाने भन्छन्, ‘सङ्घीयताको मर्मअनुसार सेवा पनि विकेन्द्रीकरण हुनुपर्छ भन्ने मान्यतामा रहेर मन्त्रायले यातायातसम्बन्धी सेवा विस्तारको काम थालेको हो ।’

बाँकेको कोहलपुरमा रहेको शाखा कार्यालयमार्फत् सवारी चालक अनुमति–पत्र नवीकरण, सवारी दर्ता किताव नवीकरण र पटके सेवा प्रदान गरिने भएको छ । ‘कोहलपुरबाट पनि यातायातसम्बन्धी सेवा प्रदान गर्ने निर्णय धेरै राम्रो कदम हो’, कोहलपुरका एक स्थानीयले मन्त्री न्यौपानेसँग भने, ‘यो निर्णयले कोहलपुरबासीलाई मात्रै नभई कोहलपुर आसपासका क्षेत्रका सेवाग्राहीलाई पनि सहज हुने भएको छ ।’

पहिलो चरणका बाँकेको कोहलपुरमा शाखा कार्यालय विस्तार गरेको मन्त्रालयले तीन जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालनको योजना बनाएको छ । बर्दिया, कपिलवस्तु र प्युठानमा यातायात व्यवस्था कार्यालय सञ्चालनमा ल्याएर सेवा विस्तार गर्ने योजनामा मन्त्रालय रहेको मन्त्री न्यौपानले जानकारी दिए ।

उनका अनुसार यी तीन जिल्लामा सञ्चालनमा आउने यातायात व्यवस्था कार्यालयले यातायातसम्बन्धी सम्पूर्ण काम गर्ने छन् । ‘कोहलपुरमा शाखा कार्यालय विस्तारपछि अब हामी बर्दिया, प्युठान र कपिलवस्तुमा यातायात व्यवस्था कार्यालय सञ्चालनको तयारीमा जुटेका छौँ, हामी ठाउँ छनोटदेखि यसको प्रक्रियाबारे छलफल गरिरहेका छौँ’, मन्त्री न्यौपानेले भने, ‘केही दिनमै निर्णय गरेर यी तीन जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाउने छौँ ।’

उनका अनुसार कोहलपुरमा रहेको शाखा कार्यालयभन्दा फरक यी तीन जिल्लाबाट यातायातसम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिनेछ । यसैगरी मन्त्रालयले दुईपाङ्ग्रे सवारी साधनको मात्रै लाइसेन्स सेवा प्रदान गर्दै आएको नवलपरासीमा चारपाङ्ग्रे सवारी साधनको समेत लाइसेन्स प्रदान गर्ने गरी सेवा थप गरेको छ । चारपाङ्ग्रे सवारी साधनको समेत ट्रायलको व्यवस्था गर्ने निर्णय गरेको मन्त्रालयले अब त्यहाँ चारपाङ्ग्रे सवारी साधनको समेत ट्रायल सुविधा थप गरिएको जनाएको छ ।

‘नवलपरासीमा दुईपाङ्ग्रे सवारी साधनको मात्रै ट्रायलको व्यवस्था थियो, चारपाङ्ग्रे सवारी साधनका लागि त्यहाँ सुविधा थिएन’, मन्त्री न्यौपानेले भने, ‘चारपाङ्ग्रे सवारी साधनको ट्रायलको सेवा पनि नवलपरासीमा थप भएको छ, अब त्यहाँका नागरिकलाई नवलपरासीमै चारपाङ्ग्रे सवारी साधनको लाइसेन्सका लागि बाहिर कुद्नुपर्ने बाध्यता हटेको छ ।’

सेवाग्राहीलाई सहज रूपमा सेवा प्रदान गर्न आवश्यकताका आधारमा अन्य स्थानमा पनि कार्यालय तथा शाखा कार्यालय विस्तारको काम गर्ने योजना मन्त्रालयको छ । यसैगरी यातायातसम्बन्धी सेवालाई प्रभावकारी बनाउन कार्यदललाई प्राप्त सुझावका आधारमा यातायात कार्यालयलाई मन्त्रालयले निर्देशन समेत दिएको छ । मन्त्रालयका अनुसार आम नागरिकबाट आएका गुनासा र सुझावलाई सम्बोधन हुने गरी सेवा प्रवाह गर्न सबै यातायात कार्यालयलाई पत्राचार गरिएको छ ।