बालाराम खड्का
तुलसीपुर, २२ पुस । लुुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकाय संवेदनशील र जिम्मेवार भएर लाग्नु पर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले विभिन्न सरोकार निकायसँगको सहकार्यमा तुलसीपुरमा आयोजना गरेको बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा हाम्रो चाहो विषयक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री न्यौपानले उक्त कुरा बताएका हुन् । ‘केही समय पहिले विश्वस्वास्थ्य संगठनले पनि सडक सुरक्षामा नेपाल उच्च जोखिममा रहेको भनेको छ अब सडक सुरक्षाका विषयमा सवै जिम्मेवार र संवेदनशील हुनुपर्छ’ मन्त्री न्यौपानेले भने । उनले कुलग्राथ उत्पादनको तीन प्रतिशतले सडक दुर्घटनामा ज्यान गुपाउने गरेका भन्दै नेपालमा पछिल्लो १० वर्षमा २५ प्रतिशतले दुर्घटना बढेको तथ्याङ्कले देखाएको बताए ।
उनले सबैभन्दा बढी सवारी साधन भएको छिमेकि जिल्ला भारत र चिनमा सवारी दुर्घटनाको दर घटेको र नेपालमा बढेको अवस्थामा त्यसलाई न्यूनीकरण गर्ने दायित्व सबैको भएको बताए । ‘सडक दुर्घटना रोक्ने प्रमुख दायित्व राज्यको हो हाम्रो तिन तहका सरकार छन् सबै पक्ष यसमा लाग्नुपर्छ’ उनले भने । न्यौपानेले दुर्घटना गाडि ठोकिएर मात्र नहुने भन्दै नेपालको भौगोलिक विकटता र सडकको मापदण्डका कारण पनि हुने गरेको बताए ।
‘सडक दुर्घटनाका विभिन्न कारण छन् केही समय पहिले बाढीले बस बगाउदा धेरैले ज्यान गुमाउनु प¥यो सडकको मापदण्डलगायत धेरै कुरा छन्’ उनले भने । मन्त्री न्यौपानेले १५ प्रतिशत स्कुले विद्यार्थीले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको भन्दै अब तत्काल लुम्बिनी प्रदेशले केही समयमै विद्यालय सचेतना कार्यक्रम सुरू गर्ने बताए । उनले प्रदेशका ४ जिल्लामा कार्यक्रम भएको भन्दै अब सवारी साधन चलाउने उमेर समूहकालाई सचेतना दिने बताए ।
बढ्दो दुर्घटना न्यूनीकरण गर्न लामो दुरीका सवारीसाधनमा दुईवटा चालक राख्ने पर्ने, जोखिम रहेका सडक तथा राजमार्ग तत्काल मर्मत सम्भारमा ध्यान दिनु पर्ने, ट्राफिक नियम उल्लंघन गर्ने यातायातलाई कारबाही गर्दा यातायात व्यवसायीले पनि सहयोग गर्नु पर्ने र ट्राफिक जनशक्ति व्यवस्थान लगायतका कुरा पूरा गरे केही हदसम्म दुर्घटना न्यूनीकरण हुने उल्लेख गरे । त्यस्तै मन्त्री न्यौपाने अब ठाउँ–ठाउँमा ट्राफिक चेकजाँचभन्दा पनि सवारी भित्रिने र बाहिरिने मुख्य स्थानमा चेकजाँच र प्रविधि मैत्री ट्राफिक व्यवस्थापन आवश्यक रहेको बताए ।
त्यस्तै घोराही–तुलसीपुर सडक खण्डमा पनि विभिन्न समयमा दुर्घटना हुने गरेको भन्दै त्यसका लागि विभिन्न स्थानमा सिसि क्याम्मेरा राखेर निगरानी बढाउनु पर्ने बताए । उनले लामो समयसम्म अलपत्र रहेको फोरल्याड सडक निर्माणका लागि बजेट समेत सुनिश्चिता भएको उल्लेख गरे । उनले दाङको लमही– घोराही सडक खण्डमा टाइम कार्ड लागु गर्ने विषयमा पनि छलफल भइरहेको बताए । रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आफूहरूको सुरक्षा रणनीति तयार गर्ने काम भएको भन्दै विपद् जोखिमअन्तर्गत सडक सुरक्षा पनि भएको बताए ।
लम्सालले जिर्ण सडकको मर्मत र सडकमा पहिरो हटाउने लगायत विकास व्यवस्थापनमा सहजीकरण गरिरहेको बताए । उनले विभिन्न कारणले पछिल्लो समयमा दुर्घटना बढेको भन्दै मापासे लामासेलगायत विभिन्न कारणले दुर्घटना बढेको भन्दै त्यसका लागि सचेतना आवश्यक भएको बताए । उनले सबै पक्ष जिम्मेवार भएमात्र दुर्घटना न्यूनीकरण हुने भन्दै पत्रकारले पनि सचेतना कार्यक्रमलाई बढाउनु पर्ने बताए । प्रमुख जिल्ला अधिकारी लम्सालले दाङमा वैदेशिक रोजगारीमा ठगि, मिटर व्याज, जग्गा अतिक्रमण विकास आयोजनामा सुस्तता मापासे, लापासे लगायतका सुरक्षा चुनौती रहेको बताए । उनले यसको विषयमा विद्यालय स्तरमै पाठ्यक्रम निर्माण गरी विद्यार्थीलाई सचेताना दिनु पर्ने बताए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले सबैले नकारात्मक कुरा र काम गर्ने प्रवृत्तिको अत्य गरी सकारात्मक कुरामा लाग्न पर्ने बताइन् । उनले दुर्घटना न्यूनीकरणका लागि आफूहरूले विभिन्न अभियान थालेको समेत बताइन् । उनले ट्राफिक व्यवस्थापन चुनौतीको विषय रहेको भन्दै आफूहरूले विभिन्न सचेतना कार्यक्रम गदै आएको बताइन् । ‘दुर्घटना न्यूनीकरणका लागि सचेतना प्रमुख आवश्यकता हो शिक्षामार्फत् यसलाई न्यूनीकरण गर्नु पर्छ’ उनले भनिन् । त्यस्तै नागरिक अगुवा वरिष्ठ पत्रकार टिकाराम रेग्मीले दुर्घटना न्यूनीकरण गर्ने सबैको दायित्व भएको भन्दै अधिकारसँगै सबैले कर्तव्यलाई ख्याल गर्नु पर्ने बताए ।
त्यस्तै पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई मात्र दुर्घटना कस्तो हुन्छ भन्ने पीडा हुने भन्दै दुर्घटनाको न्यूनीकरणमा सबै पक्ष जिम्मेवार हुनु पर्ने बताइन् । उनले दुर्घटना न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको समेत बताइन् । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी आ–आफ्नो जिम्मेवारी बहन नगर्दा दुर्घटना बढिरहेको सबै स्थानीय तहले आफ्नो क्षेत्रधिकारभित्र पर्ने सडकको अध्ययन गरी मर्मत सम्भारमा ध्यान दिनुपर्छ बताए ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसी दाङमा नियमित रूपमा दुर्घटना मानवीय र भौतिक क्षति भइरहेको सडकलाई नियमित मर्मत सम्भार आवश्यक छ यसतर्फ गम्भीर हुनु पर्ने बताए । रासस दाङ प्रमुख नारायणी रजौरे दिनहुँ जिल्लामा हुने सवारी दुर्घटनाका घटना रोक्न सबैले हातेमालो जरुरी रहेको बताइन् । जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख राजेश शाही विभिन्न कारणले दुर्घटना हुने गरेको बताए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका लुम्बिनी प्रदेश उपाध्यक्ष केशवराज भण्डारी देशको मेरुदण्डको रूपमा रहेको यातायात छेत्र धोव्स्त हुँदै गएको जिर्ण अवस्था भएको सडकको कारणले गर्दा समयमै ठाउँसम्म पुग्न नसकेको बताए ।
उक्त अवसरमा रिपोर्टर्स क्लब दाङले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी तथा पत्रकारलाई सम्मान समेत गरेको छ । क्लबले त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले स्थापना गरेको बालकृष्ण–जितेन्द्र उत्कृष्ट पत्रकारी पुरस्कारबाट पत्रकार जितसागर जि.ए.म र समाजसेवि प्रमोद लामिछानेले स्थापना गरेको पुरस्कार उत्कृष्ट दुर्गा–मोता लामिछाने पत्रकारिता पुरस्कारबाट पत्रकार यमकला भुसाल र उमा भण्डारीलाई पुरस्कृत गरेको रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीले जानकारी दिए । त्यस्तै शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै ज्ञानज्योति फाउण्डेसनका सिइयो सुरेन्द्र जिसीलाई सम्मान गरिएको थियो ।
त्यस्तै रासस प्रमुख नारायणी रजौरेले रिपोर्टस क्लबमा ५१ हजार रूपैयाँको रासीको अक्षयकोष स्थापना गरेकी छन् । उनले प्रत्येक वर्ष क्रियाशिल पत्रकारलाई पुरस्कार वितरण गर्ने बताइन् । कार्यक्रमको सहजीकरण महासचिव विमल गौतमले गरेका थिए । जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ, यातायात व्यवस्था कार्यालय तुलसीपुर, ईलाका प्रहरी कार्यालय जिल्ला ट्राफिक कार्यालय दाङ, तुलसीपुर, तुलसीपुर उद्योग वाणिज्य संघ, त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालि, ज्ञानज्योति फाउन्डेसन तुलसीपुरको सहकार्यमा कार्यक्रम भएको हो ।