संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले बुझायो मन्त्रीलाई प्रतिवेदन

गोरक्ष समाचारदाता
दाङ, २२ पुस । नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिले शिक्षामन्त्री विद्या भट्टराईलाई प्रतिवेदन बुझाएको छ । उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वको समितिले आइतवार शिक्षा मन्त्रालयमा मन्त्री भट्टराईलाई उक्त प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले प्रतिवेदन कार्यान्वयनका लागि स्थानीय सरोकारवाला, राजनीतिक नेतृत्व र विश्वविद्यालयको सक्रिय भूमिका आवश्यक पर्ने उल्लेख गर्दै प्रतिवेदन तयार गर्न संलग्न सबैलाई धन्यवाद ज्ञापन गरिन् । उक्त प्राप्त प्रतिवेदन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिने भट्टराईको भनाइ थियो । सरकारले असार २० गते मन्त्रिपरिषद बैठकबाट छानबिन समिति ठगन गरेको थियो ।

समितिले नेपाल संस्कृत विश्वविद्यालयको दाङ जिल्लाका विभिन्न स्थानमा अवस्थित जग्गा तथा भौतिक पूर्वाधारको स्थलगत अवलोकन, विश्वविद्यालय पदाधिकारी तथा कर्मचारीसँगको छलफल तथा अन्तरक्रिया एवम् विभिन्न निकायसँगको समन्वयका आधारमा आवश्यक सूचना संकलन गरी उक्त प्रतिवेदन तयार पारेको हो ।