भन्नु बेकार छ : ‘संसारमा जान्ने मै हु’

मधुसूदन सुवेदी

यतिबेला प्रकृतिले पुष्टि गरिसक्यो कि – ‘यो संसारमा जान्ने कोही रहेनछन् । अघिपछि जति ठूला–ठूला गफ दिए पनि र जति विशिष्टताको संज्ञा दिए पनि आपत–विपतको घडीमा सबै सून्य डिग्रीमा झर्दारहेछन्, यहाँ संसारमा म जस्तो जान्ने कोही पनि छैन भनेर आफ्ना दुई खुट्टा भुइँमै राख्न नचाहनेको जमात कमी थिएन । यहाँ मजस्तो नजान्ने र मजस्तो पटमूर्ख कोही पनि भएन भनेर आफैले आफैलाई धिक्कार्नेको लर्को पनि कमी थिएन । तर यतिबेला त्यो केवल मात्तिएको र आत्तिएको खेल लहड मात्र रहेछ ।

यहाँ संसारमा जान्ने पनि कोही रहेनछ । यहाँ संसारमा जान्दै नजान्ने पनि कोही रहेनछ । सबैमा केही न केहीको ज्ञान छ र सबैमा केही न केहीको अज्ञान पनि छ । तसर्थ जानकै भरमा आफूभित्र रहेको अज्ञानलाई नबुझेर मात्तिने कोशिस नगरौँ र अज्ञानकै भरमा आफूभित्र रहेको ज्ञानलाई नबुझेर आत्तिने प्रयास नगराँै, यतिबेला विश्व आतंकित, त्रसित र भयभित भइरहेको बेला संसारका जान्ने र मान्नेले हामीलाई सिकाइरहेका कुरा के–के हुन त ? हामी साच्चीकै आधार र प्रमाणबिना नबोल्ने र नबक्ने युगका मानिस पछिल्लो समयमा यो प्राकृतिक महामारी फैलिएको बेला के–के सन्देश दिइरहेका छौँ ? त्यतातर्फ लागौ– ‘यहाँ जान्नेले भरिहेका छन्, हात धोएर खाऔँ । यहाँ जान्नेले भनिरहेका छन्– हातमा तेल घसेर बस । यहाँ जान्नेले भनिरहेका छन्– शरीरमा अल्कोहल (रक्सी) दलेर बस । यहाँ जान्नेले भनिरहेका छन्– शरीरमा बेसार घसेर बस । यहाँ जान्नेले भनिरहेका छन् – शरीरमा घ्यूकुमारी घसेर बस ।

यहाँ जान्नेले भनिरहेका छन् – लसुन र प्यास खाएर बस । यहाँ जान्नेले भनिरहेका छन्– मुखमा माला लगाएर बस । यहाँ जान्नेले भनिरहेका छन्– हातमा खोल लगाएर बस । यहाँ जान्नेले भनिरहेका छन्–अदुवा र कागतीको पानी पिएर बस । यहाँ जान्नेले भनिरहेका छन् – कोही कसैसँग नछोइएर बस । यहाँ कोही जान्नेले भनिरहेका छन् – घरबाट कहीँ कतै हिड्ने र जाने कोशिस नै नगर । यहाँ जान्नेले भनिरहेका छन्– घरभित्रै अपराधी शैलीमा लुकेर बस । यहाँ जान्नेले भनिरहेका छन्– सधैँ तातो खाने गर । यहाँ जान्नेले भनिरहेका छन्– क्षण–क्षणमा पानी पिएर बस । सबैको यो क्रियाप्रतिक्रिया जानकारी, शिक्षा, दीक्षा, मन्त्र, जन्त्र, तन्त्र, सन्देश, प्रचार, प्रसार, यान, अभियान सुन्दा लाग्छ कि यस्ता महामारीबाट पटक–पटक जोगिएको व्यक्ति शक्ति, समूह, सञ्जाल, संगठन, गिरोहजस्तै जस्तैका तस्तै । तर त्यो कदापी होइन । यो महामारी विश्वलाई चुनौती दिनको लागि नै आएको हो । किनभने हिजोसम्म हिरो बन्ने कोही पनि थिएन ।

सामान्य जिरोलाई पनि हिरो बन्न र भन्न मन लाग्थ्यो । हिजो विज्ञानले निकै अहंकार गथ्र्यो । आज त्यो विज्ञान पनि संसारका सामू घुँडा टेक्न पुग्यो । हिजो तन्त्र, मन्त्र साधकले पनि निकै प्रभावशाली बन्थ्यो, त्यो पनि आज सबै समू घुँडा टेक्न वाध्य भयो । हिजो जुन जुन विधा र शक्ति उपासकले आफूलाई सर्वश्रेष्ठ प्रमाणित गर्न खाजे र प्रमाणित गरे आज ती सबै फेल भए नि ? असफल भए नि । आखिर जान्ने कति बेला ? जतिबेलासम्म जानेका कुराले काम गर्छ । आखिर मान्ने कतिभेला ? जतिबेलासम्म सबैले मान्दछन् र पत्याउँछन् । त्यसैले यो जान्ने र मान्नेको पनि समय, बेला र मौसम आउँदोरहेछ । यतिबेला कसको के चलेको छ ? यतिबेला कसको के लागेको छ ? यदि कोही कसैको वा कोही जान्ने, सुन्ने र मान्नेको लागि को भए र पुगेको भए विश्वभर र भोटेताल्चा ठोकेर भित्र बस्नुपथ्र्यो ? अचम्म पनि कस्तो अचम्म ? हामीले देखेको, सुनेको, जानेको र भोगेको कुरा के हो भने घरमा भोटे ताल्चा लगाएर बाहिर जाने गथ्र्यौं । अर्थात् घरमा ढोका लाग्यो भने त्यो घरका परिवार सदस्य बाहिरै गएको, मेलापात गएको, टाढै गएको वा वनजंगल गएको थाहा हुन्थ्यो । अब त के भयो भने पहिले बाहिर ताला लगाएर आफू भित्र बस्ने र पस्ने बेला आयो ।

यति मात्र होइन विश्वामै भोटे ताल्चा लगाएर जो जहाँ छ त्यो त्यही त्यस्तै अवस्थामा बस्नुपर्ने र गुज्रनुपर्ने अवस्था आयो । के यो जानकार र रहरको खेल हो ? पक्कै पनि होइन । यो केवल संसारमा कुनै पनि विज्ञान, ज्ञान, आविष्कार, चन्त्र, मन्त्र, जन्त्र, संयन्त्र, विद्या, बुद्धि, विवेक, अभियान, ओखती, मुलो केही सप् िर केही उपाय नलागेर अन्तिममा रोगले मर्नुभन्दा भोकले र रोगले नै मरौँला भन्ने ठानेर, मानेर र जानेर थालिएको वाध्यात्मक अवस्था हो । एक दिन देशमा ताला लाग्दा कतिका घाटा हुन्थ्यो ।

एक दिन विश्वमा ताला लाग्दा कतिको खोक्सानी हुन्थ्यो ? खोई ? आज त्यसको लेखाजोखा कहाँ गयो ? भन्न खोजिएको कुरा के हो भने प्रकृति यदि प्रतिकुल भयो भने यहाँ कसैको केही सीप चल्दो रहेनछ र केही उपाय हुँदोरहेनछ । जो जसले जसरी जहाँ भूमिका निभाए पनि त्यो प्रकृति अनुकूल हुँदासम्म मात्र रहेछ । हिजो सिंगो संसार, सिंको सृष्टि, सिंगो वृथ्वी, सिंगो ब्रह्माण्ड, सिंगो धर्तीलाई आफ्नो काबु, वश, नियन्त्रण र मुठीमा राख्न चाहने शक्ति आज किन मुकदर्शकको रुपमा रमिते बन्नु परेको छ ? अब यो कुरा सदाका लागि बोध हुने कि नहुने ? घमण्ड र अहंकारलाई त्याग्ने कि नत्याग्ने ? प्रकृतिलाई आफ्नो गति, चालमा चल्न सबैले सहयोग गर्ने कि नगर्ने ? समीक्षा गरौँ ।