दाङ,१६ बैशाख । दाङमा लकडाउनलाई खुकुलो बनाउदा बजारमा भीडभाड बढेको छ । कोरोनाको संक्रमण फैलन सक्ने भन्दै सरकारले लकडाउन घोषणा गरेपछि गएको चैत ११ गतेदेखि बजार पूर्ण रुपमा बन्द रहदै आएको थियो ।

२४ घण्टा लकडाउन हुदा उपभोक्ताहरुलाई आवश्यक पर्ने अत्यावश्यक बस्तुहरु घर–घरमै दाङ जिल्ला उद्योग वाणिज्य संघ,चेम्वर अफ कर्मश,उज्यालो विहानी फाउण्डेशनलगायतका संघसस्थाहरुले होम डेलीभरी सेवा दिदै आएका थिए । त्यसँगै जिल्ला प्रशासन कार्यालयले हप्तामा तीन दिन आइतवार, मंगलबार र शुक्रवार विहान ९ बजेसम्म अत्यावश्यक पसल सञ्चालन गर्दै आएको थियो ।

तर लकडाउनका समयमा विहान पसल सञ्चालन गर्दा मर्निङवाकका नाममा भीडभाड बढेको भन्दै मंगलबारदेखि घोराहीमा दैनिक विहान ११ बजेदेखि दिउसो ३ बजेसम्म अत्यावश्यक खाद्यान्नलगायतका पसल सञ्चालन गर्ने निर्णय गरिएको थियो । घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योग बाणिज्य संघको समन्वयमा जिल्ला प्रशासन कार्यालय दाङले आजदेखि दैनिक अत्यावश्यक पर्ने खाद्यान्न, औषधी, दुधलगायतका पसलहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।




