सञ्चारमैत्री नीति बनाउन राज्य अनुदार : पोख्रेल

गोरक्ष समाचारदाता
दाङ, २१ पुस । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले राज्य सञ्चार क्षेत्रलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको बताएका छन् । नेपाल प्रेस युनियन दाङ शाखाले शनिवार घोराहीमा आयोजना गरेको नेपाल पत्रकार महासंघ दाङ शाखाका पदाधिकारी, सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य, केन्द्रीय पदाधिकारी तथा सदस्य एवम् राष्ट्रिय परिषद् सदस्य, प्रदेश परिषद् सदस्यलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पोख्रेलले सञ्चार माध्यमलाई टिकाउँदै प्रवर्धन गर्न स्पष्ट नीति नबनाउने र सङ्कुचित मानसिकताबाट अघि बढेको बताएका हुन् ।

‘राज्य जहिले पनि सञ्चार क्षेत्रलाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छ, प्रवर्धनका लागि स्पष्ट नीति बनाउने पक्षमा देखिँदैन’, कार्यक्रमका प्रमुख अतिथि रहेका पोख्रेलले भने, ‘यो केन्द्रमा मात्र होइन, प्रदेश र स्थानीय तहमा पनि देखिएको छ । सञ्चार नीति बनाउन जिल्लादेखि केन्द्रसम्म महासंघ सचेत भएर लाग्नुपर्छ ।’ सञ्चार क्षेत्रलाई सङ्कुचन गर्ने गरी ल्याउन थालेको सञ्चार नीतिविरुद्ध पत्रकार महासंघ निरन्तर आन्दोलनमा लागेकाले रोकिएको भन्दै अब नयाँ कार्यसमिति सचेत भएर लाग्नुपर्ने बताए ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पोख्रेलले स्वतन्त्र पत्रकारिता नहँुदा लोकतन्त्र बलियो हुन नसक्ने बताए । राज्य सञ्चार क्षेत्रको अभिभावको भूमिका निर्वाह गर्न नसकेको समेत बताए । ‘सञ्चार क्षेत्रको प्रवर्धन र विकासका लागि राज्यले सञ्चार क्षेत्रको अभिभावको भूमिका निर्वाह गर्नुपथ्र्याे तर अझै गर्न सकेको छैन’, निवर्तमान अध्यक्ष पोख्रेलले भने, ‘जसले गर्दा पत्रकार महासंघले पटकपटक आवाज उठाउँदा समेत सञ्चारमैत्री नीति आउन सकेको छैन ।’ पोख्रेलले राज्यले सञ्चार क्षेत्रको दिगोपना सुनिश्चितता गर्न अभिभावकको भूमिका निभाउन नसकेको र यसको सट्टा कानून तथा नीतिका नाममा सञ्चार जगतलाई कुण्ठित पार्ने प्रयास गरेको बताए ।

‘राज्यले सञ्चार क्षेत्रलाई नियन्त्रणमा राख्न विभिन्न बहाना बनाउँदै आएको छ । सञ्चारकर्मी हरेक समयमा सचेत रहनुपर्छ’, पोख्रेलले भने, ‘जुनसुकै पार्टीका सरकार आए पनि सञ्चार क्षेत्रलाई स्वतन्त्र रूपमा राख्ने गरी नीति बनाउन सकेका छैनन् ।’ पोख्रेलले विज्ञापन वितरण प्रणालीमा बिचौलियाको भूमिका हटाउन जोड दिए । बिचौलियाका कारण मिडिया क्षेत्र समस्यामा परेको भन्दै पोख्रेलले राज्यले विज्ञापन एजेन्सीमार्फत् सञ्चार माध्यममा विज्ञापन दिएर एजेन्सीलाई फाइदा पुगेको बताए । ‘बिचौलिमार्फत् विज्ञापनको काम गरिँदा चुहावट भएको छ, त्यसलाई नियन्त्रण गर्नुपर्छ’, पोख्रेलले भने, ‘बिचौलिया रोक्नका लागि विज्ञापन दिने निकायको सूचना प्रकाशन वा छापिने सञ्चारगृहसँग सम्पर्क र सम्बन्ध हुनुपर्छ ।’

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतमले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न महासंघले पहल गर्नुपर्ने बताइन् । मिडिया हाउस बलियो भए सञ्चार क्षेत्र बलियो हुने भन्दै उनले सञ्चार माध्यमसँगै सञ्चारकर्मीलाई क्षमतावान् बनाउने गरी महासंघ नवनिर्वाचित कार्यसमिति लाग्नुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासनले सङ्कटमा रहेका सञ्चार माध्यमलाई जोगाउन सामूहिक प्रयास आवश्यक रहेको बताए । सङ्कटमा रहेका सञ्चार माध्यमलाई बचाउन सामूहिक प्रयास आवश्यक रहेको भन्दै सबै लाग्नुपर्ने बताए ।

प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष सुदीप गौतमले साझा संस्था भएको सबैलाई समान रूपमा अघि बढाउन आवश्यक रहेको बताए । जिल्लामा सर्वसम्मतिमा चयन भएको नयाँ नेतृत्वले सबै सञ्चार संस्थालाई मिलाउँदै महासंघको साँझा चरित्रलाई बचाई राख्नुपर्ने बताए । प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले महासंघको गरिमालाई उच्च राख्दै सङ्कटमा रहेको सञ्चार माध्यमलाई बचाउन महासंघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा बोल्ने वक्ताले पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधान गदै अगाडि बढ्न महासंघ नयाँ नेतृत्वलाई सुझाव दिएका थिए । बदलिँदो समयानुसार पत्रकारलाई दक्ष बनाउनु पर्ने, न्यूनतम पारिश्रमिक कार्यान्वनमा ध्यान दिनुपर्ने, स्थानीय तह तथा सरकार कार्यालयबाट प्रदान गरिने विज्ञापन जिल्लामै सबै सञ्चारगृहमा समान रूपमा वितरण गर्न महासंघले पहल गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य लीला शाह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डवप्रसाद शर्मा, पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष तथा सल्लाहकार दुर्गालाल केसी, प्रेस चौतारीका केन्द्रीय सदस्य टीका बस्नेत, महासंघ दाङ शाखा उपाध्यक्ष नारायणी रजौरे, सचिव जेएन सागर, प्रेस युनियन दाङ शाखा पूर्व अध्यक्ष तथा राष्ट्रिय परिषद् सदस्य सुशील बस्नेतलगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रेस युनियन दाङका उपाध्यक्ष गोपाल शर्मा भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव अमर क्षितिज भण्डारीले गरेका थिए । कार्यक्रममा अविर, टीकासँगै माला लगाएर नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो ।