यसरी सुरु भयो अर्थतन्त्रको ओरालो

के.पी. सुवेदी
कोरोना भाइरस सङ्क्रमणको कारण करोड बढी मानिसको ज्यान गएको दुःखद् स्मरण अनन्तकालसम्म रहेन कुरा त्यसको प्रभावबाट पीडितको जीवनकथा अनि व्यथाले बोलिरहेको छ । जो परिवारका अविभावक, प्रियजन अनि आफ्नो मुटुको टुक्राहरु गुमाएको महसुस गरिरहेका छन । उनीहरुका लागि बाँचुन्जेल पीडा सहेर बस्नुबाहेक अरु विकल्प छैन । अन्य क्षतिको पूर्ति हुने सम्भावना भए पनि जीवन क्षतिको पूर्ति कहिलै नहु नसक्ने भएकाले त्यसले पुस्तौसम्म प्रभावित गर्नसक्छ ।

किनभने कसैको परिवार उजाडिएका उदाहरण भएकाले यस्तो अनुभव र अनुभूति सबैलाई हुनसक्छ । कसैले कल्पना नगरेको विनाशकारी प्रकोप हाम्रै उत्तरी छिमेकी चीनबाट उत्पत्ति भई विभिन्न मुलुकमा फैलिएको भनियो । कसैले यो अन्य सूक्ष्म जीवहरु उत्पत्ति हुने विज्ञानचक्रबाट जन्मिएको भन्ने कुरामा विश्वास गरिरहेको अवस्थामा केही शक्तिले भने यो चीनले आफ्नो प्रयोगशालामा उत्पादन गरेर विश्वलाई आतङ्कित गर्न र त्यसको नियन्त्रणको चामत्कारिक क्षमता प्रदर्शन गरेर देखाउन खोजेको तर सोचेभन्दा तीव्रगतिमा फैलिएर जिल्ल प¥यो । यथार्थवादी दृष्टिकोणले यसको विश्लेषण गर्नेले यो एउटा महामारी भएको कुरा स्वीकार गरेका छन् । कोरोना उत्पत्ति चीनबाट भएको थियो भन्ने कुरा सबैले मानेका थिए र त्यसको नियन्त्रणको लागि खोप बनाउन सफल भएर विज्ञानको क्षेत्रमा आफ्नो क्षमता देखाउन सफल भयो । बलियो अर्थतन्त्र निर्माण गरिसकेको मुलुक भएकोले अहिले खासै मन्दीको असर छैन भनिन्छ ।

अहिले फेरि भारतीय केही समाचार स्रोतहरुले चीनमा नयाँ किसिमको भाइरसबाट मानिसहरु बिरामी परेको भनेर समाचार संप्रेषण गरिरहेका छन । उनीहरुको समाचारमा भनिए अनुसार अहिलेको भाइरस कोरोनाजस्तै छिट्टै फैलिने र महामारीकै रुपमा देखिन सक्ने अनुमान गर्ने गर्छन् । यदि साचै कोरोनाजस्तै सङ्क्रामक रोगहरु फेरि पनि फैलिएर त्यसैगरी मानि मारिए भने नियन्त्रण सम्भव हुने हो वा नहुने हो ? भैगो भने जीवनक्षति त हुन्छ नै, त्यसबाहेक मानिसको आर्थिक अवस्था अझै नाजुक एवम् दयनीय हुने कुरामा कुनै शङ्का छैन । किनभने उपचारको खर्च जुटाउन गरिखानेबर्गका लागि सजिलो छैन ।

कोरोनाकालमा थला परेको अर्थव्यवस्था अझै पनि लयमा फर्कन सकेको छैन । हामीले स्पष्ट देखिरहेका छौँ कि त्यसअघि सञ्चालनमा रहेका उद्योग व्यवसाय आधाजति बन्द भइसके । अर्थव्यवस्था चौपट हुनमा त्यही मात्र जिम्मेवार होइन तर त्यसले मानिसको पेसाप्रतिको निरन्तरता विच्छेद भएपछि व्यवसाय सफल हुन्छ भन्ने विश्वास टुटिसक्ने रहेछ । आफ्नो व्यवसायले आत्मनिर्भर हुँदै गरेको छोडेर वा बेचेर हिँड्नुपर्ने अवस्था आएपछि मानिस पक्कै पनि किंकर्तव्यविमूढ हुन पुग्छ । व्यवसायबाट पलायन भएर हातमुख जोड्ने उपायको खोजिमा लागिरहेको युवाले यहाँभन्दा बाहिर गएर राम्रो हुने सपना देख्छ र उतै जाने निधो गर्छ । धेरैले यसरी नै सोचेपछि अहिलेको अवस्था आएको छ तर सबैलाई सजिलो उता पनि छैन भन्ने विभिन्न तरिकाले सामाजिक सञ्जालमा आएका सूचना र भिडियोले सूचना दिँदैछन् ।

आफ्नो आर्थिक अवस्था झन–झन कमजोर हुँदै गएपछि त्यसलाई उकासेर जीविकोपार्जन लयक गराउने उद्देश्यले बिदेसिने युवाले श्रमस्वीकृति लिन र त्यसबापत बाहिर पठाउने दलाललाई, काम गर्ने कम्पनीको प्रतिनिधिलाई कमिसन दिन खर्च गर्ने रकम चानचुने छैन । कामका लागि विदेश जानेले केही समयपछि कमाउन सुरु गरेर घर पठाउन सुरु गर्छन् र त्यसपछि अलिकति सन्तुलन हुनखोजे पनि पढ्नका लागि बाहिरिनेले खर्च गर्ने रकम त्योभन्दा ठुलो छ । यस्तोबेला नगद रकम दलालको अकाउन्टमा जम्मा हुने रकमको अङ्क ठुलो छ । त्यसबाहेक विभिन्न प्रलोभनमा पैसा जम्मा गरेर विदेशी एवम् स्वदेशी दलालले रकम लुटेर जम्मा गरेका छन् ।

क्रिप्टोकरेन्सी र एसबिजी भन्ने अवैध मुद्रा अपचलन अर्थव्यवस्था खोक्रो पार्ने तङ्खवहरुमा चिनिन्छन् । अहिले अर्थव्यवस्थामा देखिन थालेको सङ्कटको चिन्ता एकातिर छ, अर्कातिर काम गर्ने जनशक्ति बाहिरिएर मुलुक रित्तिने चिन्ताले सबैलाई घचघच्याइरहेको छ । यसको महसुस सबैभन्दा पहिले सरकार चलाउनेले गरुन् । जुनसुकै कारणले बाहिरिन परे पनि आफ्नो मुलुकमा फर्किनु पर्ने खास परिस्थिति हुँदारहेछन् भन्ने विगतले सम्झाइरहेको छ । पढ्न जानेले छात्रवृत्ति बाहेक जान नपर्ने वातावरण निर्माण गर्नेतर्फ राज्य चलाउनेले सोचे भने परिणाम सबैका लागि सकारात्मक बन्न सक्छ । विचारमा बदलाव ल्याउन कुनै न कुनै प्रलयकै प्रतीक्षा गर्नैपर्ने रहेछ । नत्र करोडौँ रकम खर्च गरेर अवैध तरिकाले मर्नैपरे पनि प्रवाह नगरी ज्यानै दाउमा राखेर अमेरिका नगई नछाड्ने मनोविज्ञान बदलिन नेपालले चाहेर के हुन्छ, अमेरिकी नीतिले चाहे हुनसक्छ ।

अहिलेसम्म अर्थव्यवस्था कमजोर हुँदै जानु, शैक्षिक गुणस्तर खस्किनु, युवाहरु विभिन्न उद्देश्यले बिदेसिने क्रम बढ्नु जस्ता मुलुकका लागि नकारात्मक सूचकका गहन अध्ययन हुन सकेन । विभिन्न विषयका विज्ञले समस्या उठान गर्ने गरेको भए पनि सरकारलाई रचनात्मक सुझाव दिन नसकेको जस्तो लागेको छ । सरकार अस्थिरतामा अलमलिएर विज्ञहरुबाट सुझाव लिन ढिला भएको हो भने समयले चाँडो गर्न सङ्केत गरेको छ । आफूलाई विद्वान् भनाउन रुचाउने महोदयले समस्या देखाउनेभन्दा समाधान सुझाउनुमा महानता हुन्छ । महामारीको समयदेखि अहिलेसम्म विभिन्न अपवाद छोडेर कुण्ठा र प्रतिशोध बाहेक बोली नै बन्द गरेझैँ लाग्छ ।