घोराहीमा माघ सांस्कृतिक महोत्सव
गोरक्ष समाचारदाता
दाङ,२० पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले थारू समुदायको प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चितता गरेको बताएका छन् । घोराहीमा शुक्रवारदेखि सुरु भएको माघ सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले थारू समुदायको लुम्बिनी प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चितता गरिएको बताएका हुन् ।
प्रदेशमा झन्डै १५ प्रतिशत थारू समुदायको जनसङ्ख्या रहेको भन्दै मुख्यमन्त्री आचार्यले राज्यका हरेक निकायमा १४ प्रतिशत सुनिश्चितता गरिएकाले निजामती सेवामा प्रवेश गर्न थारू समुदायका नयाँ पुस्तालाई आग्रह गरेका थिए । प्रदेश निजामती सेवा ऐनले थारू समुदायको प्रतिनिधित्वलाई सुनिश्चितता गरेको भन्दै मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेश निजामती सेवा ऐनले प्रदेशका हरेक निकायमा १४ प्रतिशत थारू समुदायको प्रतिनिधित्व सुनिश्चितता गरेको छ । अब नियमावली बनाएर कार्यान्वयनमा लैजाने तयारीमा छौँ ।’
थारू समुदायको प्रतिनिधित्वलाई राज्यले सम्बोधन गरेको भन्दै मुख्यमन्त्री आचार्यले युवा पुस्ता अब आफ्नो समुदायको विकास र समृद्धिका लागि लाग्नुपर्ने बताए । मुख्यमन्त्री आचार्यले प्रदेशमा बोलिने थारूलगायत चलनचल्तीको भाषालाई सरकारी कामकाजको भाषा बनाउने गरी ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेशमा बोलिने थारू, मगर, अवधिलगायतका चलनचल्तीका भाषालाई सरकारी कामकाजी भाषा बनाउने गरी प्रदेश सरकार लागेको भन्दै आचार्यले भने, ‘प्रदेशले अब छिटै ऐन निर्माण गरेर सरकारी कामकाजको भाषाको रूपमा सम्बोधन गर्छाैँ ।’
थारू समुदायको कला, संस्कृतिलाई आर्थिक विकास र समृद्धिसँग जोड्न जरुरी रहेको भन्दै मुख्यमन्त्री आचार्यले त्यसका लागि थारू समुदाय अघि सर्नुपर्ने बताए । प्रदेश सरकारले प्राथमिकतामा राखेर थारू भाषा, कला, संस्कृति संरक्षण र विकासका लागि विभिन्न कार्यक्रम गरिरहेको भन्दै उनले भने, ‘थारू समुदायको कला, संस्कृतिको प्रवर्धन गर्न थारू बस्तीमा होमस्टे, सङ्ग्रहालयलगायतका संरक्षण निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने छ । त्यसका लागि के कसरी अघि बढ्न सकिन्छ भनेर तपाईँहरू अघि सर्नुपर्छ ।’
थारू कल्याणकारिणी सभा दाङले थारू समुदायको कला, संस्कृति प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले थारू समुदायको कला संस्कृतिलाई विकास गर्दै आयआर्जनसँग जोड्न आवश्यक रहेको बताए थिए । थारू समुदायको कला, संस्कृति बिक्री गरेर चितवन, बर्दियालगायतका ठाउँहरू पर्यटकीय केन्द्रसँगै आयआर्जनसँग जोडिएको भन्दै मन्त्री न्यौपानले भने, ‘दाङलाई पनि थारू समुदायको कला, संस्कृति अवलोकनसँगै अध्ययन अनुसन्धानका लागि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने भन्दै त्यसका लागि तपाईँहरू अघि बढ्नुहोस् । प्रदेश सरकारले तालिम, आर्थिकलगायत के–कति सहयोग गर्नुपर्छ प्रदेश सरका तयार छ ।’
कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता चौधरीले थारू समुदायको मौलिक कला, संस्कृतिलाई पर्यटनसँग जोडेर विकास गर्न आवश्यक रहेको बताइन् । कार्यक्रममा घोराही उपमहानगरपालिका नगर प्रमुख चौधरीले सांस्कृतिक धनी थारू समुदायलाई आयआर्जनसँग जोड्न आवश्यक रहेको बताए । थारू समुदायको कला, संस्कृति, गरहगनाका हिसाबले धनी रहेकाले यसको संरक्षण र प्रवर्धनका माध्यमबाट आयआर्जन गर्न सकिने बताए । थारू भाषा संस्कृतिको संरक्षणका लागि घोराही उपमहानगरपालिकाले कामकाजी भाषासँगै बालबालिकालाई पठनपाठन गराउँदै आएको बताए ।
कार्यक्रममा महटावाँ महासंघका चन्द्रप्रकाश चौधरी, केन्द्रीय सल्लाहकार लक्ष्मी चौधरीलगायतले सम्बोधन गर्दै थारू भाषा, कला, संस्कृतिको संरक्षणमा तीनै तहका सरकारलाई गम्भीर बन्न आग्रह गरेका थिए । माघ सांस्कृतिक महोत्सव पुसको २० गतेसम्म चल्नेछ । महोत्सवमा थारू नृत्य, थारू हस्तकलासँगै थारू परिकार माछा, घोँगी, गँगटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकार राखिएको छ ।
‘आर्थिक जागरण र सांस्कृतिक रूपान्तरण हाम्रो अभियान, सामाजिक न्यायसहित समृद्धिमा हाम्रो योगदान’ भन्ने मुख्य नारासहित सुरु भएको माघ सांस्कृतिक महोत्सवमा जिल्लाका विभिन्न ठाउँका ६३ बढी थारू समुदायका नृत्य प्रस्तुत गरिने भएको थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोककुमार चौधरीले जानकारी दिएका छन् ।
थारू कल्याणकारिणी सभाले विभिन्न माग राख्दै १० बुँदे ज्ञापनपत्र मुख्यमन्त्री आचार्यलाई बुझाएको छ । थारू भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोगमा ल्याउनु पर्ने, थारू समुदायको महटावाँ परम्परालाई कानूनी मान्यता दिनुपर्ने, थारू समुदायका ठुला कार्यक्रम गर्नका लागि सभाहल निर्माण गर्नुपर्नेलगायतका माग समेटेर ज्ञापनपत्र बुझाएको थारू कल्याणकारिणी सभा दाङ अध्यक्ष चौधरीले जानकारी दिएका छन् । कार्यक्रम सुरु हुनुअघि थारू समुदायका कला, संस्कृति झल्किने भेषभुषासहित ¥यालीले घोराही बजार परिक्रमा गरिएको थियो ।