घोराहीमा फोटोग्राफी तालिम

 हिमाल महरा
दाङ, २० पुस । घोराहीमा फोटोग्राफीसम्बन्धी तालिम सुरु भएको छ । दाङ जिल्ला फोटोग्राफर एसोसिएसनको आयोजना तथा घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा दुईदिने फोटोग्राफी तालिम घोराहीमा सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसीले फोटोमार्फत् पर्यटन प्रवर्धनमा सहयोग पु¥याउन सबैलाई आग्रह गरेकी छन् । शब्दले बोल्न नसकेको कुरा फोटो बोल्ने भन्दै कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख डिसीले भनिन्, ‘एउटा फोटोले हजार शब्दको वर्णन गर्छ । त्यसले घोराहीमा भएका राम्रा पर्यटकीय सम्भावना बोकेका ठाउँका फोटो खिचेर प्रचार गर्नुहोस् ।’

उनले दाङ जिल्ला फोटोग्राफर एसोसिएसनलाई सामाजिक क्षेत्रमा काम गर्न पनि आग्रह गरेकी थिइन् । पर्यटन प्रवर्धनका लागि उपमहानगरपालिका हरदम तयार रहेको बताउँदै उपप्रमुख डिसीले सहकार्यका लागि अघि बढ्न आग्रह गरिन् । उपप्रमुख डिसीले फोटोग्राफी इतिहास र समाजको ऐना रहेकाले फोटो खिच्दा ध्यान दिनुपर्ने बताइन् ।

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनका अध्यक्ष दुर्गाप्रसाद चौधरीको अध्यक्षमा भएको कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका सचिव गणेश दङ्गाल, दाङ जिल्ला फोटोग्राफर एसोसिएसन दाङका निवर्तमान अध्यक्ष बसन्त न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।

इनडोर, आउट्डोर फोटोग्राफी र लाइटिङसम्बन्धी चल्ने दुईदिने फोटोग्राफी तालिमका प्रशिक्षक नेपाला फोटोग्राफर महासंघका महासचिव डिगम्बर राजवंशी रहेका छन् । एसोसिएसनका कार्यसमिति सदस्य एवम् तालिम संयोजक यामबहादुर आरसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव लक्ष्मण न्यौपानेले गरेका थिए ।