मधुसूदन गिरी
कमिरचौर, २० पुस । दाङको बंगलाचुली गाउँपालिका–२ मा वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । बंगलाचुली गाउँपालिका–२ को आयोजनामा बढिपोखरा खेलमैदानमा क्रिकेट प्रतियोगिता शुक्रवारदेखि सुरु भएको हो ।
बंगलाचुली गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष मैते पुनको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुनले प्रतियोगिताको उद्घाटन गर्दै भौतिक विकाससँगै मानवीय विकासका लागि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
बंगलाचलुीमा भौतिक पूर्वाधारसँगै खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि गाउँपालिकाले लगानी गर्दै आएको भन्दै खेलाडीलाई अनुशासित र इमानदार भएर खेल क्षेत्रमा अघि बढ्न आग्रह गरेका थिए । युवाहरू गलत बाटोमा लाग्नबाट जोगाउन सबैले सकारात्मक भावनाको विकासमा ध्यान दिनुपर्ने भन्दै अध्यक्ष पुनले खेलसँगै स्वास्थ्य र बौद्धिक विकासमा खेल गतिविधिले भूमिका खेल्ने बताए ।
खेलकुद क्षेत्रको विकास गर्दै आगामी दिनमा पालिकास्तरीय टिम तयार पार्ने पालिकाले योजना रहेको भन्दै अध्यक्ष पुनले पहाडी पालिकाका रूपमा रहेको बंगलाचुलीमा पनि क्रिकेट खेल विकासका लागि पूर्वाधार तयार पारिएको बताए । वडा तहबाटै खेलकुदको विकास गर्ने उद्देश्यले वडाले बजेट विनियोजन गरेर प्रतियोगिता आयोजना गरेको बताएका थिए ।
कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी, वडा नं. १ का वडाध्यक्ष विष्णु कवँर, कार्यपालिका सदस्य गणेश विश्वकर्मा, सविराम कामी, बंगलाचुली गाउँपालिका योजना शाखा प्रमुख नुमाकान्त कालाथोकीसहित वडा नं. २ का वडा सदस्य, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थित रहेको थियो । प्रतियोगितामा तीनवटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल शनिवार हुने भएको छ ।