घोराही मेयर कप फुटबलमा सेमिफाइनल समीकरण पूरा

गोरक्ष समाचारदाता
दाङ, २० पुस । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयर कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा वडा नम्बर ६, १३, १४ र १५ प्रवेश गरेका छन् । घोराही–१८ नवलपुर फुटबल मैदानमा शुक्रवार भएको तेस्रो क्वाटर फाइनल खेलमा वडा नं. १४ ले वडा नं. १६ लाई ६–२ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । वडा नं. १६ ले २–० को अग्रता जोगाउन नसक्दा क्वाटर फाइनलबाट बाहिरिएको छ ।

पहिलो हाफ २–२ गोलको बराबरी खेले पनि दोस्रो हाफमा वडा नं. १४ ले चार गोल गर्दै ६–२ को नतिजा निकालेर सेमिफाइनल प्रवेश गरेको हो । वडा नं. १४ का लागि जयानन्द नेपालीले दुई गोल गर्दा अविनाश नेपाली र सुजन चौधरीले १–१ गोल गरे । वडा नं. १६ का लागि रिक्की पुन र कमल डाँगीले १–१ गोल गरे । यसैगरी क्वाटर फाइनलको अन्तिम खेलमा वडा नं. १५ ले वडा नं. ३ लाई ४–१ गोल अन्तरले हराएको छ । वडा नं. १५ का लागि सुशील बानियाले २ गोल गर्दा सविन वली र बादल योगीले १–१ गोल गरे ।

वडा नं. ३ का लागि स्काइ घर्तीले १ गोल गरे । क्वाटर फाइनलका दुई खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । यसअघि वडा नं. ६ ले वडा नं. २ लाई र वडा नं. १३ ले १८ लाई हराउँदै सेमिफाइनल प्रवेश गरेका हुन् । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत अब वडा नं. ६ र १३ बिच पुस २१ गते बिहान साढे ११ बजे पहिलो सेमिफाइनल खेल हुनेछ भने दोस्रो सेमिफाइनल दिउँसो साढे २ बजे वडा नं. १४ र १५ बिच हुने नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक नरेन्द्र पुनले जानकारी दिएका छन् ।

पालिकाभरका कूल १९ वडामध्ये वडा नं. ९ बाहेक सबै वडाको सहभागिता रहेको प्रतियोगितामा ३६ खेल सकिँदा कूल एक सय ६९ गोल भएको छ । प्रतियोगिताको फाइनल खेल पुस २३ गते हुनेछ । प्रतियोगितामा पहिलो हुने वडाको टिमले नगद एक लाखसहित शिल्ड, मेडल, प्रमाणपत्र, दोस्रो हुने वडाको टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । घोराही मेयर कप फुटबलमा प्रथम संस्करण वडा नं. १५ ले, दोस्रो र तेस्रो संस्करण वडा नं. १३ ले, चौथो र पाँचौँ संस्करण वडा नं. १८ ले र छैठौँ संस्करण वडा नंं. १७ ले जितेको थियो ।