शैक्षिक गतिविधि बढ्नु प्रदेशको लागि सुखद् : सभामुख घर्ती

प्रिया स्मृती गजमेर
लमही, २० पुस । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले प्रदेश राजधानी क्षेत्रमा शैक्षिक गतिविधि बढ्नु प्रदेशका लागि सुखद् कुरा भएको बताएका छन् । शैक्षिक क्षेत्रको विकास प्रदेशको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले नागरिकलाई सचेतीकरण गर्न शिक्षा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।

गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीको वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै सभामुख घर्ती मरले व्यावहारिक र वैज्ञानिक शिक्षा अहिलेको आवश्यकता रहेको औल्याए । ‘देउखुरीले राजधानी पायो यो यस क्षेत्रका लागि सौभाग्य पनि हो । अब राजधानी क्षेत्रसँग जोडिएका पूर्वाधारसँगै अन्य क्षेत्रको विकास समान ढङ्गले अघि बढ्दै गएका छन्’, उनले भने, ‘नागरिकमा आशा जगाउने र विश्वासको वातावरण गर्ने काम तपाईँ–हामी सबैले गर्न जरुरी छ ।’

लुम्बिनी प्रदेश सभाबाट शिक्षा क्षेत्रलाई सधैँ सकारात्मक हिसावबाट हेरिएको समेत बताए । विद्यालय सञ्चालक समितिका अध्यक्ष गोरखा ग्रुप तथा विद्यालयका संस्थापक अध्यक्ष मानबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरको थियो । कार्यक्रममा विद्यार्थीले विज्ञान तथा हस्तकला प्रदर्शनी गरेको थिए । गोरखा ग्रुपका कार्यकारी प्रमुख नवलसिंह घर्तीको स्वागत मन्तव्य व्यक्त गर्दै युग सुहाउँदो शिक्षा प्रदान गर्न गोर्खा स्कुल प्रतिबद्ध रहेको बताए ।

शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लमही गोरखाका प्राचार्य लोकमान रिजालले गोर्खाका तीन विद्यालयमा झन्डै १० हजार विद्यार्थी अध्ययन गरिरहेको, विभिन्न परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको जानकारी दिए । कार्यक्रममा राष्ट्रिय बोर्डका कार्यालय प्रमुख कमल अर्याललगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक प्रकाश वली र शिला रिजालले गरेका थिए ।