ज्ञानज्योतिमा पहिलो पटक एमबिए पढाइ

गोरक्ष समाचारदाता
तुलसीपुर, २० पुस । तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ स्थित ज्ञानज्योति फाउन्डेसनले दाङमा पहिलो पटक एमबिए (मास्टर्स अफ बिजनेस एडमिस्ट्रेसन) विषयको पढाइ सुरु गर्ने भएको छ । ज्ञाज्योति फाउन्डेसनले एमबिए पढाउने अनुमति प्राप्त गरिसकेपछि अहिले भर्ना आह्वान समेत गरिसकेको छ । यस अघिसम्म जिल्लामा एमबिएको पढाइ हुँदैनथियो । यो व्यस्थापनमा मास्टर्स पढ्न चाहने विद्यार्थी जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।

एमबिए अध्यन पूरा गर्न दुई वर्ष लाग्नेछ भने चार सेमेस्टर उत्तीर्ण गर्नु पर्नेछ । ज्ञानज्योतिका सिइओ (चिफ एक्जुकेटिभ अफिसर) सुरेन्द्र जिसीले भविष्यमा एमबिए गर्नेहरूले उद्यमशीलता विकासमा टेवा पु¥याऊन् भन्ने उद्देश्यले एमबिए पढाइ सुरु गरेको बताए । ‘म्यानेजमेन्टको क्षेत्रमा केही नयाँ गरौँ भन्ने हाम्रो चाहना हो’, जिसीले भने, ‘एमबिएका लागि भौतिक पूर्वाधारलगायत कलेजले सम्पूर्ण आवश्यकता पूरा गरिसकेको छ ।’ पछिल्लो समय ज्ञानज्योति फाउन्डेसनले लिफ्टसहितको नौं तले भवन निर्माणको काम तीव्र रूपमा गरिरहेको छ ।

‘हाम्रो उद्देश्य जागिर खाने दक्ष जनशक्ति मात्रै तयार पार्नु होइन’, प्रमुख जिसीले भने, ‘भविष्यमा उद्यमशीलता विकास गर्न सजिलो होस् भनेर एमबिएको कक्षा पहिलो पटक जिल्लामा भित्राइएको हो ।’ तुलसीपुर क्षेत्रमा रहेका विभिन्न उद्योग सञ्चालकसँग हातेमालो गर्ने, लाइभ कक्षा सञ्चालन गरेर वर्किङ प्रोफेसरहरूको कक्षा लिने व्यवस्था गर्ने, घोकन्ते शैलीभन्दा कक्षा कोठाहरू प्रयोगात्मक कक्षाका लागि प्रविधिमैत्री बनाइने प्रतिबद्धता जाहेर गरेका थिए । ‘हामी यहाँका उद्योगी, व्यवसायी, वित्तीय संस्थाको नेतृत्व गरिरहेका व्यक्तिहरू सँगसँगै मिलेर काम गर्ने छौँ’, उनले भनेका थिए, ‘भविष्यमा यहाँबाट एमबिए गरी जानेहरूले हरेक उद्यमशीलतामा नेतृत्व गर्न सकून् भन्ने हाम्रो चाहना हो ।’ कलेजले जिल्लाका साथै लुम्बिनीमै उत्कृष्ट नतिजा ल्याइसकेको हुँदा भविष्यमा थप मिहिनेत गरी तुलसीपुरलाई पश्चिम नेपालको शैक्षिक हबको रूपमा विकास गरिने प्रमुख जिसीले बताएका थिए ।

कलेजका एकेडेमिक कोअर्डिनेटर शरद गौतमले ज्ञानज्योति सबैको माया, भरोसा र विश्वास जित्दै हातेमालोमा तातेताते गर्दै अगाडि बढिरहेको भन्दै भविष्यमा एउटा विश्वासिलो शैक्षिक थलोको रूपमा अगाडि बढाउन एमबिए कार्यक्रमले थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । ज्ञाज्योति फाउन्डेसनले एमबिए कक्षा सुरु भएको जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा एनआइसी एसिया बैंकका तुलसीपुर शाखाका म्यानेजर राजीव वली, सानीमा बैंक तुलसीपुुर शाखामा म्यानेजर प्रणिल भुसाल, शिद्धार्थ बैंक तुलसीपुर शाखाका म्यानेजर किरण आचार्यलगायतले कलेजले पहिलो पटक जिल्लामै एमबिएका पढाइ सुरु गर्नु समग्र जिल्लाबासी र तुलसीपुुरबासीका लागि सकारात्मक पक्ष मान्न सकिने बताएका थिए ।

व्यवस्थापन सङ्कायमा उच्च शिक्षा हासिल गर्ने चाहना बोकेका विद्यार्थीलाई जिल्लामै त्यो अवसर उपलब्ध गराउने उद्देश्यले पहिलो पटक एमबिए कक्षा कलेजले भित्राउनु जिल्ला र तुलसीपुरबासीका लागि गर्वको कुरा भएको नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य सुशील बस्नेतले बताएका थिए । कार्यक्रममा हालसालै नेपाल पत्रकार महासंघ दाङ शाखामा निर्वाचित शाखा पदाधिकारीलगायत विभिन्न पत्रकारलाई सम्मान गरिएको थियो । पत्रकार सम्मेलनको सहजीकरण शिक्षक सन्तोष केसीले गरेका थिए ।