नारीको महत्व

एकराज शर्मा अधिकारी

नारी आमा पनि हो, स्त्री पनि हो, छोरी पनि हो, बुहारी पनि हो, दिदिबहिनी पनि हो । स्त्रीबिनाको घर शून्य जस्तो लाग्छ । छोरा नाति बुहारी घरभरी भए भने जसको घरमा श्रीमती छैन त्यो घर, घर होइन । स्त्री नभएको घर जंगल जस्तो हुन्छ । त्यसैले शास्त्रमा भनेको छ ।

पुत्र पौत्र बधु भृत्यै राकीर्ण मपि सर्वतः ।
भार्या हिनं गृहस्थस्य शून्यमेव गृहं भवेत ।
नगृहं गृहमित्याहु गृहिणी गृहमुच्यते ।
गृहंतु गृहिणीहिनंमरन्यं शदृसमं मतम ।

जसको श्रीमती साथमा छे त्यसका लागि रुखको बुटामुनि भए पनि घर हुन्छ । श्रीमती छैन भने अत्यन्त ठुलो महल पनि वन समान हुन्छ । पुरुषको लागि धर्म, अर्थ, काम, शिद्ध गर्न श्रीमती नै चाहिन्छ । श्रीमती जस्तो विश्वाशिलो मित्र कोही हुँदैन । रोगले पीडित भएको बेला पनि श्रीमती नै चाहिन्छ । विपत्ति परेको बेला, धन नभएको बेला पनि श्रीमती नै चाहिन्छ । अग्नीलाई साक्षी राखेर ल्याएकी श्रीमती सच्चा श्रीमती हो । यस्तो पवित्र सम्बन्धलाई आजभोलि पश्चिमी संस्कृतिको दुस्प्रभावले प्रत्येक परिवारमा झगडा छ । आजीवन एकअर्काको जीवन साथी भएर बस्छौ भने संकल्प लिएका दम्पत्तिहरु अलग–अलग भएर बसेका छन् ।

वन जस्तो बनाएर बस्न लाएका छन् । घरलाई कसरी वास्तविक घर बनाउने हाम्रो आदर्शलाई कसरी जीवन्त राख्ने सबैले सोच्नु पर्ने बेला छ । घरलाई सुन्दर बनाउन पतिपत्नीमा प्रेम हुनुपर्छ । पति बिना पत्नी पनि अपेहलित हुन्छन् । मानिसले निन्दा गर्छन् । पत्नीहरुलाई बुबाआमा, दाजुभाइले सीमित सुख दिन्छन् भने पतिले असिम सुख दिन्छन् । स्त्रीका लागि पनि पति समान कुनै रक्षक छैन । पति समान कुनै पनि सुख छैन । पति बिना कुनै पतिव्रता स्त्री जीवित रहन सक्दैनन् । स्त्रीको मिठो बोलीले पतिको दुःखलाई पनि बिसाइदिन सक्छन् । पति नै पत्नीकाभित्र गर्भ रुपमा प्रवेश गरेर पुत्र रुपमा जन्म लिन्छ भने पौराणिक ग्रन्थमा बताइएको छ । पत्नीको गर्भबाट आफै उत्पन्न भएको आत्मालाई शास्त्रमा पुत्र भनेको छ ।

त्यसैले पुत्र कि आमा बनेकी आफ्नै धर्मपत्नीलाई पनि आमा समान देख्नुपर्छ । रति, प्रिति र धर्मपत्नीकै अधिनमा रहने हुनाले जतिसुकै रिस उठे पनि पत्नीलाई अप्रिय बचन बोल्नु हुँदैन । पत्नीहरु पुत्रलाई जन्म दिने पुण्य क्षेत्र समान हुन् । पत्नीबिना सन्तान उत्पादन गर्ने अर्को बाटो छैन । स्त्रीहरु घरको कामकाजमा कुशल हुन्छन् र पतिव्रता स्त्रीले आफ्ना पतिलाई प्राण समान मान्दछन् । पतिव्रता स्त्रीलाई नै वास्तविक स्त्री भनिन्छ । स्त्रीलाई पुरुषको आधा अंग मानिन्छ । स्त्री नै संसाररुपि सागरबाट तार्ने साधन हुन् । दुर्गा सप्तसतिमा मार्कण्ड्ेय ऋषिले भन्नु भएको छ ।

पत्नी मनोरमांदेहि मनोवृत्या नुसारिणीमं्
तारिणीम दुर्ग संसार सागरस्य कुलोत्भवाम्

मलाई पत्नी दिने हो भने हे देवी ? त्यस्ती पत्नी दिनुहोस् जो अत्यन्त सुन्दरी होस्, पतिको मनको भाव बुझ्ने होस् । दुर्गम संसार तार्ने ठुलो कुलमा उत्पन्न भएकी होस् । स्त्रीको महत्व ठुलो छ । असल पत्नी छ भने पुण्नाम गरेको नर्गबाट तार्ने पुत्र जन्माउने सक्छे । त्यसैले असल स्त्रीको हातमा नै यो संसार अडेको छ । तर, आजभोलि पश्चिमी देशको प्रभावले हो अथवा कलियुगको प्रभावले हो स्त्रीहरुमा पनि आफ्नो आदर्शबाट बिमुख भएका छन् । त्यसैले स्त्रीहरुले पनि आफ्नो अस्तित्वलाई जोगाउन शास्त्रको नीतिलाई पनि आत्मसात गर्न आवश्यक छ ।