कांग्रेसको सयदिने अभियान सफल : केन्द्रीय सदस्य रसाइली

दाङ, १८ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि प्रकाश रसाइलीले जिल्लामा सञ्चालन भएको सयदिने अभियान सफल भएको बताएका छन् । नेपाल प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

सबैको सहयोगमा अभियान सफल भएको उनको भनाइ छ । अभियानमा नागरिकबाट सुझाव लिने काम भएको उनले बताए । नागरिकले विकास निर्माण तथा रोजगारलगायका विषयमा सुझाव दिएको उनको भनाइ छ । ‘नागरिकको आशा र भरोसाको पार्टी नेपाली कांग्रेस भएकाले नागरिकको सुझाव अनुसार अगाडि बढ्ने छ’, उनले भने, ‘यसले पार्टीलाई नागरिकसँग जोड समेत सहयोग पुग्नेछ ।’ पार्टीलाइ चयालमान बनाउन समेत अभियानले सहयोग पुगेको उनको भनाइ छ ।

‘अभियानले पार्टीप्रति आकर्षण बढाउन समेत सहयोग पुगेको छ’, नेता रसाइलीले भने । अभियानमा नागरिकका कुरा बढी सुन्ने काम गरिएको समेत उनले बताए । नागरिकबाट आएका सुझाव अनुसार जनप्रतिनिधिले विकास निर्माणका काम गर्ने उनले बताए । यसका लागि पार्टीका जनप्रतिनिधिले आफूहरूले गरेका कामबारे पार्टीलाइ जानकारी गराउनु पर्ने बताए । ‘पार्टीप्रति जवाफदेही भएर काम गर्नुपर्छ’, उनले भने ।

जिल्लामा पार्टीले क्यालेन्डर निर्माण गरेर काम गरिरहेको भन्दै यसले कार्यान्वन प्रभावकारी भएमा चलायमान गराउन सहयोग पुग्ने बताए । अधिकांश स्थानमा कार्यान्वयन भएको समेत उनले बताए । पत्रकार सम्मेलन नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस दाङले पत्रकार महासंघ दाङ शाखामा नवनिर्वाचित कार्यसमितिलाई स्वागत एवम् सम्मान गरेको थियो । कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीलगायतले पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीलगायत जिल्ला कार्यसमितिलाई अविर, टीकासहित खादा ओढाएर सम्मान गरिएको थियो ।