‘नागरिक–प्रहरी सहकार्यबाट अपराध न्यूनीकरणसँगै शान्ति सुरक्षा’

आलोक भावुक
गढवा, १८ पुस । समाजमा हुने आपराधिक घट्ना न्यूनीकरणसँगै शान्ति सुरक्षाको व्यवस्थालाई सुदृढ बनाउन नागरिक–प्रहरीको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । इलाका प्रहरी कार्यालय गढवाले बुधवार आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रमका सहभागीले प्रहरी र नागरिकबिच सुमधुर सम्बन्ध स्थापित गर्दै अपराधका घट्ना न्यूनीकरणमा लाग्नुपर्ने बताएका हुन् ।

स्थानीय नागरिकसँगका गुनासो सुन्ने, समुदायका समस्या पहिचान गरेर प्रहरीले समस्या न्यूनीकरणका लागि काम गर्नुपर्ने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए । समुदाय–प्रहरीबिचको समन्वयबाट मात्र समाजमा शान्ति सुरक्षा र अमनचैन कायम गर्न सकिने भएको भन्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष पोख्रेलले प्रहरीलाई समुदायको विश्वास जितेर काम गर्न आग्रह गरेका थिए ।

नागरिकलाई सास्तीभन्दा पीडितमैत्री सेवा आवश्यक रहेको भन्दै अध्यक्ष पोख्रेलले अन्यायमा परेका नागरिकका लागि प्रहरी वास्तविक सारथी बन्न सक्नुपर्ने बताएका थिए । उनले प्रहरीको काममा राजनीतिक हस्तक्षेप हुन नहुने भन्दै आपराधिक क्रियाकलापमा संलग्नतालाई कानुनी दायरामा ल्याएर नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति प्रहरीले दिलाउनुपर्ने बताएका थिए ।

यसैगरी पोख्रेलले पछिल्लो समय समयमा गढवा र राजपुर गाउँपालिकामा लागूऔषध ओसारपसार तथा प्रयोगमा बढोत्तरी भएको भन्दै समुदाय–प्रहरीको सहकार्यबाट लागूऔषध, लैङ्गिक हिंसा, बाल तथा बहुविवाह अन्त्यका लागि पहल गर्नुपर्ने बताएका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सेनाले नागरिक र प्रहरीबिचको समन्वयले अपराध न्यूनीकरणसँगै पीडितलाई न्याय प्रदान गर्न सकिने बताए ।

नागरिकमैत्री भएर प्रहरीले सेवा प्रदान गर्दै आएको भन्दै प्रहरी उरीक्षक तिमल्सिनाले आफू दाङ आएको तीन महिनामा शान्ति सुरक्षासँगै जुवातास, लागूऔषध, चोरीडकैतीलगायतका घट्नालाई रोक्न कडाइका साथ लागेको बताए । साथै उनले लुम्बिनी प्रदेश राजधानी क्षेत्रमा पछिल्लो समयमा भएको सडक दुर्घटना बढी हुन थालेपछि दुर्घट्ना रोक्नका लागि टाइमकार्डको सुरुवात गरेको बताएका थिए ।

नागरिक सुनुवाइ कार्यक्रममा इलाका प्रहरी कार्यालय गढवाको बारेमा जानकारी दिँदै प्रहरी निरीक्षक कालिका कार्कीले चालु आर्थिक वर्षको हालसम्म ४३ वटा मुद्दा दर्ता भएको बताइन् । यसैगरी समुदाय कार्यक्रम सङ्ख्या ६८, अल्पसङ्ख्यक कार्यक्रम तीनवटा, नागरिक सुनुवाइ कार्यक्रम दुईवटा, हराएका मोबाइल फेला पारेको सङ्ख्या ५, ठाडो निवेदन मातहत समेत एक सय ९० वटा, मिलापत्र एक सय ६९ वटा, व्यक्ति बेपत्ता मुद्दा दर्ता सङ्ख्या एउटा रहेका जानकारी गराएकी थिइन् ।

कार्यक्रममा देउखुरी सामुदायिक पुस्तकालयकी ओभा पाठक, गढवा होटल व्यवसायी संघका डेगमान जिसी, शिक्षक अनिलकुमार यादव, जनप्रतिनिधि दिनामणि आचार्य, रामप्रसाद गैरे, नेपाल एमाले गढवा गाउँपालिका अध्यक्ष खिमबहादुर बुढा मगर, महिला स्वास्थ्य स्वयम्सेविका प्रभा यादव, समाजसेवी रामप्रसाद गैरे, भीम वली, जगदीश यादव, भुलन गुप्तालगायतले जिज्ञासा राखेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख उपरीक्षक अर्जुनप्रसाद तिमल्सिनाको अध्यक्षतामा भएको नागरिक सुनुवाइ कार्यक्रममा गढवा गाउँपालिका–५ का वडाध्यक्ष लेखबहादुर थापा, ६ का वडाध्यक्ष वीरबहादुर आले मगर, राजपुर गाउँपालिका–१ वडाध्यक्ष सूर्यप्रसाद चौधरी, तीन का वडाध्यक्ष रामप्रसाद अहिरलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले गरेकी थिइन् ।