जयन्ती चौधरी,
तुलसीपुर, १८ पुस । मानवसेवा आश्रम तुलसीपुरले विगतदेखि विभिन्न कारणले घरपरिवारविहीन भई सडकमा अलपत्र परेका बालबालिका, बृद्धबृद्धा र असहायहरूलाई संरक्षण गर्दै आएको छ । यसै प्रयासलाई अझ सवल बनाउन बुधवार श्री नं. १९ बाहिनी अड्डाले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा विशेष सहयोग कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा श्री मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी प्रेमबहादुर पुनको प्रमुख आतिथ्यतामा आश्रममा रहेका ५५ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । यसका लागि नं. १९ फिए गुल्मका डाक्टर अधिकृतसहितको मेडिकल टोलीले बिरामीको स्वास्थ्य परीक्षण, रक्त परीक्षण र औषधी वितरण गरेको थियो ।
बढ्दो चिसो मौसमी परिस्थितिलाई ध्यानमा राखी आश्रममा रहेका व्यक्तिलाई जाडोका लागि आवश्यक मोजा, पञ्जा, औषधीजन्य सामग्री र एकदिनको भोजनसमेत वितरण गरेको थियो । कार्यक्रममा श्री नं. १९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पदमबहादुर बुढा (पिएचडी) को उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहायक रथी बुढाले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने यो कार्यक्रमले संस्थागत र मानवीय सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरे । कार्यक्रमले आश्रमका सदस्य र सहभागीले मानवताको सन्देश फैलाउने प्रेरणा प्राप्त गरेको अनुभूति गरेको उनले बताए । यस प्रकारका प्रयासले समाजमा असहाय र कमजोर वर्गप्रति ध्यान दिनुपर्ने आवश्यकतालाई पुनः स्मरण गराएको उनको भनाइ थियो ।